हामी परिक्षण प्रसारणमा छौ



२८ साउन,सल्यान। सल्यानको कपुरकोट गाउँपालिकाले कपुरकोट निगालपानी सडकखण्डमा ट्रिपर सञ्चालनका विषयमा सर्वसाधारण नागरिकलाई भ्रम फैलाउने प्रयास नगर्न अनुरोध गरेको छ । शनिबार एक अपिल जारी गर्दै गाउँपालिकाले यस विषयमा सामाजिक सञ्जालमा विभिन्न अनाधिकृत प्रचारवाजी भएकाले आधिकारीक धारणा सार्वजनिक गरिएको जनाएको हो । अपिलमा गाउँ कार्यपालिकाको ७१ औँ वैठकबाट निर्णय गरी सडक मर्मत र धुलो नियन्त्रणका लागि प्रभावकारी काम नभएसम्मका लागि उद्योगीहरुलाई अनुरोध भएपछि सडकको स्तरोन्नती कार्य भइरहेको उल्लेख छ । प्रभावित क्षेत्रका नागरिकहरुले समेत सडक स्तरोन्नती कार्य राम्रो भएको प्रतिक्रिया आइरहदा चुनढुंगा ढुवानी गर्ने ट्रिपर सञ्चालनमा पूर्ण रुपमा रोक लगाउन सक्ने कानुनी हैसियत नभएकाले नागरिकको पक्षमा सहयोग पुग्ने गरी उद्योगीहरुसंग सहमति गरिएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीको संयुक्त हस्ताक्षर रहेको अपिलमा ट्रिपर सञ्चालनका विषयमा उद्योगीहरुसंग भएको ८ बुदे सहमतीलाई कार्यपालिकाको ८० औँ पूर्ण बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरिसकेको उल्लेख गरिएको छ । यस घटना क्रममा केही स्वार्थ समूहद्धारा जनप्रतिनिधीको चरित्र हत्या गर्ने र जनप्रतिनिधीहरुका विच दरार श्रृजना गर्ने अभिप्रायले भ्रामक समाचार सम्प्रशन गर्ने, जनप्रतिनिधीहरुबाट अनुमोदित निर्णयलाई समेत गलत ढंगबाट व्याख्या गरेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने प्रयास गरिएकाले यसो नगर्न सबैमा अनुरोध गरिएको छ ।

अपिल मार्फत गाउँपालिकाले कपुरकोट निगालपानी सडक स्तरोन्नती र धुलो हिलो नियन्त्रणका लागि स्पष्ट योजना, प्रभावित क्षेत्रका नागरिकका लागि रोजगारीको अवसर र विभिन्न राहत कार्यक्रमका लागि वार्षिक रुपमा २५ लाखको संयुक्त कोष स्थापना जस्ता महत्वपूर्ण सहमति भएको जनाइएको छ । यस्तै ट्रिपर सञ्चालनका लागि भारवहन क्षमता र समयसिमा निर्धारण, सडकको नियमित मर्मत सम्भारको अनुगमन तथा सहमतिमा उल्लेखित शर्त कार्यान्वयनको अवस्था विश्लेषण गरी सिफारिस गर्न संयुक्त अनुगमन समिति गठन गर्ने लगाएतका महत्वपूर्ण सहमति भएको उल्लेख गरिएको छ ।

विद्यमान ऐन कानुनको परिधिभित्र रहेर हेर्दा ८ बुदे सहमति जनभावना अनुकुल रहेको गाउँपालिकाले ठहर गरेको छ । यस विषयमा कोही कसैलाई जनहित विपरित लाग्छ भने उपयुक्त सुझाव गाउँपालिकालाई दिन सक्ने र त्यसलाई पालिकाले ससम्मान ग्रहण गर्ने पनि अपिलमा जानकारी गराइएको छ । गाउँपालिका सदैव नागरिकको पक्षमा रहने प्रतिबद्धता सहित एक आपसमा आरोप प्रत्यारोप भन्दा संयमित भएर पालिकाको समग्र विकासमा एकताबछ हुन अपिल गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार, ,  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्