हामी परिक्षण प्रसारणमा छौ



सल्यान । मंगलबार सल्यानको बागचौरमा भएको एक कार्यक्रममा वैज्ञानिक समाजवादबारे बहस भएको छ । विभिन्न राजनितिक दल र सरोकारवालाहरुले संसदीय व्यवस्था असफल भएको भन्दै अब व्यवहारी वैज्ञानिक समाजवादको बाटो अबलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विप्लव नेतृत्वको नेकपा सल्यानले मंगलबार थारमारेमा गरेको ‘आजको राजनीतिक संकटको निकास, वैज्ञानिक समाजवादका लागि जनमतसंग्रह’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विभिन्न राजनितिक पार्टीका नेता तथा अन्य सरोकारवालाहरुले अब वैज्ञानिक समाजवादको आफुहरुले आबश्यकता महशुस गरेको बताउनुभएको छ । नेकपा बागचौर नगर इन्चार्ज सन्तोषको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजिकरण नेकपा सल्यान जिल्ला कमिटी सदस्य टंक प्रकाश केसीले गर्नुभएको थियो । हेर्नुहोस् बहसमा सहभागी – १० वक्ताका १० कुरा !

मोहलाल चन्द (आधार) नेकपा केन्द्रीय सदस्य

वैज्ञानिक समाजवादमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगाएतका आधारभूत कुराको राज्यले नै ग्यारेन्टी गर्नुपर्छ । क्षमता अनुसारको काम र काम अनुसारको दाम हुन जरुरी छ । राज्य भनेको आमाबाबु हो, नागरिक भनेका छोराछोरी हुन् । छोराछोरीलाइ खान, बस्न र बाँच्नको लागि राज्यले जिम्मा लिनुपर्छ । अहिलेको संसदीय व्यवस्थामा दलाल पुँजीबाद हावी भएकोले यो प्रणाली लामो समयसम्म रहन सक्दैन । वैज्ञानिक समाजवाद ल्याउनका लागि सबै कम्युनिस्ट एक हुनुपर्ने र कम्युनिस्ट तथा काँग्रेसले उठाएको दृष्टिकोणमा बहस गर्नुपर्ने अहिलेको आबश्यकता हो ।

अहिलेको संसदीय व्यवस्थामा सबै क्षेत्र अस्तव्यस्त भएकोले वैज्ञानिक समाजवाद आएमा मात्र अहिले भएको अस्तव्यस्त क्षेत्र सहि ट्रयाकमा आउछ । वैज्ञानिक समाजवादका लागि हाम्रोत पार्टीले कार्यपत्र समेत बनाइसकेकोले त्यसलाइ जनतामा हामी चाँडै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।


टिकाराम वली दर्शन,माओवादी केन्द्र बागचौर नगर इन्चार्ज तथा प्रदेश कमिटी सदस्य

नेपालका सबै मनोविज्ञानलाई समेटेर गएपछि मात्रै वैज्ञानिक समाजवाद आउने हो । त्यसको लागि सबै पार्टीका शिर्ष तहका नेताहरु एकैठाउँमा बसेर छलफल गर्नुपर्ने अहिलेको आबश्यकता हो ।

हामीले वैज्ञानिक समाजवादको कार्यदिशामा सबै गोलबन्द भएर अगाडि बढ्न सबैले आआफ्ना पार्टीलाई दबाब दिन सक्नुपर्छ । अब संसदीय व्यवस्थामा अल्झिने कि नयाँ आधार तय गरेर वैज्ञानिक समाजवादमा जाने हाम्रो सामु चुनौती छ । नेपालमा समाजवाद भजाएर धेरैले खाने भाँडो बनाएको अबस्था छ । त्यसतर्फ हामीसबैको ध्यान जान जरुरी छ ।


बन्दु चन्द ,नेकपा केन्द्रीय सदस्य
अहिलेको संसदीय प्रणाली मुठ्ठीभरका व्यक्तिको लागि सहि भएको भएपनि आम नागरिकका लागि यो प्रणाली ठिक छैन । संसदीय व्यवस्थाका कारण नेपालमा राजनीतिक दलहरु बिहिन हुने खतरा उत्तिकै छ ।

नेपालमा पार्टी चलाउने काम अहिले त न्यायलयले गरिरहेको छ । पार्टीहरु सिद्दिए जस्तै छ । यो संसदीय व्यवस्तामा देखिएको समस्याका कारण हो ।

लोकमान बुढाथोकी ,बागचौर नगरपालिका मेयर तथा माओवादी केन्द्र बागचौर नगर अध्यक्ष

यस किसिमका एजेन्डामा सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने र अबको नयाँ ढंगले राजनीतिक अगाडि बढाउनुपर्ने अहिलेको आबश्यकता हो । अहिले सबै पार्टीले विषयवस्तु मात्रै फाल्ने तर प्रक्रियामा नजाने रोग देखिएको छ । हामी १२ घण्टाको लागि कम्युनिस्ट हुने होइन २४ घण्टाको लागि कम्युनिस्ट हुनुपर्छ ।

समाजवादका कुरा गरेर ठुला नेताका छोराछोरीहरुले महंगा बोर्डिङ स्कुलमा पढ्ने तर कार्यकर्ता र जनताका छोराछोरीलाइ सरकारी स्कुलमा पढाउने कार्य अहिले पनि भैरहेको हुँदा पहिले यस्ता कुराहरुमा हामी सबैले समान धारणा बनाउने पो हो कि ?

No description available.

सविन, नेकपा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज

नेताहरु दलाल पुँजीवादको दलदलमा फसेका कारण नेपालमा समाजवादको अभ्यास नभएको हो । अब यो देशको विकासका लागि वैज्ञानिक समाजवाद कि दलाल संसदीय पुँजिवादमा भन्नका लागि जनमतसंग्रह अनिवार्य हुन जरुरी छ ।

No description available.

घनश्याम शर्मा ,नेकपा एमालेका बागचौर नगर कमिटी अध्यक्ष

वैज्ञानिक समाजवाद लागू गर्नको लागि जनतामा गएर जनमतसंग्रह गर्ने कुरा स्वागतयोग्य हो । तर यसका लागि हिजोका दिनमा कम्युनिस्ट पार्टीहरू कुन ठाउँमा थिए अहिले पनि त्यो ठाउँमा हुनुसक्ने सामर्थ हामी सबैमा हुन जरुरी छ ।

वैज्ञानिक समाजवाद व्यानरमा लेखेर र भाषण गरेर मात्रै हुँदैन । वैज्ञानिक समाजवाद भनेको के हो ? समाजवाद शब्दले मात्रै हुँदैन यसको सही ब्याख्या गर्नुपर्छ । राम्रो लाग्यो भने हामी पनि मान्न तयार हुन्छौं त्यसका लागि सबैभन्दा पहिला सिद्धान्तको पुष्टि हुनुपर्छ ।

डा. पुर्ण भण्डारी पंकज,जनकल्यान माविका प्राचार्य

अहिले उपभोक्तावादी हावी भएको अवस्था छ । हाम्रो मुलुकको विकासका लागि वैज्ञानिक समाजवादको अत्यन्त आवश्यकता छ । तर,बैज्ञानिक समाजवादको आधारभूत कुरा मात्रै भए पनि यसको लागि स्कुलिङको आवश्यकता रहेको छ ।

Open Photo

भिमराज केसी ,नेपाली काँग्रेस बागचौर नगर उपसभापति

काँग्रेसले पनि विगतदेखि नै समाजवादको कुरा उठाउँदै आएकोले समाजवादमा काँग्रेस अहिले पनि दृढ ।
कुनैपनि व्यवस्था गलत होइनन्, हेर्ने दृष्टिकोण गलत हुन् । देशमा आज धेरै समस्या छ । यसलाइ निराकरण गर्नुपर्छ । काँग्रेसले लोकतान्त्रिक पद्धति मान्ने भएकोले सबैको प्रतिनिधित्व गराउँछ ।

टेकबहादुर डिसी,बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख

पछिल्लो समय नेपाली समाज भ्रष्ट भैसकेकोले थुप्रै प्रकारका विचलनहरु अहिले देखा परेका छन् । पुँजीवाद त मेरो विचारमा समाजको एउटा कलंक नै हो । अहिले राम्रो शिक्षा दिनलाई र स्वास्थ्य उपचार गराउनको लागि पैसा नै चाहिने अवस्था सृजना भएकोले वैज्ञानिक समाजवाद नै आजको आवश्यकता हो ।
यहीँ अवस्थामा अघि बढ्न हो भने अबको १० वर्षमा पुजीवाद गर्लम्ब ढल्छ ढल्छ । अब यो व्यवस्था लाई परिवर्तन गरेर नयाँ व्यवस्थामा जाउँ । त्यसका लागि अहिले वैज्ञानिक समाजवादको वाटो सहि हुन सक्छ ।


शेर बहादुर डाँगी ,राष्ट्रीय कलाकार तथा हिस्टोन ,केन्द्रीय सदस्य 

राजनीति भनेको समाजको एउटा पाटो हो । राजनिती यदी सहि बाटोमा गएन भने समाज सहि ढंगले चल्न सक्दैन । अहिले भएका परिवर्तनमा पनि नेपालमा गरिब गरिब नै भएको छ । र धनि रातारात झन् धनी नै भएको छ । देशमा शैक्षिक शक्ति र अर्थतन्त्र बलियो भयो भने मात्रै देशको उन्नती हुन्छ । त्यसैले वैज्ञानिक समाजवादका कुरा भन्दा पनि पहिले यसको आधारभूत संरचना के कस्तो रहेने भन्नेबारे हामी प्रष्ट हुन जरुरी छ ।

अर्कोकुरा वैज्ञानिक समाजवादलाई हामीले अरुलाई पनि राम्रोसँग बुझाउनुपर्ने हुन्छ । अहिलेका सबै गतिविधि नियाल्ने हो भने अब यो संसदीय व्यवस्थाले देशलाइ निकास दिने सम्भावना न्यून छ । त्यसका लागि अब हामीले अगाडीको बाटो राम्रोसँग तय गर्नुपर्ने हुन्छ ।                      तस्वीर – खकेन्द्र अबिरल केसी

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार, ,  २ : २४ बजे

प्रतिक्रिया दिनुहोस्