हामी परिक्षण प्रसारणमा छौ



मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको मुटु मानिने दरवार मार्गस्थित फाइ भस्टार होटल ‘याक एण्ड यती’मा कार्तिक १५ गते एक कार्यक्रमको आयोजना गरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणापत्र सार्वजनिक गरे ।

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा केपी ओलीसँग लाइभ डिवेट कार्यक्रम भन्दै बैंकर्स अनिल केशरी शाहले प्रायोजित संवाद कार्यक्रम चलाए ।

पार्टी कार्यालय वा अन्य सार्वजनिक स्थलको साटो सुविधासम्पन्न फाइभ स्टार होटलमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्नु, घोषणापत्र सार्वजनिक गर्न गरिएको तामझाप र डिजिटल प्रविधि प्रयोगको ठेक्का कुनै कम्पनीलाई दिइनु, पार्टीका जिम्मेवार नेताको साटो पूर्व मिस नेपाललाई कार्यक्रम चलाउन दिनु र कुनै व्यापारिक संस्थाको कार्यक्रम जसरी बैंकर्स अनिल केशरीले संवाद कार्यक्रम चलाउनु जस्ता दृश्यहरुले एमाले राजनीतिक दलभन्दा कुनै कर्पोरेट (ब्यापारिक) हाउस जस्तो लाग्दथ्यो ।

अझ रोचक त के भने कार्यक्रमस्थलमा एमालेले मान्दै आएका कार्ल माक्र्स, लेनिन, मदन भण्डारीका कुनै तस्बिर टांगिएनन् । होटलको गेटदेखि भित्रसम्म जताततै केपी ओलीका मात्रै फोटो थियो । कार्यक्रममा केपी ओली बाहेक कसैको भूमिका थियो भने अनिल केशरी र सदीक्षा क्षेष्ठको मात्र थियो ।

एमालेका केन्द्रीय पदाधिकारीसहितका नेताहरु कुनामा राखिए । उनीहरुले रमिता हेरेर दिन बिताए । ब्यापारिक हाउसका मालिकले आफ्नो बजार विस्तार गर्न जसरी विज्ञापन गर्दछ, त्यसैगरी केपी ओली गुलिया शब्दहरु प्रयोग गर्दै एमाले ब्राण्डको कर्पोरेट हाउसको विज्ञापन गरिरहेका थिए ।

कसैलाई झुक्याउन सकियो भने फेरि सरकारमा पुगेर मनपरी गर्न पाइने झिनो आशासहितको लोभ ओलीको आखैमा देखिन्थ्यो ।

एमालेको घोषणापत्रमा आएका कुनै पनि विषय नयाँ थिएनन । २०६४ साल, २०७० साल, २०७४ साल र ओली प्रधानमन्त्री बनेपछि नीति तथा कार्यक्रममा आएकै विषयलाई फूलबुट्टा भरेर घोषणापत्रका रुपमा एमालेले सार्वजनिक गर्यो ।

खासगरी २०७४ सालमा २ वर्षभित्रै समुन्द्रसम्म नेपालको आफ्नै पानी जहाज कुदाउने घोषणा केपी ओलीले गरेका थिए । तर, साढे तीन वर्ष प्रधानमन्त्री बन्दा पनि उनले आफ्ना केही आसेपासेलाई जागिर खुवाउने बाहेक अरु कामै गर्न सकेनन् ।

त्यसवेला केपी ओलीले एक–दुई वर्षभित्रै नेपालको आफ्नै स्याटलाइट राख्ने, घर घरमा पाइपबाट ग्यास पुर्याउने जस्ता सयौं सपना देखाएका थिए, यी कुनै पनि पूरा गरेनन् । अहिले फेरि त्यही पुराना कुरा दोहोर्याइरहेका छन् ।

सत्तामा रहँदा जनताको पक्षमा केही काम नगर्ने, सत्तामा हुँदा संसद विघटन गर्ने, अदालतले गलत ठहर गरिसकेको संसद विघटन सही भन्दै हड्निे तर अहिले फेरि बहुमत चाहियो भन्नु केपी ओलीको हद दर्जाकै अनैतिकता हो ।

सारा विश्वलाई थाहा छ, केपी ओलीको पालामा नेपालको आर्थिक वृद्धि निकै खस्कियो, अन्तर्राष्ट्रिय संस्थाहरुले नेपाल दक्षिण एशियामा सबैभन्दा हुने देश भएको ठहर गरे । यति, ओम्नी, बालुवाटार, ७० करोड जस्ता दर्जनौ काण्डहरु भए ।

देश नै खोक्रो बनाइसकेपछि केपी ओलीले संसद भंग गरे । संविधान र लोकतन्त्रमाथि प्रहार गरे र आफ्नै पार्टीवाट राष्ट्रपति बनेका विद्या भण्डारीलाई प्रयोग गरेर अध्ययादेश जारी गराएर शासन गर्न थाले । धमाधम संबैधानिक अंगमा आफ्ना मान्छे भरे । अदालतमा समेत हस्तक्षेप गरे ।

एक दलीय निरंकुशता लाद्ने ओलीको यो प्रवृत्तिविरुद्ध सिंगो देश एक भयो । आन्दोलनको बलमा केपी ओलीलाई सत्ताबाट हटाइयो । अदालतले ओलीका कदम असंवैधानिक ठहर गर्यो । यति भइसकेपछि लोकतन्त्रवादी र सच्चा कम्युनिष्टवाट विश्वास गुमाइसकेका ओली अहिले फेरि शहरीया मध्यम वर्गलाई प्रभाव पार्न सकिन्छ कि भनेर सिङ्गो एमालेलाई कम्युनिष्ट दर्शन र विचारवाट च्यूत बनाइ कर्पोरेटीकरण गरिरहेका छन् ।

ओलीकै कारण एमाले पार्टी कर्पोरेट समूह बन्न पुगेको छ भने एमालेले जारी गरेको घोषणापत्र विगतकै पूरा गर्न नसकेका वाचा पूर्व मिस नेपाल र बैंकर्शमार्फत् लेपन लगाएर प्रायोजितरुपमा फिजाइएको भ्रमपत्र मात्र बनेको छ । एमालेका यस्ता प्रायोजित घोषणापत्रवाट नेपाली मतदाता झुक्किन सम्भव छैन ।

साँचो अर्थमा भन्ने हो भने एमाले विगतको एमाले रहेन । अहिले त एमालेले राजनीतिक पार्टीको स्वत्व गुमाएर ब्यापारिक हाउस जस्तै बनिसकेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रमले पनि त्यसैको पुष्टि गर्छ । वैधानिक र प्राविधिकरुपमा एमाले नामको स्वामित्व केपी ओलीसँग भए पनि एमालेले विगतदेखि अपनाउँदै आएको राजनीतिक धार भने केपी ओलीसित छैन ।

खासमा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल, माधव नेपाल, वरिष्ठ नेताहरु वामदेव गौतम, घनश्याम भूषाल, बेदुराम भूषाल जस्ता दार्शनिकहरु एमालेमा नहुनु नै उक्त पार्टी वास्तविक एमाले नरहेको प्रमाण हो ।

अहिले त एमालेमा न त एमाले पार्टी जन्माउने झलनाथ, माधव, वामदेव जस्ता प्रमुख नेता छन्, न त झापा बिद्रोहको राप तापले माले पार्टी जन्माउने सीपी मैनालीहरु छन्, न त जनआन्दोलनका बेला फिल्डमा आन्दोलनको मोर्चा सम्हाल्ने रामकुमारी झाक्रीहरु नै त्यहाँ छन्, न फिल्डमा बसेर पार्टी निर्माणमा इमन्दारीपूर्वक खटिरहेका डोल्पाका हंशबहादुर शाही जस्ता देशैभरका हजारौ नेता कार्यकर्ता छन् ।

केही इमन्दार व्यक्तिहरु छन् भने पनि ती बाध्यतावस वा अझै वास्तविकता बुझ्न नसकेर रहेका होलान् । ती पनि क्रमशः बाहिरिने नै छन् । किनकी एमाले सच्चा कम्युनिष्टहरुको पार्टी होइन, रहेन ।

ठोकुवा नै गरेर के भन्न सकिन्छ भने अहिलेको एमाले बुर्जुवाहरुको पार्टी हो । यो अव गरिव र सर्वहाराको पार्टी होइन । एमाले संविधानसभा, गणतन्त्र र लोकतन्त्रको आवाज उठाउने माथि सत्तामा बसेर दमन गर्ने कमल थापाहरुको पार्टी हो । त्यसैले त कमल थापाले एमालेवाट टिकट पाएर चुनाव लडिरहेका छन् ।

राजा हटेर देशमा गणतन्त्र आएकोमा धुरुधुरु रुदै राजतन्त्र फेरि फर्कने सपना देखेर हिडेका कोमल ओलीको पार्टी हो एमाले, त्यसैले त कोमल ओली एमालेको केन्द्रीय सदस्य बन्छिन् र चुनावमा टिकट पाए ।

त्यहाँ इमान्दारपूर्वक खटिरहेका गंगा चौधरी सत्गैया अटाउन सम्भव छैन । जनआन्दोलनमा गणतन्त्रका गीत गाउने र विगतमा एमलेको चुनावी गीत गाउने बद्री पंगेनीहरुको पार्टी होइन एमाले । त्यसैले त अहिले बद्री पंगेनी माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा देश बनाउने गीत गाइरहेका छन् ।

एमाले नेपालमा लोकतन्त्र, संघीयता मास्न र राजतन्त्र फर्काउन लागिपरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनहरुको हित हेर्ने पार्टी हो । त्यसैले त चुनावमा एमालेले राप्रपासँग घोषित मोर्चावन्दी गरिरहेको छ ।

त्यतिमात्र होइन, नेपालमा ‘होली वाइन’का प्रर्वद्धकका रुपमा चिनिएका एकनारायण ढकालहरुको पार्टी हो एमाले, त्यसैले त एकनारायणहरुले एमालेवाट समानुपातिक उम्मेदवार बन्न पाउछन् ।

वर्षौ एमालेमा त्याग गरेका भिम रावलहरुको पार्टी रहेन एमाले यो त उत्पादक र उपभोक्तालाई कसरी बढीभन्दा बढी चुसेर दलाल पुँजीपति वर्गले नाफा कमाउन सक्छ भन्ने आइडिया लगाउने बैंकर्स अनिल केशरी शाहहरुको पार्टी हो ।

एमालेले जतिसुकै जोडबल गरे पनि यो चुनावमा एमाले पार्टी मुख्यतः केपी ओलीले जनतावाट सजाय पाउने निश्चित छ । लोकतन्त्र र संविधान मिच्ने तथा संसद भंग गरेर जनमतको अपमान गरेकोमा न्यायालयले ओलीको कदमलाई असंबैधानिक ठहर गरिसकेकै छ ।

ओलीलाई वाम–लोकतान्त्रिक राजनीतिक दलहरु खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेस, राजमो, नेसपा लगायतले बहिस्कार गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धन नै बनाएर चुनावमा ओलीको प्रतिगामी गठबन्धनलाई परास्त गर्ने यो गठबन्धनको योजना छ ।

अब केपी ओली र उनको समूहलाई चुनावमार्फत् जनताले दण्ड दिने बेला आएको छ । सम्पूर्णरुपमा केपी ओली र उनको गुटलाई चुनावमा हराएर मात्रै प्रतिगमनलाई पराष्त गर्न र ओलीलाई दण्ड दिन सकिन्छ भन्नेमा मतदाता स्पष्ट छन् । (दृष्टि न्युजबाट)

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार, ,  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्