दाङ। तुलसीपुरमा करिब २० करोड रुपैयाँको निजी लगानीमा अत्याधुनिक सिनेमा हल निर्माण हुने भएको छ।
‘अल नेपाल सिनेमा (एएनसी)’ समूहले निर्माण गर्न लागेको उक्त हललाई समग्र तुलसीपुरवासीको साझा सम्पत्ति मान्नुपर्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले निजी क्षेत्रको लगानीले स्थानीय विकासमा ठूलो योगदान दिने भन्दै यसको संरक्षण र प्रवर्द्धन सबैको दायित्व भएको उल्लेख गरे।

बरुवा गाउँमा निर्माण हुन लागेको सिनेमा हलमा दुई वटा आधुनिक स्क्रिन रहने र करिब ५ सय दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने एएनसी समूहका लगानीकर्ता वसन्त लामिछाने र अनिल बुढाथोकीले जानकारी दिए।उनीहरूले आगामी दसैंअघि नै हल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए।
लामो समयदेखि सिनेमा हलविहीन रहेको तुलसीपुरमा नयाँ हल निर्माण हुनुलाई चलचित्रकर्मी तथा पत्रकारहरूले सकारात्मक रूपमा लिएका छन्।
