हामी परिक्षण प्रसारणमा छौ



सल्यान, १७ बैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले कपुरकोट गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास र सुधारका लागि विभिन्न प्रतिवद्धता जनाएको छ । एमाले कपुरकोटले गत बैशाख १२ गते नै उम्मेदवारी मनोनयन दर्ताको दिन संकल्प पत्र सार्वजनिक गरेको थियो । उक्त संकल्प पत्रमा एमालेले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर मतादातासंग प्रतिबद्धता जनाएको छ ।

जेष्ठ नागरिकलाई निःशुल्क रुपमा घरदैलो उपचार सेवा प्रदान देखि महिला स्वास्थ्य स्वयंसेविकाहरुको पोषाक, यातायात खर्च र खाजा तथा सञ्चार सुविधामा बृद्धि गर्ने प्रतिबद्धता छ । गाउँपालिकामा निर्माणाधिन १५ सैयाको अस्पताल निर्माण कार्य पुरा गरी चिकित्सक सहित गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्य संस्थाहरुको सुदृद्धिकरण गर्ने, कुपोषित बालबालिकाको संख्यालाई शुन्यमा झार्ने र आगामी ५ वर्षमा शत प्रतिशत संस्थागत सुत्केरी सेवा प्रदान गर्ने गाउँपालिकाको रुपमा विकास गर्ने एमाले कपुरकोटले संकल्पपत्रमा उल्लेख गरेको छ ।

संकल्पपत्रमा सबै परिवारलाई स्वास्थ्य विमा कार्यक्रममा जोड्ने, सुनौला एक हजार दिन भित्रका गर्भवती, सुत्केरी आमा तथा बालबालिकाहरुका लागि सुनौलो प्याकेज कार्यक्रम ल्याउने तथा गाउँपालिकामा आयुर्वेद सेवा विस्तार गर्ने लगाएतका प्रतिबद्धता जनाइएको छ ।

यस्तै शिक्षा तर्फ दुर्गम तथा पिछडिएका बस्तिका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन गाउँपालिकामा एउटा आवासीय विद्यालयको व्यवस्था गर्ने प्रतिबद्धता एमालेको छ । गाउँपालिकाका माध्यमिक विद्यालयहरुमा स्कुल बस सञ्चालन गर्ने, बालविकास शिक्षकलाई मन्टेश्वरी तालिम दिने तथा दिवा खाजामा रकम बृद्धि गर्ने र विद्यालयमा अपाङ्गता मैत्री एवम् बालमैत्री शौचालय निर्माण गर्ने एमाले कपुरकोटले संकल्प गरेको छ ।

यस्तै संकल्पपत्रमा प्रारम्भिक बालबिकास सहजकर्ताहरु तथा बिद्यालय कर्मचारीहरुलाई थप प्रोत्साहन गर्ने, प्रधानाध्यापक तथा शिक्षकहरुको सेवा सुविधा बृद्धि गर्ने उल्लेख गरिएको छ भने प्राविधिक शिक्षामा एमालेको जोड छ । संकल्पपत्रमा भनिएको छ– ‘कार्यमूलक, व्यवहारिक, प्राविधिक तथा व्यवसायिक सीपयुक्त जनशक्ति उत्पादनका लागि विद्यालय शिक्षामा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रबन्ध गरिने छ । प्राविधिक धार सञ्चालनमा रहेको विद्यालयलाई थप व्यवस्थित बनाइने छ ।’ एमाले कपुरकोटले वहुप्राविधिक शिक्षालय स्थापनाको लागि पनि प्रतिबद्धता जनाएको छ । बाल बिवाह न्युनिकरण तथा शैक्षिक सचेतना अभिबृद्धि गरिने उल्लेख गरिएको छ ।

अस्त व्यस्त रहेको शिक्षा क्षेत्रलाई आफ्नो पार्टीको नेतृत्वमा रहेको स्थानीय सरकारले केहि हदसम्म सुधार गरेको दाबी गर्दै एमालेले सामुदायिक विद्यालय सुधारका लागि योजनाबद्ध तरिकाले क्रियाकलाप र योजना सञ्चालन गर्ने उल्लेख गरेको छ । कपुरकोट गाउँपालिकामा २४ वटा सामुदायिक र ३ वटा निजि गरेर २७ वटा विद्यालय रहेका छन् । यस्तै कपुरकोट गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, १४ वटा गाउँघर क्लिनिक र १८ वटा खोप केन्द्र रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार, ,  ४ : १२ बजे

प्रतिक्रिया दिनुहोस्