सल्यान‌‌ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी अभियानलाई तीव्रता दिएको जनाएको छ । जिल्लाका १० वटै पालिकामा संगठित रूपमा कार्यक्रम सञ्चालन भइरहेका छन् भने ८३ वटै वडा तथा सबै टोल–वस्तीमा अभियान विस्तार गरिएको एमाले सल्यानले जानकारी दिएको छ ।

पालिकाबाट केन्द्र, प्रदेश र जिल्ला कमिटीमा रहेका नेताहरू आआफ्नो भुगोलमा सक्रिय रूपमा खटिएको सम्बन्धित पालिका कमिटी अध्यक्षहरूले बताएका छन् । जिल्लाका अधिकांश पालिका तथा वडाहरूमा प्रतिनिधिसभा उम्मेदवार गुलाबजंग शाहको उपस्थितिमा कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ । हाल वडा तथा बस्तीस्तरमा घरदैलोमा रहेका टोलीहरूले मतदातासँग प्रत्यक्ष कुराकानी गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरिरहेका छन् ।

शारदा नगरपालिका का १५ वटै वडामा प्रचारात्मक कार्यक्रम चलिरहेको र टोलस्तरमा भइरहेको घरदैलो अभियानले पार्टी पंक्तिलाई उत्साहित बनाएको नगरकमिटी अध्यक्ष महेश देवकोटाले जानकारी दिए । त्यस्तै बागचौर नगरपालिका का १२ वटै वडा तथा गाउँगाउँमा भेला, घरदैलो, टोलस्तरीय बैठक तथा निर्वाचन परिचालन कमिटीमार्फत चुनावी अभियानका कामहरू तीव्र रूपमा भइरहेको नगर कमिटी अध्यक्ष जनक विकले बताए । उनका अनुसार विगतमा प्रदेशसभा सदस्य तथा पार्टीका प्रमुख सचेतकका रूपमा काम गर्दा उम्मेदवार गुलाबजंग शाहले अघि बढाएका परिणाममुखी विकास आयोजनाका कारण एमालेप्रति आकर्षण बढेको छ ।

बनगाड कुपिण्डे नगरपालिका मा वडास्तर र टोलस्तरमा निर्वाचन परिचालन कमिटी गठन गरी अभियानलाई व्यवस्थित बनाइएको नगर कमिटी अध्यक्ष निराशन शाहले जानकारी दिए। १२ वटै वडामा घरदैलो कार्यक्रम चलिरहेको र अभियानकै क्रममा अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने क्रम जारी रहेको उनको भनाइ छ ।

कालिमाटी गाउँपालिका का ७ वटा वडामा घरदैलोका लागि सिंगो पार्टी पंक्ति परिचालित भएको पालिका कमिटी अध्यक्ष केशर बुढाले बताए। उनका अनुसार मतदातालाई दुबै मतपत्रमा कसरी मतदान गर्ने भन्ने विषयमा अभिमुखीकरणसमेत भइरहेको छ ।

कपुरकोट गाउँपालिका मा एमालेका नीतिगत एजेन्डा, विकास योजना तथा उम्मेदवारका प्रतिबद्धता घरदैलोमै पुगेर सुनाउने र सूर्य चिन्हमा मत माग्ने कार्य जारी रहेको पालिका अध्यक्ष मधुसुदन गिरीले जानकारी दिए । ६ वटै वडामा उम्मेदवार शाहसहित फागुन ४ र ५ गते कार्यक्रम गरिएको र ६ गतेदेखि निरन्तर घरदैलो अभियान सञ्चालन भइरहेको उनले बताए । पालिकाबाट प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी अध्यक्ष र जिल्ला कमिटी सदस्यहरूसहित सिंगो पालिका कमिटी वडा तथा बस्तीस्तरमा पुगेर अभियानलाई तीव्रता दिइरहेको जनाइएको छ ।

दार्मा गाउँपालिका मा वडा नं. १ देखि ४ सम्म निर्वाचन परिचालन कमिटी गठन गरेर घरदैलो अभियान सञ्चालन भइरहेको र वडा नं. ५ र ६ मा औपचारिक रूपमा कमिटी निर्माणको तयारी भइरहेको पालिका अध्यक्ष दिपक रोकायाले जानकारी दिए ।

सिद्धकुमाख गाउँपालिका मा पनि नेता–कार्यकर्ता उत्साहपूर्वक निर्वाचनमा सक्रिय रहेको पालिका अध्यक्ष टोपबहादुर बुढाथोकीले बताए। उनका अनुसार वडा नं. ३ र ४ मा ४÷४ वटा टोल कमिटी, वडा नं. ५ मा ३ वटा कमिटी परिचालित छन् भने वडा नं. १ र २ मा कमिटी निर्माणको तयारी भइरहेको छ ।

त्रिवेणी गाउँपालिका का ६ वटै वडामा वडा कमिटी अध्यक्षहरूको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेर अभियानलाई तीव्रता दिइएको पालिका कमिटी अध्यक्ष डिल्लीराज खड्काले बताए । आइतबार वडा नं. २ र ५ मा चुनावी कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका मा प्रारम्भिक चरणमा पालिका र वडास्तरमा केन्द्रित अभियान अहिले प्रत्येक टोल र बस्तीमा पुगेर उल्लासमय रूपमा अघि बढिरहेको पालिका अध्यक्ष ज्ञानबहादुर खड्काले बताए । आइतबार मात्रै वडा नं. १ मा चुनावी भेटघाट सम्पन्न भएको र ७ वटै वडामा पार्टी पंक्ति चलायमान रहेको उनले जानकारी दिए ।

कुमाख गाउँपालिका मा विभिन्न दलका जिम्मेवार व्यक्तिहरू एमालेमा समाहित भइरहेको र यसले पार्टीको जितको आधार बलियो बन्दै गएको पालिका अध्यक्ष रेमन्त शर्माले दाबी गरे । उनका अनुसार ७ वटा वडा मध्ये अधिकांश वडामा परिचालन कमिटी गठन भई घरदैलोलाई प्राथमिकता दिइएको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले जिल्लामा सबैभन्दा पहिले गत माघ १४ गते नै आफ्नो घोषणापत्र सार्वजनिक गरेका थिए । पालिका तहदेखि टोलस्तरसम्म संगठन सुदृढ गर्दै अघि बढेको एमालेले यसपटक प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय परिणाम ल्याउने विश्वास व्यक्त गरेको छ ।

स्थानीय अगुवा, युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता र मतदातासँग प्रत्यक्ष संवादका आधारमा यसपटक सल्यानमा एमालेको जित निश्चित रहेको एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले दाबी गरेका छन् । स्थानीयस्तरका कार्यक्रमहरूमा प्रत्यक्ष र समानुपातिकतर्फका दुबै मतपत्रमा मतदान गर्ने तरिकाबारे व्यावहारिक जानकारी दिने तथा पार्टीका नीति, योजना र उम्मेदवारका प्रतिबद्धता सरल रूपमा बुझाउने काम भइरहेको जनाइएको छ । साथै मतदाताका जिज्ञासा र सुझावलाई समेट्दै कार्यक्रमलाई सहभागितामूलक बनाइएको एमाले सल्यानले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : ५५ बजे

प्रतिक्रिया दिनुहोस्