हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नं.१२ बाँफुखोलामा रहेको श्री दुर्गा सरस्वती माध्यमिक विद्यालयको ४७ औ वार्षिकोत्सब विभिन्न कार्यक्रमका साथ भब्य रुपमा शुक्रबार उद्घाटन भएको छ । शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले शिक्षाको गुणस्तर वृद्धि गर्न बागचौर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गौतमले दुर्गा सरस्वती मा.वि.ले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान र विद्यालयको प्रभाव राम्रो रहेको भन्दै विद्यालयको स्तर वृद्धिमा जोड दिने बताउनुभयो । नगर प्रमुख गौतमले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक स्थिति सुधार गर्नुका साथै भौतिक पुर्वाधार निर्माणमा पनि जोड दिने बताउनुभयो ।

यस्तै वार्षिकोत्सब कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमकी विशिष्ट अतिथि बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डीसी (वली) ले दुर्गा सरस्वती माध्यमिक विद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने पाठशाला भएको बताउनुभयो । नगर उपप्रमुख वलीले रोल्पा जिल्लाका विद्यार्थीहरुले समेत अध्यन गर्ने उक्त विद्यालयमा शैक्षिक सुधारलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयले ४ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कालू लिला एण्ड प्रेम बुद्धि अक्षयकोषद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । यस्तै बागचौर नगरपालिका १२ निवासी प्रेमकली वलीले १ लाख ११ हजार २ सय २७, प्रकाश लाल वली र कलि वलीले १ लाख ५१ हजार १ सय २७ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । यसैगरी  विद्यालयको  ४७ औं बार्सिक उत्सवको अबसरमा आज शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको विद्यालयकि शिक्षिका कमला वलीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेते वलीको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष टीकाराम वली, वडा नं. ११ का वडाध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, शिक्षक, बिद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, वडावसी लगायतको उपस्थिति रहेको उद्घाटन कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक नेव बहादुर वली गर्नुभएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार, ,  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्