१ पुस,दाङ । तुलसीपुर चेम्बर अफ कर्मसले आयोजना गरेको तुलसीपुर महोत्सव‐२०७८ को उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन आज दिउँसो १ बजे गर्ने कार्यक्रम रहेको सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
सञ्चार संयोजक बस्नेतका अनुसार तुलसीपुरको बसपार्कबाट झाँकी सहितको कार्यक्रम रहेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले महोत्सवमा स्वास्थ्य उपचार व्यवस्थापन, कलाकारहरुको आमन्त्रण, प्रमुख अतिथिलाइ निम्तो, सुरक्षा व्यावस्थापन, अतिथिहरुको आवासको व्यवस्थापन, स्टल व्यवस्थापन लगायतका कामहरु सम्पन्न गरिसकेर आफुहरु महोत्सव उद्घाटनको लागि खटिरहेको बताउनुभयो । स्टल व्यवस्थापन समितिले महोत्सव स्थलमा ३ सय २५ वटा स्टल व्यावस्थापन गरीएको जानकारी दिएको छ । त्यसमा २५ वटा स्टल कृषिका रहेका छन् ।
ती स्टलहरु निशुल्क रुपमा उपलव्ध हुने स्टल व्यवस्थापन समितिका संयोजक युवराज नेपालीले जानकारी दिनुभयो । त्यसैगरी महोत्सवमा स्थानिय देखि राष्ट्रिय कलाकार सम्मको वेजोड प्रस्तुती रहने महोत्सव आयोजक सांस्कृतिक उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । महोत्सव मूल समारोह समितिका संयोजक टोपबहादुर घर्तीका अनुसार उद्योग, व्यापार, कृषी तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा झण्डै ५ करोडको आर्थिक कारोबार हुने र ३ लाख दर्शकले यसको अवलोकन गर्नेछन् ।

 
                                                            