हामी परिक्षण प्रसारणमा छौ

सल्यान जिससका लागि कांग्रेस, माओवादी केन्द्र र समाजवादीको तालमेल

समन्वय प्रमुखमा कांग्रेसको दोहोरो उम्मेदवारी



जेठ २५,सल्यान । यही जेठ २९ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सल्यानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

समन्वय समितिमा प्रमुख, उपप्रमुख सहित नौ पद रहेका छन् । गठबन्धन अनुसार कांग्रेसले समन्वय प्रमुख, तीन सदस्यसहित चार, माओवादीले उपप्रमुख, तीन सदस्यसहित चार र नेकपा समाजवादीले एक सदस्यमा सहमति भएको कांग्रेसका जिल्ला सभापति केश बहादुर विष्टले बताउनुभयो । 

कांग्रेसले बागचौर नगरपालिका-१२,बाँफुखोलाका मानबहादुर ओलीलाई समन्वय प्रमुखका लागि छनोट गरेको छ । यस्तै सदस्यहरूमा शारदा नगरपालिका-१,का बालकृष्ण भण्डारी, छत्रेश्वरी गाउँपालिका- ७ का हिरा कुमारी शाह चन्द र शारदा नगरपालिका-३ की विमला खत्रीलाई पठाउने निर्णय गरेको विष्टले बताउनुभयो । 

यस्तै माओवादी केन्द्रले  उपप्रमुखमा दार्मा गाउँपालिका-४ का असविर बुढाथोकीलाई पठाउने निर्णय गरेको छ । सदस्यहरूमा शारदा नगरपालिका -९ बाट चेत बहादुर गिरी, बागचौर नगरपालिका -४ बाट विन्दु पुन र कुमाख गाउँपालिका-६ बाट जमुना सुनारलाई सिफारिस गरिएको माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुनको भनाई छ । 

नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष हरि केसीलाई सदस्यमा पठाउने निर्णय गरेको जनाएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जिल्लाका १० स्थानीयमा निर्वाचित प्रमुख र उपप्रमुख गरी २० मतदाता रहेका छन् । जसमा कांग्रेसको ८, माओवादी केन्द्रको ६ र एमालेको ५ र एकीकृत समाजवादीको एक जना रहेका छन् । 

यस्तै केन्द्रको निर्देशन अनुसार कांग्रेस, माओवादी र एकीकृत  समाजवादीले गठबन्धनलाई सल्यानमा निरन्तरता दिएपछि एमाले भने एक्लै निर्वाचन जाने वा नजाने भन्ने विषयमा पार्टीमा  छलफल भइरहेको एमाले जिल्ला सचिव ओज बहादुर बुढाथोकीको भनाइ रहेको छ । 

यस्तै जिल्ला समन्वय समिती सल्यानको प्रमुखमा ४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। कार्यालयका अनुसार प्रमुख पदमा नेपाली कांग्रेस पार्टीबाट  मान बहादुर वली र दोहोरोमा  बेलाराम रावतको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट नारायणी खत्री र एकीकृत समाजवादीको तर्फबाट  लोकबहादुर डाँगीको उम्मेदवारी परेको छ।

यसैगरी उपप्रमुख मा माओवादी केन्द्रबाट असविर बुढाथोकी(रैती) र नेकपा एमालेबाट बेलबहादुर चन्दको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार, ,  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्