सल्यान। कुमाख गाउँपालिकामा तीन दिनसम्म चलेको अध्यक्ष कप प्रतियोगितामा वडा नं ३ ले उपाधि जित्न सफल भएको छ।
बुधबारदेखि गाउँपालिकाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा वडा नं ३ ले ६ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्यो। वडा नं। २ ले ५ स्वर्ण, ३ रजत, २ कास्य पदक जित्दै द्वितीय स्थान हासिल गर्यो भने वडा नं। ६ ले ५ स्वर्ण, १ रजत, ३ कास्य पदक जित्दै तृतीय स्थानमा रह्यो।
यस्तै, सबैभन्दा बढी १२ पदक जित्ने वडा नं। १ ले १ स्वर्ण, ७ रजत, ४ कास्य पदक प्राप्त गर्यो। प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक विशेष कार्यक्रमबीच मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
यस अघि जिमालीमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधी पनि वडा नं. ३ मा रहेको जनता माविले जितेको थियो । राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप दुवै प्रतियोगितामा खेल्ने खेलाडीहरू धेरैजसो उनिहरू नै भएको जनता मावि रागेचाैरका खेल प्रशिक्षक ठकेन्द्र रानाले जनाएका छन।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, उपाध्यक्ष लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार सोनी लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
वडाकपमा भलिबल, हाइजम्प, लङ्जम्प, ट्रिपलजम्प, सटपट, ज्याभलिन थ्रो, दौड जस्ता खेलहरू समावेश गरिएको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडालाई ३० हजार, द्वितीय स्थान प्राप्त गर्ने वडालाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

 
                                                            