हामी परिक्षण प्रसारणमा छौ




दार्मा,सल्यान । सल्यानको दार्मा गाउँपालिका  र पढ्नका लागि कोठा (Room to Read) बिच प्रारम्भिक कक्षाका बालबालिकाहरूमा साक्षरता सिप र पढ्ने बानीको विकास गर्न साक्षरता कार्यक्रमका लागि हस्ताक्षर गरिएको हो ।

पढाइमा सफल बन्नका लागि आवश्यक सिपको विकास गरी माध्यमिक शिक्षा उत्तीर्ण गर्न सहयोग गर्ने कार्यक्रमको दीर्घकालीन लक्ष्य रहेको दुबै पक्षको दाबी  छ । शैक्षिक सत्र २०७९ देखि कार्यक्रम लागू गर्न दार्मा गाउँपालिकाका ११ वटा सामुदायिक विद्यालयहरू छनोट गरिएको  छ। कार्यक्रमका लागि सरस्वती प्रा.वि. भदालेखोला, बालकल्याण मा वि भुवनटाकुरी, जनकल्याण प्रा.वि. झ्यारीबाङ, जनज्योति मा.वि. फारुलाचौर, नवजागरण प्रा.वि. जलुकेनी. कालिका आधारभूत विद्यालय लाखुरीडाँडा र जनशिशु प्रा.वि. कैनपानी  छनोटमा परेका छन् । त्यसैगरी नेपाल राष्ट्रिय मा.वि. ढाकाडामकोट, विश्वेश्वर आधारभूत विद्यालय त्रिवेणी, सूर्योदय मा.वि. गोठीवन र लक्ष्मी आधारभूत विद्यालय ज्यामिरेचौरमा साक्षरता कार्यक्रम लागू हुनेछ ।

कार्यक्रमबाट पुस्तकालय तथा फर्निचर व्यवस्थापन, कक्षाकोठा रङ्गरोगन र बसाइ व्यवस्थापन, शिक्षकको क्षमता विकास, अनुगमन तथा सुपरीवेक्षण गरिने छ । त्यसैगरी अभिभावक बैठक, शैक्षिक सामग्री व्यवस्थापन, प्रधानाध्यापक बैठक, शिक्षक सञ्जाल बैठक, प्रधानाध्यापक क्षमता विकास, साक्षरता समिति क्षमता विकास लगायतका क्रियाकलापहरू सञ्चालन हुनेछन् ।

दार्मा गाउँपालिका र Room to Read  को साझेदारीमा सम्पन्न हुने कार्यक्रममा  ५० / ५०  प्रतिशत लगानी रहने छ । चार वर्षसम्म सञ्चालन हुने साक्षरता कार्यक्रमका लागि दार्मा गाउँपालिकाको ४७ लाख २४ हजार ३३५ र  Room to Read को ४७ लाख १८ हजार ३७०  गरी जम्मा ९४ लाख ४२ हजार ७०५ लगानी रहने छ । छनोट भएका प्रत्येक विद्यालयका लागि चार वर्षमा ४ लाख २९ हजार ४८५ को बजेट लागत अनुमान गरिएको छ । कार्यक्रमको साझेदारी संस्थाका रूपमा दलित विकास समाज (DDS) सल्यान रहेको छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष टीका शर्मा वली, नि. प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का, शिक्षा अधिकृत शेरप्रसाद ढकाल, रुम टु रिडका क्षेत्रीय व्यवस्थापक खडगबहादुर कुवर, कार्यक्रम अधिकृत बाबुराम पोख्रेल र तपेन्द्र वलीको उपस्थिति रहेको थियो । त्यसैगरी दलित विकास समाज कार्यक्रम संयोजक टेकराज शाही, साक्षरता सहजकर्ता कमल महतरासहित साक्षरता कार्यक्रम लागू हुने ११ विद्यालयका प्रधानाध्यापकहरूको पनि कार्यक्रममा सहभागिता थियो ।

उक्त समझदारी पत्रमा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के.सी., नि. प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का र  (Room to Read) का कार्यक्रम कार्यान्वयन प्रमुख पवनसिंह कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार, ,  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्