हामी परिक्षण प्रसारणमा छौ

सल्यानमा मन्त्री ज्वालाद्धारा प्राबिधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन

योग्य प्राबिधिक जनशक्ति उत्पादन र आयआर्जनका कार्यमा संलग्न हुनुपर्छ  : मल्ल



कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहिबार शारदा नगरपालिका वडा नम्बर‐४,लामाडाँडा सल्यानमा रहेको शहिद नेत्रलाल अभागी प्राबिधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै अबको शिक्षा उत्पादन र स्वरोजगारमुलक हुनुपर्ने बताएका छन् ।

अहिले देशभर शैक्षिक प्रमाणपत्र प्राप्त गरेका हजारौं युवायुवती बेरोजगार रहेको भन्दै मन्त्री ज्वालाले अबको शिक्षा रोजगार र उत्पादनमा केन्द्रीत भई काम गर्नुपर्ने जोड दिएका छन् । प्राबिधिक शिक्षा अहिलेको आवश्यकता रहेको धारणा राख्दै मन्त्री ज्वालाले भने ‘अहिले शिक्षाको महत्व बढ्दै गएको छ, शिक्षाले मानिसको आचरण परिबर्तन गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ ।’ उनले भन्ने ‘अब प्राबिधिक शिक्षालाई रोजगारी, सिप, व्यबसाय, उत्पादन र श्रम संग जोड्नु पर्दछ ।’

मन्त्री ज्वालाले अहिले प्राबिधिक शिक्षालयमा पठनपाठन भैरहेका बिषयमा थप अरु बिषय समाबेश गरिने तयारी भइरहेको जनाउँदै उनले भने ‘अहिले यहाँ इन्जिनियरिङ र पशु बिज्ञान बिषयको पठनपाठन भैरहेको छ, अब थप अरु बिषयको पनि पठनपाठन शुरु गर्नुपर्दछ, यसका लागी वन बिज्ञान, कृषि बिज्ञान जस्ता बिषय समाबेश गर्ने तयारी भैरहेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका युवा नेता रमेश मल्ल

योग्य प्राबिधिक जनशक्ति उत्पादन र आयआर्जनका कार्यमा संलग्न हुनुपर्छ : मल्ल

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका युवा नेता रमेश मल्लले प्राबिधिक शिक्षालयबाट उत्पादित जनशक्ति उत्पादन र आयआर्जनका कार्यमा सरिक हुनुपर्ने भन्दै त्यस तर्फ सोच्ने बेला आएको बताए ।

शिक्षा बिना समग्र सल्यानको बिकास असम्भव रहेको भन्दै मल्लले अब गाउँटोलको बिकास गर्न प्राविधिक जनशक्ति आबश्यक रहेको भन्दै उनले भने,‘योग्य प्राबिधिक जनशक्ति उत्पादन र आयआर्जनका कार्यमा सरिक हुनुपर्छ,त्यस प्रकारका जनशक्तिले नै अब हरेक गाउँबस्ती बनाउन लाग्नुपर्छ,त्यसले नै समाजमा सकारात्मक प्रभाव पार्ने गर्छ र बिकास दिगो हुन्छ ’ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले अहिलेको आबश्यकता ब्यवहारिक र ब्यबसायिक शिक्षा भएको धारणा राखेका थिए ।

यस्तै प्राबिधिक शिक्षा तथा तालीम परिषदका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्राबिधिक शिक्षाको क्षेत्रमा कर्णाली प्रदेशले फड्को मार्दै गएको बताए । बिद्यार्थी र अभिभावकहरुको रुचि पनि प्राबिधिक शिक्षामा भएकाले यस क्षेत्रमा थुप्रै जनशक्ति उत्पादन भएको र यसको सही सदुपयोग गर्नुपर्ने बताए ।

शिक्षालय संचालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षालय प्रमुख कृष्ण बिर नेपालीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षालयका सूचना अधिकारी इन्द्र कुमार शर्माले गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार, ,  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्