सल्यान। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सल्यानले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सदरमुकाम खलङ्गा मा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय मार्तफ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनको नेतृत्वमा आइतबार भएको प्रदर्शनमा जिल्लाका अगुवा नेता कार्यकर्ताहरूको उपस्तिथि रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई बुझाइएको ज्ञापनपत्रमा एमालेले अध्यक्ष ओली लगायतका नेताहरुलाइ गरिएको गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै निन्दा, भर्त्सना र विरोध गरेको छ । उक्त कदम लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको एमाले सल्यानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटालाई एमाले सल्यानले पत्र बुझाएको हो ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको छानबिन आयोगप्रति सुरुदेखि नै असहमति रहेको जनाउँदै उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही र अपारदर्शी भएको एमालेले आरोप लगाएको छ ।

जिल्ला कमिटी सदस्य पक्राउको समेत विरोध
यसैबीच एमाले सल्यानले जिल्ला कमिटी सदस्य सुमन थापालाई सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको घटनाप्रति पनि आपत्ति जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी गरिएको गिरफ्तारी गैरन्यायिक भएको ठहर गर्दै थापाको समेत निशर्त रिहाइको माग गरेको छ ।
एमालेले पछिल्ला घटनाक्रमले सरकारको निरंकुश प्रवृत्ति उजागर भएको दाबी गर्दै संविधान, लोकतन्त्र र मानव अधिकारप्रति प्रतिबद्ध शक्तिहरू चिन्तित बनेको जनाएको छ । पार्टीले यस्ता कदमविरुद्ध कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने एमाले सल्यानका अध्यक्ष सेनले जनाउनुभयो । उहाँले पार्टीपंक्तिलाई विचलित नहुन र लोकतन्त्रको पक्षमा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सल्यानले भने सुमनको पक्राउमा कुनै राजनीतिक बिषय नभएको जनाएको छ । सल्यान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डा। हेमबहादुर केसीले शान्ती, सुरक्षामाथी चुनौती दिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।
