शारदा- ६ मा नेपाली कम्युनिस्ट पार्टीको घरदैलो कार्यक्रम सम्पन्न
सल्यान । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सल्यानबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले आफू जनताको पक्षमा उभिएर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आज शारदा नगरपालिका-६ मा आयोजित चुनावी भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार मल्लले यहाँको समग्र विकास नै आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो । उहाँले विगतका अधुरा योजनाहरूलाई पूर्णता दिन र नयाँ आवश्यकताअनुसारका विकास कार्यक्रम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उहाँले यहाँका मुख्य समस्याहरू पहिचान गरी समाधानका लागि योजनाबद्ध ढंगले पहल गर्ने बताउनुभयो । विशेष गरी सडक पूर्वाधारको स्तरोन्नति, दुर्गम बस्तीहरूमा लिफ्ट खानेपानी योजना विस्तार, स्वास्थ्य चौकी तथा अस्पतालको सेवा सुधार, आवश्यक जनशक्ति व्यवस्थापन, विद्यालयहरूको भौतिक संरचना र शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिने उहाँको भनाइ छ ।
उम्मेदवार मल्लले भन्नुभयो ‘जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो, जनचाहनाअनुसार नीति निर्माण र बजेट विनियोजनका लागि संसद्मा सशक्त आवाज उठाउने छु ।’
घरदैलोका क्रममा स्थानीयवासीले विकास, रोजगारी र आधारभूत सेवाको सहज पहुँचका विषयमा आफ्ना अपेक्षा राखेका थिए । यस्तै समानुपातिक उम्मेदवार शारदा परियारले जनताको हितमा काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश ज्वालाले समग्र जिल्लाको विकास र समृद्धिको लागि तारा चिन्हमा मतदान गर्न अपिल गर्नुभयो । कार्यक्रम नेताहरु राम खड्की, रमेशकुमार गौतम लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा वडा स्तरीय चुनाव परिचालन समितिका संयोजक डम्बरसिंह तिरुवाले विकास र परिवर्तनको आशा व्यक्त गर्दै उम्मेदवार मल्ललाई सफलताको शुभकामना दिनुभयो ।
