हामी परिक्षण प्रसारणमा छौ



रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा प्रस्तावित विषयगत नीति तथा कार्यक्रम पस्तुत गर्नुभएको हो । जारी भएको निति तथा कार्यक्रममा स्थानीय उत्पादनलाई नै केन्द्रबिन्दुमा राखिएको छ ।
पालिका भित्र का विद्यालयहरुको नियमित अनुगमन र नियमलाई थप प्रभावकारी बनाई ‘स्कुल – स्कुलमा परिवर्तन’ भन्ने मान्यतालाई स्थापित गर्ने, ‘हाम्रा विद्यार्थी,हाम्रा गौरव’ भन्ने भनाइलाई अवलम्बन गर्दै विद्यालयमा विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न प्रोत्साहन गर्ने  निति लिइने कार्यक्रममा उल्लेख गरिएको छ।

उत्पादनमा वृद्धि अवधारणाका साथ परिवर्तन गाउँपालिकाको पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरू संरक्षण, विद्युत, खानेपानी, सिचाइ,स्वास्थ , शिक्षा,रोजगारमा लगानी केन्द्रित गर्ने नीति लिइने उल्लेख छ । परिवर्तन गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा समेटिएको केहि महत्त्वपूर्ण क्षेत्र  हेर्नुहोस् :

पूर्वाधार विकास तर्फ – सडक आवास तथा भवन निर्माण गर्ने र परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर वरिपरिको सडक कालोपत्रे तथा वृक्षरोपण सहितको वातावरणमैत्री सडक निर्माणका लागि डि.पी.आर गर्ने, जनयुद्धको क्रममा शाहदत प्राप्त गर्ने सम्पूर्ण शहिदहरुको धामाचौरमा स्मारक निर्माण गर्ने । 

शिक्षा तर्फ – विद्यालयहरुको नियमित अनुगमन र नियमलाई थप प्रभावकारी बनाई ‘स्कुल – स्कुलमा परिवर्तन’ भन्ने मान्यतालाई स्थापित गर्ने, ‘हाम्रा विद्यार्थी,हाम्रा गौरव’ भन्ने भनाइलाई अवलम्बन गर्दै विद्यालयमा विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न प्रोत्साहन गर्ने । 

युवा तथा खेलकुद तर्फ – गाउँपालिका स्तरीय धामाचौर खेलकुद मैदानलाई थप व्यवस्थित गर्ने, ‘एक वडा एक खेलकुद’ कार्यक्रमको नीति अघि सार्ने र युवा आकर्षण तथा सशक्तीकरण सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।

स्वास्थ्य सेवा तर्फ:  स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्न जनस्तरमा आवश्यक कार्यक्रम संचालन गर्ने, ‘निरोगी र स्वस्थ परिवर्तन गाउँपालिका’ अभियान कार्यक्रम संचालन गर्ने ।

कला तथा संस्कृति तर्फ – कला, साहित्य, भाषा, संस्कृतिको संरक्षण गर्ने, धार्मिक, सांस्कृतिक सहिष्णुतालाई आत्मसात गर्ने ।

 सामाजिक सुरक्षा – लैगिंक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण तर्फ ‘हाम्रा बालबालिका, हाम्रो भविष्य’ भन्ने मान्यता अनुसार बालमैत्री स्थानीय वडा निर्माण गर्ने, महिला विरुद्ध हुने सबै किसिमका सामाजिक भेदभाव, शोषण र हिंसा अन्त्य गर्ने । 

न्यायीक समिति तथा मेलमिलाप तर्फ – न्यायीक समिति र मेलमिलाप कर्ताको क्षमता विकासमा जोड दिने र वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरि स्थानीय जनतालाई कानुनी पहुँचमा सरलता प्रदान गर्ने ।

कृषि तथा पशु विकास तर्फ – ‘एक पालिका–एक विषेश उत्पादन’ भन्ने कार्यक्रम अन्तर्गत ओखर खेतीका लागि विषेश व्यवस्था गर्ने र पशु विकास र किसानका लागि घाँस खेतीलाई विषेश प्राथमिकता दिईने । 

पर्यटन तर्फ – परिवर्तन गाउँपालिकामा पर्यटकीय पूर्वाधारहरु विकास गर्ने र गाउँपालिका क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनमा जोड दिईने।

खानेपानी तथा सिँचाइ तर्फ – गाउँपालिका बासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न एक घर एक धाराको नीति अवलम्बन गर्ने र सिँचाइ प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्ने । 

सहकारी तथा रोजगार प्रवर्द्धन तर्फ – सहकारी संघ, संस्थालाई घरेलु तथा साना उद्यमको प्रवर्द्धन, कृषि उत्पादन, भण्डारण तथा प्रशोधन एवं गरिबी निवारण सम्बन्धि कार्यक्रममा प्रोत्साहन गर्ने र सहकारी क्षेत्रको प्रवर्द्धन गरि स्थानीय उत्पादन बढाउन जोड दिने । 

प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ – न्युनतम रोजगार, नागरिकको अधिकार, स्थानीय सरकार रोजगारीको आधार, समान काम समान ज्याला, ‘सीप सिकौं रोजगार बनौं’ भन्ने मुल भनाइलाई आत्मसात गर्दै आन्तरिक रोजगार प्रवर्द्धन कार्यका लागि श्रमको सम्मान गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी रूपमा संचालन गर्न गाउँपालिकाको तर्फबाट समपूरक कोषको व्यवस्था गर्ने । 

राजश्व प्रशासन तर्फ – राजश्व तथा कर प्रशासनलाई चुस्त, सरल, प्रविधिमैत्री एवं करदातामैत्री बनाई अधिकतम कर संकलन हुने वातावरण निर्माण गर्ने र आन्तरिक राजश्वको अवस्था सुधारका लागि आ।व। २०७९/०८० मा राजश्व सुधार योजना निर्माण गर्ने ।

सुशासन तथा संस्थागत क्षमता विकास तर्फ –  कर्मचारी प्रशासन, जनशक्ति विकास, सुशासन र सार्वजनिक सेवा प्रवाह तर्फको ‘गाउँपालिका बासीसँग अध्यक्ष सम्वाद कार्यक्रम’ मार्फत मासिक रूपमा गाउँपालिका बासीहरुको पत्यक्ष गुनासो सुनुवाइ हुने व्यवस्था गर्ने र तालीम, अध्ययन, भ्रमण, अभिमुखिकरण, ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्ने र सफल अभ्यास बाट सिक्ने परिपाटीको विकास गर्ने । 

सूचना,प्रविधि तथा संचार तर्फ – सूचना प्रविधिमैत्री गाउँपालिका बनाउन योजनाबद्ध विकास गर्ने र गाउँपालिकाका हरेक गतिविधिलाई मिडियामा प्रकाशन, प्रशारण गर्न उल्लेखनीय भूमिका खेल्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानको व्यवस्था गर्ने ।

वन,वातावरण तथा विपद व्यवस्थापन तर्फ : हाम्रो ‘परिवर्तन राम्रो परिवर्तन’ भन्ने नारालाई अवलम्बन गरि आम गाउँपालिका बासीहरुले महशुस गर्ने गरि सार्वजनिक निजी साझेदारीमा फोहोर मैला व्यवस्थापनलाई प्रभावकारी बनाउने र विपद जोखिम न्यूनीकरण र व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समितिहरुलाई सक्रिय बनाउने रहेका छन् । यस्तै १० गते बजेट विनियोजनमा वडाको भूगोल, जनसंख्या, आन्तरिक राजश्व र वडाको चालू आर्थिक वर्षको कार्य सम्पदानलाई आधार बनाएर वडागत बजेट निर्धारण हुने अध्यक्ष बुढाले बताउनु भयो ।    

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको गाउँ सभाको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगर रहनु भएको थियो । प्रथम गाउँसभामा ६ वटै वडाका वडाध्यक्षहरु, सदस्य, परिवर्तन गाउँपालिका गाउँ कार्यपालिका सदस्य, परिवर्तन गाउँपालिका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, ६ वटै वडाका सचीव, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, बुद्धिजीवी, व्यापारी लगाएतको उपस्थीती रहेको थियो ।

परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनीको स्वागत मन्तव्यबाट सुरु भएको नीति तथा  कार्यक्रमकाे सञ्चालन परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार, ,  २ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्