२९ भदौ २०७८,सल्यान । नेकपा (माओवादी केन्द्र) को खम्बा मानिने सहायक संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन यहि आउँदो असोज ८, ९, १०, गते हुदैछ । सम्मेलन सफल बनाउन ७७ जिल्लाका भेलाहरु उत्साहका साथ जारी छन् ।
अखिल क्रान्तिकारी सल्यानले आफ्नो जिल्ला सम्मेलन यही भदौ १९ गते बनगाडको कुपिण्डे तालमा ४१ सदस्य निर्वाचित गर्दै सम्पन्न भयो । तर, सम्मेलन भएको १० दिन बित्दा समेत क्रान्तिकारी तथा पार्टी नेतृत्वले अझै जिल्ला नेतृत्व र त्यसको पधाधिकारी टुंगो लगाउन नसकेको अबस्था छ । दृश्यमा १८ जिल्ला सम्मेलनको फलेक्स बोड टाँसेपनि पर्दापछाडि पार्टीको मुल नेतृत्व र दोस्रो पुस्ताको शक्ति सर्घषकै लडाइँ छरप्रष्ट देखिन्छ ।
नेकपा एमालेसँग एकतापछि बनेको नेकपालाई सर्वोच्च अदालतले २०७७ फागुन २३ गते खारेज गरेसँगै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन समेत यहि वर्ष हुन लागेको अबस्था छ । त्यसकै रापको तापक्रम सल्यानको विद्यार्थी आन्दोलनमा देखिएको हो ।
पछिल्लो कार्यविभाजनले पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेत कर्णाली प्रदेशको सह‐इन्चार्ज भएपश्चात पार्टीभित्र सैद्धान्तिक, वैचारिक कार्यदिशा र संगठनात्मक ढंगले अब्बल रुपमा अगाडि बढ्दै आएका कर्णबहादुर बुढाथोकी ‘छहारी’ पुनः सल्यान जिल्लाको पार्टी इन्चार्ज भएकोले उनको प्रभाव पनि पछिल्लो समय सल्यानमा बढ्दै गएको छ ।
अर्कोतर्फ भूगोल नभएको भन्ने आफूमाथि लागेको दाग मेटाउँदै पुन : मूल पार्टीमा सक्रिय भएका अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष रमेश मल्लले समेत यसपटक अखिल क्रान्तिकारी सल्यानको नेतृत्वमा आफ्नो समूहलाई अगाडि सार्ने कोशिस गरेका छन् । उता भिमप्रकाश शर्मा (रमेश कोइराला) ले समेत आफ्नो टिमको सक्दो बचाउ गरिरहेको अबस्था छ ।
पछिल्लो परिस्थितिलाई नियाल्दा सम्मेलनबाट चुनिएका ४१ सदस्यबिच चुनाव हुने स्थिति नभएमा नेतृत्वको निर्णय पार्टी जिल्ला इन्चार्ज कर्णबहादुर बुढाथोकी ‘छहारी’,जिल्ला संयोजक कृतिबहादुर पुन ‘प्रकाण्ड’ र जिल्ला सचिव निमबहादुर केसी ‘अरुण’ कै जोडबलमा हुनेछ ।
सहमतिमा अगाडि बढे पार्टीभित्र राम्रो प्रभाव रहेका छहारी,प्रकाण्ड र अरुणको छनौटलाई सहज स्वीकार गर्ने अवस्था छैन । ४१ जनाको संख्यालाई केलाउँदा रमेश मल्ल समूहको पल्लाभारी छ । तर,पनि अन्तिम निर्णय टेकबहादुर बस्नेत‘समरसिंह’,कर्णबहादुर बुढाथोकी‘छहारी’,कृर्तिबहादुर पुन ‘प्रकाण्ड’ र निमबहादुर केसी ‘अरुण’ कै हुन सक्छ ।
विभिन्न टुटफुटले माओवादी केन्द्र सल्यानमा पहिलेको तुलनामा केही कमजोर भएको अवस्थामा व्यक्तिगत स्वार्थ भन्दा संगठनको अब्बल नेतृत्व छान्नुपर्ने दायित्व यतिबेला सल्यान माओवादी केन्द्रको हातमा आएको छ । माओवादी केन्द्र सल्यानको नेतृत्वले हुलहुज्जतको अनुहार हेर्नेभन्दा पनि उसको विचार र क्षमतासँगै संगठनका निम्ति आवश्यक ब्यक्ति को हो ? छनौट गर्ने समय आएको छ ।
नेतृत्व चयनमा पहिलो पुस्ता गन्जागोलमा,दोस्रो पुुस्ता असफल,तेस्रो पुस्ता अराजक !
भदौ १९ गते अखिल (क्रान्तिकारी) को १८ औँ जिल्ला सम्मेलन कुपिण्डे तालमा पिकनिक खाँदै सम्पन्न भयो । तर,पार्टी नेतृत्व अर्थात पहिलो पुस्ताले नेतृत्व चयनको प्रष्ट मापदण्ड नबनाउँदा कुपिण्डे ताल थुनिएझै अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चुन्ने कार्य थुनिएको आज ठ्याक्कै १० दिन बित्दा पनि नेतृत्व चयन गर्न नसकेको अबस्था छ ।
सल्यानमा पहिलो पुस्ता अझै गन्जागोलमा रहेको प्रष्ट भएको छ । बिधिका कुरा गर्ने दोस्रो पुस्ता समेत अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न नेतृत्वदायी भूमिका दिन नसकेर रनभुल्ल परेको अबस्था छ । यसले पहिलो पुस्ताको गुटगत रोग दोस्रो पुस्तामा सरेको संकेत प्रष्ट देखिन्छ । गुटगत राजनितिलाई परास्त गरी अप्ठेरोमा परेको विद्यार्थी संगठनको नेतृत्व चयन प्रक्रियालाई टुंगोमा पुग्ने वाताबरण तयार गर्नुको साटो पहिलो पुस्ता जस्तै दोस्रो पुस्तामा गुटगत राजनिति मौलाउन खोज्नु माओवादी केन्द्रको सन्र्दभमा असोभनिय भएको पक्कै हो ।
अखिलको जिल्ला सम्मेललाई नियाल्दा दोस्रो पुस्ताको आडमा तेस्रो पुस्ता अराजक बन्ने खतरा त्यत्तिकै मात्रामा देखा परेको यसपटकको गतिविधिले संकेत गरेको छ । तेस्रो पुस्ताका युवा विद्यार्र्थीहरूको बुझाइ पनि दोस्रो पुस्ताका नेतृत्वलाई खुसी पारेर मात्रै नेतृत्व प्राप्त गर्न सकिन्छ भन्ने देखिन्छ । फलस्वरुपम पार्टी नेतृत्वका तथा संगठनको निति बिधिभन्दा हुलहुज्जत गर्दै अराजक तरीकाले संगठनमा पकड जमाउन तम्सिएको देख्न सकिन्छ । छिमेकी जिल्लाहरुसँगै अन्य ७६ जिल्लामा अखिल क्रान्तिकारीले सानदार रुपमा भब्य त्यो पनि सर्बसम्मत नेतृत्व चयन गर्दैगर्दा सल्यानमा एउटा विद्याथी सम्मेलन पनि पहिलो र दोस्रो पुस्ताका अगुवा नेताहरू सामेल भएर गरेको सम्मेलनले १० बित्दा सम्म नेतृत्व चयन गर्न नसक्नुले माओवादी केन्द सल्यानका पहिलो र दोस्रो पुस्ताका नेताहरु निर्णय क्षमतामा असफल भएको देखाउने मात्र हैन अब तिमीहरू गरी खाँदैनौं भन्ने सांकेतिक सन्देश समेत दिदैन र ?
प्रतिनिधिका नजरमा अध्यक्षका चार दाबेदार को कस्ता ?
मोहनलाल खड्का : रमेश मल्लको साथ,नेतृत्वलाई नटेर्ने स्वभाव
जिल्ला उपाध्यक्ष मोहन खड्का बागचौर‐११ का हुन् । उनी पार्टी भित्र सबैभन्दा सानो उमेरमा वडा अध्यक्षका रुपमा जनप्रतिनिधि जितेका पात्र हुन् । यसअघि पनि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षको दौडमा रहेका उनी यसपटक अध्यक्ष बन्नकै लागि वडा अध्यक्षबाट पदत्याग गरेको पत्र गोजिमै राखेर आफ्नो बार्गेनिङ पावर बढाएका सम्मेलनमा आएका प्रतिनिधिले जनाएका छन् ।
जननिर्वाचित वडा अध्यक्ष हँुदाहुदै विद्यार्थीको नेतृत्वमा आउने उनको निर्णयबाट धेरैजना अचम्मीत परेका छन् । तर,यसपटकको अध्यक्षको दौडका अन्य ३ पात्र भन्दा केही बलिया रहेको प्रतिनिधिको भनाई रहेको छ । मोहनलाल खड्कालाई पूर्व केन्द्रीय अध्यक्ष रमेश मल्लले दरिलो साथ दिएको धेरैको बुझाई छ । अखिल क्रान्तिकारीका एक जना जिल्ला सदस्यले नाम नबताउने शर्तमा भने,‘पछिल्लो समय खड्कामा पार्टी नेतृत्वलाई नटेर्ने स्वभाव देखापरेको छ ।’
ठगेन्द्र पुन : संगठनप्रति प्रतिबद्ध ,संगठनमा कमजोर
संगठनको जिल्ला उपाध्यक्ष रहेका पश्चिम बनगाडका ठगेन्द्र पुन यसपटक अध्यक्षको दौडमा सबैभन्दा अघिबाट लागेपनि संगठनिक हिसाबमा पछि परेका छन् । उनलाई धेरैले उनको पार्टी प्रतिको लगाब र इमानदारीता नै उनको गुण भएपनि संगठनमा कमजोर भएकै कारण केही केही पछि परेको धेरैको बुझाइ छ ।
पश्चिम बनगाडमा राम्रो पकड भए पनि संगठनमा उनको पकड अन्य क्षेत्रमा त्यति राम्रो छैन । उमेर र सिनियरको हिसाबले अरु उम्मेदवार भन्दा उनी बलियो भएकै कारण जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकी (छहारी) ले उनलाई राम्रो साथ दिइरहेको अबस्था छ ।
रामप्रसाद शर्मा : अरुणको साथ चान्स मार्ने दाउ !
रामप्रसाद शर्माको संगठनमा खासै राम्रो पकड छैन । तर,उनी कुटनितिमा अब्बल रहेको उनि निकट प्रतिनिधिले बताएका छन् । ति प्रतिनिधिका अनुसार रामप्रसाद सकेसम्म मोहनलाल खड्का र ठगेन्द्र पुनको लडाईबाट फाइदा उठाउदै आफु बिचधारबाट नेतृत्वमा आउने लाइनमा रहेका छन् ।
खटनपटनमा अघि सरेपनि उनलाई नेतृत्वमा आउन निकै चुनौति रहेको ति प्रतिनिधिको दाबी छ । उनका अनुसार रामप्रसाद शर्माले सम्मेलनमा दार्माबाट प्रतिनिधिसमेत ल्याउन सकेका थिएनन् । उनलाई माओवादी केन्द्रका जिल्ला सचिव तथा दार्मा गाउँपालिका प्रमुख निमबहादुर केसी (अरुण) को साथ रहेको छ ।
रमेश बुढाथोकी : हाइहेल्लोमा अब्बल,कमजोर संगठक
१८ औँ जिल्ला सम्मेलनमा सबैभन्दा बढी चहलपहल रमेश बुढाथोकीले बढाएका थिए । उनी पूर्व जिल्ला कोषाध्यक्ष भएपनि अध्यक्षका दाबेदारमा आफ्नो भूमिका बढाएका छन् । उनी इमानदार र सबैसँग छिटो घुलमील हुने स्वभाबले गर्दा छोटो समयमै संगठनमा राम्रो प्रभाव छाड्न सफल भएको मानिन्छ ।
उनलाई पूर्व केन्द्रीय अध्यक्ष रमेश मल्लले मोहनलाल खड्का अध्यक्ष नभएको खण्डमा बिकल्पको रुपमा अघि बढाएको पाइन्छ भने गाउँपालिका अध्यक्ष तथा प्रदेश सदस्य दिलमाया बुढाको समेत राम्रो साथ रहेको पाइन्छ ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज राजेन्द्र भण्डारीलाई प्रश्न :
१.अखिल क्रान्तिकारी सल्यानलाई के त्यस्तो समस्या आइप¥यो । यहाँहरुले सम्मेलन सकाएको १० दिन बित्दापनि नेतृत्व चनय किन भएन ?
त्यतिठुलो समस्या त खास हैन,तैपनि माथिको निर्णय मान्ने कि फिल्डलाईनै नेतृत्व छनौट गर्न दिने भन्नेबारे कुरा नमिलेको मात्र हो । खासमा अहिले माथिबाट हामिलाई कुनै पनि हालतमा निर्वाचनमा जान हुदैन संम्भव भएसम्म सर्बसम्मत रुपमा नेतृत्व चयन गर्ने हाम्रो निति भएकोले केही ढिला भएको मात्र हो ।
२.तपाईकै सम्मेलनमा आएका केही प्रतिनिधिले त नेताका गटगत समूहले गर्दा यो अबस्था आयो भन्ने गुणासो गरेका छन् नि ?
त्यो समस्या यसपटक मात्र है अघिल्ला सम्मेलनहरुमा बढि देखिन्थ्यो । त्यो भनेको तत्कालिन अवस्थामा हामी जो जस्ता पोजिसनमा थियौं, त्यही नै हाम्रो पोजिशन हो भन्ने यसपटक हाम्रो जोड त्यसलाई भत्काउने भन्ने थियो तर सम्भव भएन । पार्टी नेतृत्वले यसपटक केही पेलेर जाने कुरामा पक्कै कमजोरी गरेकै हो । तर सकेसम्म माथिल्लो कमिटीको भावनालाई चोट नपुगोस् भनेर मात्र हामीले चुनाव नगराउने निष्कर्षमा पुगेका हौं । प्रतिनिधिसाथीहरुको गुणासो सम्बोधन हुने किसिमले सकेसम्म आजभोली नै नेतृत्वको बारे एउटा टुंगो लगाउँछौं ।
३.प्रदेश सम्मेलन र राष्ट्रीय सम्मेलनको मिति नजिकिदैछ तयारी कस्तो छ ?
भर्खरै मात्र हामीले सल्यानको १८ औं जिल्ला सम्मेलन गरेका छौं । अब आजभोलीमा नेतृत्व र पदाधिकारी टुंगो लगाएर रफ्तारमा प्रदेश भेलाका लागि १४ जना प्रतिनिधि र राष्ट्रीय सम्मेलनका लागि सल्यानबाट पाँच जना प्रतिनिधी छनौट गरेर हामी दुबै सम्मेलनमा सल्यानको भूमिकाको हिसाबले नेतृत्वको लागि दाबी गछौं ।
४.आन्तरिक राजनीतिक किचलोका कारण विवादमा रहनुभएका तपाईहरुबाट आम सल्यानी विद्यार्थीहरुको हकहीतबारे तपाईहरु बोल्नुहोला भनेर कसरी विश्वास गर्ने ?
अहिलेको आन्तरिक राजनीतिक किचलोको जुन कुरा गर्नुभएको छ त्यसबाट हामी खासै निरास हुनुपर्ने अबस्था त अहिले नै आएको छैन् । तर,यो किचलो आम युवा विद्यार्थी र आम जनसमुदायको हीत चिताउने या अहित हामी प्रष्ट हुन आबश्यक छ । अहिले देखापरेको समस्या भनेको संगठनको शुद्धिकरणको किचलोको रुपमा पनि लिन सकिन्छ । यो सत्य र भ्रमका वीचको लडाई हो ।
छोटोमा भन्नुपर्दा अहिले देखापरेको समस्या संगठनलाई विधिमा लाने या हुलहुज्जत बाहुबलीका लागि छाड्ने भन्नेको अन्तर हो । विधिलाई मान्ने नेतृत्व छनौट गर्ने ? या तरमारालाई रोज्ने ? भन्ने कुराको निक्यौल गर्नुपर्ने समय खडा भएको छ । विद्यार्थीको मूल नेतृत्व पदको पछि कुदेका छैनौं, विचारको पक्षमा छौं भन्ने पुष्टी गर्न आबश्यक छ । हामी सत्ताको पछि कुद्ने । हामी नै पदको पछि दगुर्ने । अनि हामिले नै इमानको कुरा गर्न सुहाउँछ र ? पक्कै पनि सल्यानी युवा विद्यार्थीले कम्तीमा यि र त्यस्ता प्रवृत्ति भएको व्यक्तिलाई नेतृत्वमा रुचाउने छैनन् र पार्टी नेतृत्वको पक्षमा लामबद्ध भएर अघि बढ्ने छन् ।
५.अन्त्यमा, अखिल (क्रान्तिकारी) सल्यानको एक पक्षले हिजो (शोमबार) एकपक्षिय ढंगले बैठक आयोजना गरी नेतृत्व टुंगो लगाएको भन्ने कुरा सुन्नमा आएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य तथा सल्यान इन्चार्जको हैसियतमा यसबारे तपाई र संगठनको आधिकारीक धारणा के हो ?
मैले यसबारे केही थाहा पाएको छैन् । पार्टीका इन्चार्ज छहारी,जिल्ला संयोजक प्रकाण्ड,जिल्ला सचिव अरुण र विद्यार्थीको जिल्ला इन्चार्जको हैसियतले मेरो उपस्थिती बिना गरिएका कुनै पनि भेला अबैधानिक हुन् र त्यो संगठनको हितमा पनि छैन् । संगठन र पार्टी नेतृत्व भन्दा ठुलो अरु कोही छैन् । अखिल (क्रान्तिकारी) नितिविधि भएको संगठन हो,त्यसैअनुरुप चल्छ ।