काठमाडौँ । रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सोमबार मतदान सामग्री र कर्मचारी लिएर रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको प्रहरीले जनाएको दुर्घटनामा घाइते भएका सात जनामध्ये मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै उक्त दुर्घटनामा परी असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटाइएको थियो । गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, मतपेटिका र आवश्यक कागजात रहेका थिए।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता डीएसपी राजन तिमिल्सनाका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। बाँकी घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
