सल्यान । पाँच दलिय गठबन्धनको संयुक्त सल्यान जिल्ला स्तरीय बृहत चुनावी कार्यकर्ता भेला खलंगामा सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि संयुक्त गठबन्धनको संयुक्त जिल्ला स्तरीय बृहत चुनावी कार्यकर्ता भेला आज जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति केश बहादुर बिष्टको अध्यक्षतामा आयोजित भेलालाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री टेक बहादुर बस्नेत, बिशेष अतिथि नेपाली काँग्रेस पूर्वकेन्द्रीय सदस्य डिल्लीराज रेग्मी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य उदय बोहरा, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज उमाकान्त शर्मा, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य लोक बहादुर डाँगी, नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री एकराज डाँगी, नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति सदस्य ध्रुवराज पुरी, नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी उपाध्यक्ष कर्ण बहादुर बुढाथोकी लगाएतले प्रतिगमनलाई परास्त गर्न गठबन्धनका उम्मेदवार लाई जिताउन एकजुट भै लाग्न नेता कार्यकर्ता लाई आग्रह गर्नुभएको थियो ।

यस्तै प्रतिनिधि सभा सल्यानबाट गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला, प्रदेशसभा क्षेत्र नम्बर( १) का उम्मेदवार भिमप्रकाश शर्मा, प्रदेशसभा क्षेत्र नम्बर (२ ) का उम्मेदवार सुरेश अधिकारी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरु नेकपा (माओवादी केन्द्र) का रत्न बहादुर वली, टिका बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) का प्रेमा अधिकारी, नेपाली काँग्रेसका नेत्र पौडेल लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवारहरूले जिल्लामा हुने सम्पूर्ण विकास निर्माणका काममा साझेदारी गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले जिल्लामा हुने सम्पूर्ण विकास निर्माण काममा सँगै हातेमालो गरेर अगाडी बढ्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक कृति बहादुर पुनले सञ्चालन गरेको भेलामा नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष हरी केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।