सल्यान । सल्यानका साहसी नेता तत्कालीन थारमारे गाविस अध्यक्ष शहिद हेमराज केसीको स्मृति दिवस विहिबार बागचौर नगरपालिका–२, बागचौरमा मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले बागचौर नगर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा एमाले कर्णाली प्रदेश अध्यक्ष एवं सल्यानबाट प्रतिनिधिसभा सदस्य गुलाबजंग शाहले शहिद हेमराजको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
वक्ताहरूले माओवादी सशस्त्र द्वन्द्वको कठिन कालखण्डमा शहिद केसीले लोकतन्त्र, बहुदलीय व्यवस्था र जनताको अधिकारको पक्षमा दृढतापूर्वक उभिँदै संघर्ष गरेको स्मरण गरे । सोही संघर्षका क्रममा २०५४ फागुन १४ गते राज्यको तर्फबाट गोली हानी हेमराजको बर्बरतापूर्वक हत्या गरिएको घटना दुःखद र निन्दनीय रहेको वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा शहिद केसीकी धर्मपत्नी भुमा केसीले भावुक मन्तव्य व्यक्त गर्दै अब कुनै पनि परिवारमा यस्तो पीडा नआओस् भन्ने कामना गर्नुभयो । २८ वर्षको उमेरमा श्रीमानको साहदत भएको उल्लेख गर्दै उहाँले त्यसबेला काखमा २७ महिनाको छोरा सहित चार सन्तानलाई कठिन परिस्थितिमा हुर्काउनुपरेको स्मरण गर्नुभयो ।
स्मृति कार्यक्रममा एमालेका नेता सिपी वली, घनश्याम शर्मा लगायत जिल्ला, नगर तथा वडा कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताकार्यकर्ताहरूको उपस्थितिमा स्मृति दिवस मनाइएको एमाले बागचौर नगर कमिटी अध्यक्ष जनक बिकले जानकारी दिनुभयो । सो अवसरमा एमाले नेता स्वर्गीय ज्ञानेश्वर केसीलाइ पनि वक्ताहरुले स्मरण गरेका थिए ।
की
कार्यक्रमलाइ सम्बोधन गर्दै एमाले कर्णालीका अध्यक्ष शाहले शहिद केसीको बलिदानलाई व्यक्तिगत क्षतिभन्दा माथि लोकतान्त्रिक आन्दोलनमाथिको आक्रमणका रूपमा व्याख्या गर्नुभयो । सहिद हेमराज र स्वर्गीय नेता ज्ञानेश्वरको साहस, निष्ठा र संगठनप्रतिको समर्पण भावी पुस्ताका लागि प्रेरणादायी रहेको बताउनुभयो । पारिवारिक श्रोतका अनुसार २०५५ मा हेमराजलाइ सरकारले सहिदको सुचिमा राखेको थियो ।
