सल्यान । कुनै बेला अध्यन अध्यापनका लागि कक्षामा भेटिने गुरु चेला सल्यानको एउटै सरकारी कार्यालयमा कामकाज गरिरहेको संयोग देखिएको छ । जिल्लाको नापी कार्यालय सल्यानमा एक रोचक र प्रेरणादायी संयोग सार्वजनिक भएको हो ।
कुनै बेला डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङ छैटौं सेमेस्टरमा अध्यापन गराउँदै आएका शिक्षक सुरज विष्ट अहिले लोकसेवा परीक्षा उत्तीर्ण गरी नापी कार्यालय सल्यानका कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । यही क्रममा उनकै विद्यार्थी झकेन्द्र परियारले हालै लोकसेवा आयोगबाट अमिन पदमा नाम निकालेर नापी कार्यालय सल्यानमा सरकारी सेवाका लागि आएका हुन् । मेहनत, पढाइ र लगनशीलताको सफल उदाहरणका रूपमा प्रस्तुत भएका गुरु चेलाले एउटै कार्यालयबाट सेवा दिन पाउँदा पुनर्मिलनको विशेष क्षण भएको बताएका छन् ।

आफू विद्यार्थी हुँदा स्पष्टसंग पढाउने गुरु बिष्ट कार्यालय प्रमुख भएको र गुरुकै नेतृत्वमा अहिले सरकारी सेवा सुरु गर्न पाउँदा ठूलो प्रेरणा मिलेको अमिन झकेन्द्रको भनाइ छ । “गुरुको शिकाइले नै आज यहाँसम्म ल्याएको हो । एउटै कार्यालयमा काम गर्ने मौका मिलेको छ । अब म अझै इमानदारीपूर्वक काम गर्नेछु”, उनले भने ।
नापी कार्यालयका प्रमुख नापी अधिकृत ईन्जिनियर विष्टले आफ्नो विद्यार्थी प्रशासनिक सेवा क्षेत्रमा प्रवेश गरी छेउमै जिम्मेवारी बहन गर्न थालेकोमा खुसी व्यक्त गरेका छन् ।
बिष्टले रझेना माध्यमिक बिद्यालय घोराही -१८ दाङमा २०७९ साल तिर झकेन्द्र लगायतका विद्यार्थीलाई डिप्लोमा इन जियोम्याटिक्स इन्जिनीरिङ अध्यापन गराएका थिए । दङ्गिशरण गाउँपालिका-४ दाङका बिष्ट २०७८असोज ८ मा सर्वेक्षक पदमा सिफारिस भएका थिए । यस्तै २०७९ भदौ २९ मा नापी अधिकृत पदमा सिफारिस भएका उनी नापी कार्यालय बेलबारी मोरङमा पदस्थापन भई २०८१ असोज ६ गतेदेखी सरुवा भएर नापी कार्यालय सल्यानमा कार्यालय प्रमुखको रुपमा कार्यरत छन् ।
यस्तै सल्यानको दार्मा गाउँपालिका- १ का झकेन्द्रले २०८१ माघ ९ गते लोकसेवा आयोग महेन्द्रनगर कार्यालयबाट अमिन पदमा नाम निकालेका थिए । हाल उनी नापी कार्यालय सल्यानमा काज सरुवा भएर आएका हुन् ।
