हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रा कामको जस अरूले पाउलान् भन्ने कुण्ठाका कारण आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सरकारका राम्रा कामहरूलाई छायाँमा पार्ने गरेको बताएका छन्।

काठमाडौँ जिल्ला कमिटीले आज प्रज्ञा भवनमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरेका विकास निर्माणका कामका साथै विकसित अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि जानकारी गराएका थिए। प्रतिनिधिसभा विघटन गर्नु परेको कारण तथा वर्तमान राजनीतिक अवस्थाबारे कार्यकर्तालाई जानकारी गराउन आयोजित कार्यक्रममा नेकपाका प्रथम अध्यक्ष ओलीले पार्टी एकताको प्रयासदेखि राजनीतिक रूपमा पार्टी फुटको अवस्थामा पुग्दासम्मको सबै विवरण कार्यकर्तालाई जानकारी गराएका थिए।

आफूले बारम्बार प्रचण्ड, नेपाल र खनाललगायतका नेताहरूलाई सम्झाउने प्रयास गरे पनि सफल नभएको उनको भनाइ थियो। संविधानले दिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले पुनर्‍स्थापना हुने भन्दै प्रचण्ड-नेपाल पक्षले भ्रमको खेती गरिरहेको बताए।

 

प्रधानमन्त्री ओलीले कार्यकर्ताहरूलाई आज गरेको सम्बोधनको सम्पादित अंश उनकै शब्दमा –

 

यस कार्यक्रमका सभाध्यक्ष महोदय, मञ्चमा आसिन नेतागण र सम्पूर्ण उपस्थित कमरेडहरू, साथीहरू।

 

आज ईश्वी सन २०२१ को दोस्रो दिन। भर्खरै हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ। यस वर्षको प्रवेश सँगसँगै म यहाँहरू सबैमा फेरि पनि एकपटक नयाँ वर्षको शुभकामना। हुन त मैले हिजो पनि शुभकामना सन्देश सम्प्रेषण गरिसकेको छु। फेरि यहाँहरू सबैमा शुभकामना अर्पण गर्न चाहन्छु। आगामी वर्षमा यहाँहरू सबैको सुस्वास्थ्य, सुख, समृद्धि र सफलताको वर्ष होस्।

आगामी वर्ष भनेको हामी प्रवेश गरेको अहिलेको वर्ष, चालु वर्ष भनौँ। यो वर्ष सन २०२१, नेपालको इतिहासमा एउटा ऐतिहासिक वर्ष हो। यो वर्ष संविधान कार्यान्वयनको सम्बन्धमा, हामीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षा, त्यसको सुदृढिकरण र त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढाउने सम्बन्धमा यसले सुस्पष्ट मार्गनिर्देश र विकास गर्नेछ। नेपालको कम्युनिष्ट आन्दोलन ७२ वर्षको इतिहासमा चलिरहेको छ। यस वर्ष यसमा एउटा नयाँ महान् शुद्धीकरण अभियान, महान् शुद्धीकरण आन्दोलन सफलताका साथ चलाइनेछ।

त्रिशूली नदीमा तपाईँले कुनै फोहोरहरू परेको देख्नुभयो भने त्यसका छालहरूले बिस्तारै–बिस्तारै, किनारतिर फ्याँक्छन््, किनारमा गएपछि पनि त्यो फोहोरमैलालाई फेरि अर्को छाल आएर अलि परतिर, पानीभन्दा बाहिर फ्याँक्छ।

नेपालको कम्युनिष्ट आन्दोलनले पनि त्यसैगरी फोहोर तत्त्त्वहरूलाई किनारामा लगेर अलि बाहिरपट्टी फ्याँक्छ। नेपालको कम्युनिष्ट आन्दोलनको एउटा महान् शुद्धीकरण अभियान र शुद्धीकरणको कार्य सफलतापूर्वक अगाडि बढाउनेछ, एउटा ‘माइलस्टोन’ हुनेछ। नेपालको लोकतान्त्रिक आन्दोलनलाई हाक्नका लागि स्पष्ट गन्तब्य भएको, त्यो गन्तब्यतर्फ पुग्नका लागि सही नीतिहरू, सही बाटा, कार्यक्रम र योजनाहरू भएको, त्यस्तो पार्टी, जो सही विचारमा संगठित भएको। संगठन भनेको के? सही विचारमा संगठित भएको।

अस्ति हाम्रो पार्टीको बैठकमा उपस्थित नभएर हराएका केही मान्छेहरूले एउटा सभा गरेछन्। त्यहाँ एकथरीले एउटा नारा लगाए, अर्कोथरीले अर्को नारा लगाए, त्यहीँ ठाकठुक पर्न थाल्यो। दुई वटा दर्शनढुंगा ठोक्किएजस्तो झल्याकझुलुक हुन थाल्यो। अहिले नै यस्तो छ, उहाँहरूको।

एउटा भनाइ छ, अहिले भर्खर सुरु हुँदैछ उहाँहरूको हालत झुलो चकमक ठोक्किएजस्तो छ। माथिका नेताहरूको ध्यान जम्माजम्मी कुसीमा छ, पदमा छ। पद चाहिएको थियो भने त बैठकमा आउनुपर्‍थ्यो, यता लाग्नुपर्‍थ्यो। पाउने ठाउमा लाग्नुपर्थ्यो। सुन्तला खानुपर्छ भने सुन्तला घारीतिर पो जानुपर्छ, सल्लाघारीतिर जाने? अनि उहाँहरू पद चाहिएको छ उहाँहरूलाई ठूलो ठूलो पद चाहिएको छ, लाग्नुभएको छ खडेरी परेको ठाउँतिर।

खैर यो वर्ष सन २०२१ कोभिड–१९ माथि हामीले नियन्त्रण पाउनेछौँ। कोभिड–१९लाई पराजित गर्नेछौँ। पार्टीलाई सुदृढ बनाउनेछौँ, पार्टीलाई व्यापक बनाउनेछौँ। र एउटा आँधी तुफानको रूपमा हाम्रो पार्टी अगाडि बड्नेछ। यस वर्षले हाम्रो राष्टियतालाई अझ मजबुत बनाउनेछौँ। यस वर्षले हाम्रो स्वाधिनता, स्वतन्त्रतालाई अझ मजबुत बनाउनेछौँ र त्यसको वास्तविक अर्थमा हामीले प्रयोग गर्नेछौँ। यस वर्ष हाम्रो भौगोलिक अखण्डतालाई अझ सुदृढ बनाउनेछौँ। हाम्रा राष्ट्रिय हितहरूलाई अझ सुदृढ बनाउनेछौँ। हाम्रो समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्ने सन्दर्भमा हामी निकै अगाडि बढिसकेका हुनेछौँ। यो वर्ष नेपालको इतिहासमा एउटा उल्लेख्य ‘टर्निङ प्वाइन्टको रूपमा, एउटा बहुतै महत्त्वपूर्ण मोडको रूपमा, एउटा ज्यादै महत्त्वको घुम्तीका रूपमा यो वर्ष अंकित हुनेछ।

हाम्रा संकीर्ण उद्देश्यहरू, व्यक्तिगत र पारिवारिक उद्देश्यहरू होइनन्। हामी छोरा, बुहारी, भाइभतिजा, छोरीका लागि लडिरहेका छैनौँ। हामी देशका जनताका लागि लडिरहेका छौँ। देशका जनताका बाबुआमाका लागि, भाईबहिनीका लागि, दिदीभाईका लागि, दिदीबहिनीका लागि छोराछोरीका लागि, देशका सन्तानका लागि, देशको भविश्यका लागि हामी लडिरहेका छौँ।

भनिन्छ नी, कस्को धन्दा कतातिर, कस्को धन्दा कतातिर, कसैको धन्दा खानातिर। अचम्म लाग्छ, तर साथीहरूलाई म भन्न चाहन्छु, हामीले पार्टी एकता त गर्‍यौँ, एकिकरण त गर्‍र्यौ। तीन महिनामा पूरा गर्नुपर्ने एकिकरणको काम, तीन वर्षमा पूरा गर्न दिएनन्, पूरा हुन सकेन। एकता, एकिकरण गर्‍र्यौँ, पार्टी। तपाईँहरूलाई थाहा छ। पार्टीले यस्तो सभा गर्न पाएको थियो? पार्टीका कमिटि कमिटीझै थिए? कमिटीका बैठक बैठकजस्ता थिए? एउटा कमिटी, तीनवटा गुट, दुईटा गुटको एउटा समीकरण, सधैको झमेला, पार्टी पार्टी रहेन। त्यो स्थितिमा उहाँहरूले पुर्‍याउनुभयो।

गएका तीन वर्ष पार्टी, पार्टीले दशेलाई अगाडि बढाउनका लागि महत्त्वपूर्ण काम गर्नु पर्थ्यो। महत्त्वपूर्ण कामका लागि, देश बनाउनका लागि, जनतालाई सचेत बनाउनका लागि, जनतालाई संगठित गर्नका लागि, पार्टीले कार्यकर्ता परिचालन गर्नुपर्थ्यो। तर कार्यकर्तालाई अलमलमा राखियो, असंगठित राखियो। कार्यकर्तालाई काम गर्न दिइएन। हाम्रो पार्टीका जस्ता तेजतरार कार्यकर्ताहरू, बलिदानको पृष्ठभूमिबाट आएका कार्यकर्ताहरू, संघर्षको पृष्ठभूमिबाट आएका कार्यकर्ताहरू आज समाजका पछौटेपनहरूलाई हटाएर, अशिक्षालाई हटाएर, समाजलाई सचेत बनाउँदै, संगठित गर्दै, विकास निर्माणको काममा नेतृत्व गर्नुपर्नै कार्यकर्ताहरू हल न चल भएर, काम गर्न नपाएर सिथिलतामा तीन वर्ष खेर फाल्नुपर्‍यो। त्यो तपाईँहरूलाई थाहै छ।

अहिले समस्या कहाँनेरी रहेछ? जाम कहाँ भएको रहेछ? खिया कहाँ लागेको रहेछ? दुइटा नटबोल्ट फेर्दाखेरि गाडी अगाडि गयो। हामीले फेरेको पनि होइन। आफै फुक्लेका नटबोल्ट। खिया लागेको दुईटा नटबोल्ट फुक्लेको थियो, पार्टी गतिसाथ अगाडि गयो।

अहिले उहाँहरू पार्टी फुट्यो भनेर कराइराख्नुभएको छ। निर्वाचन आयोगबाट हिजो मैले एउटा पत्र प्राप्त गरेँ। उहाँहरूले एउटा निवेदन हाल्नुभएको रहेछ, असली हामी हौँ भनेर। यो बरमौजियाको बुढाको पेडा पसल हो? असली र नक्कली। असली बुढो मै हुँ। असली बुढोको पेडा पसल भनेर टाँगेर अहिले पेरिस डाँडामा उहाँहरू १२÷१५ जना पत्रकार सम्मेलन गर्नुभएको छ, असली बुढाको पेडा पसल भनेर। पेडा पसल हो यो? असली, हामी असली हौँ। पार्टी हाम्रो हो, हामी नै असली हौँ, सूर्य चिह्न हामीलाई दिनुहोला। निवेदन हाल्नुभएको छ। निर्वाचन आयोगले हिजो मलाई जानकारी दियो, यस्तो यस्तो निवेदन हालेका छन् भनेर। जसको घर हो ऊ निवेदन हाल्न जान्छ, मेरो घर हो भनेर? जसको जमिन हो, ऊ मेरो जमिन भनेर जान्छ? जसको गाडी हो, उसले यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ? हामीले बनाएको पार्टी हो यो। त्यसकारण हामी निवेदन हाल्न गइरहनुपर्ने अवस्था छैन। हामी विधिसम्मत ढंगले, लोकतान्त्रिक ढंगले, पार्टीको विधानअनुसार, पार्टीको नियमावलीअनु्सार, देशको कानुनअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ। अब भेटनो कुहिएर झरेका दुईवटा फलहरूले रुख नै मै हुँ भनेर दावी गर्ने? हामीले उहाँहरूलाई बैठकमा आउनुस भनेका छौँ। आउनुस बैठकमा। निमन्त्रणा गरेका छौँ।

म कमरेडहरूलाई भन्न चाहन्छु, पुष्पकमल दाहाल प्रचण्डलाई अहिले पनि हामीले अध्यक्षमा राखेका छौँ। माधव नेपाल, झलनाथ खनाललाई वरिष्ठ नेतामा राखिरहेका छौँ। अरू पनि केही साथीहरू आउनुभएको छैन बैठकमा। कारणहरू होला। आउनुहोला। हामी कुनै हतारो गरिरहेका छैनौँ। हामी अहिले पनि सम्झाउन खोजिरहेका छौँ।

पेरिसडाँडामा पत्रकार सम्मेलन चल्दैछ, अहिले। यति गते यहाँ जाने, यति गते यो गर्ने, सर्वदलीय भेला गर्ने। सर्वदलीय भेटघाट, सर्वदलीय बैठक, प्रदेश स्तरीय भेला, अलिअलि यति मान्छे त, यति मान्छे त सिसीमा औषधी बेच्नेले पनि रत्नपाार्कमा जम्मा गर्छ। उहाँहरूको हालत अब त्योभन्दा बढी हुनेछैन। रत्नपार्कमा सिसीमा औषधी बेच्ने, टाउको दुखेको, पेट दुखेको, कम्मर दुखेको, गानो गोला भएको, जुकाम, खासी, पिनास परेको, गलेका खसखस, सबैको औषधि उहाँहरू अब रत्नपार्कमा मान्छे जम्मा। उहाँहरूको हालत त्यही हो। किन उहाँहरूसँग राजनीति छैन? उहाँहरूको एजेन्डा देश होइन। उहाँहरूको एजेन्डा जनता होइन। उहाँहरूको एजेन्डा लोकतन्त्र होइन। उहाँहरूको एजेन्डा संविधान संसोधन होइन। उहाँहरूको एजेन्डा संविधानको रक्षा पनि होइन।

यी सबै भन्ने कुरा हुन्। संविधान संसोधन गरेबापत उहाँहरूलाई कत्रो पीडा छ। नक्सा देशको छापेवापत कत्रो पीडा छ। देशमा विकास हुँदा उहाँहरूलाई कत्रो छटपटठी छ। उहाँहरूको एजेन्डो यो होइनन। उहाँहरूको एजेन्डा, सपना फेरि कत्रो देखेको? अचम्म लाग्छ, कार्की ब्याङ्क्वेटमा जानुभएछ, खानपिन यसो गर्नुभयो होला। केपी ओलीलाई निकाल्दिउँ भनेर घोषणा गर्नुभएछ। केपी ओलीलाई निकाल्देको रे, पार्टीबाट। निकाल्दिएको घोषणा गर्नुभएछ। निर्वाचन आयोगमा पनि पत्र पठाएछन्, केपी ओलीलाई निकालिदियौँ। निर्वाचन आयोजका आयुक्तज्युहरू कति दिन हास्नुभयो, मलाई थाहा छैन। केपी ओलीलाई निकाल्दिएको रे, पार्टीबाट। जसको कटेरो उसको पुच्छर बाहिर भनेजस्तो।

 

हामीले, किन हामीले संसद विघटन गर्नुपर्‍यो? प्रतिनिधिसभामा जति काम गर्न सकिन्थ्यो, प्रतिनिधिसभाबाट, गर्न दिइएन, सबैलाई थाहा छ। सरकारले जति काम गर्न सक्थ्यो, गर्न दिइएन। सरकारले जे काम गरेको थियो, त्यो प्रचारित हुन पाएन। कतिसम्म भनेको तपाईँहरूले सुनिहाल्नुभयो, धरहरा बनाएको केपी ओलीले होइन, इन्जिनियरले हो भन्नुभएछ। इन्जिनियरले धरहरा बनाउँदैन, डकर्मीले बनाउँछ, फेरि मैले सम्झाइदिएँ अस्ती। यो धर्ती बनाउने श्रमजिवी जनता हुन, धरहरा पनि श्रमजिवी जनताले बनाएका हुन्। रानीपोखरी पनि श्रमजिवी जनताले बनाएका हुन्। तर अगुवाई कसैले गरेको हुन्छ। होइन भने सिलान्यास गरेर इटा राखेर, ढुंगा राखेर छोडेको रानीपोखरीको इँटामा लेउ लागिसकेको थियो, फेरि म फर्केर आउँदा। लिडरसिप नभए डकर्मीलेमात्र बनाउन पाउने भए बनाउथे होलान नी। तर लिड त गर्नुपर्‍यो कसैले। म आएपछि त रानीपोखरी बन्यो, यहाँहरूले देख्नुभएको छ। अस्ति धरहराको २२ औँ तलाबाट काठमाडौँ यस्तो देखिन्छ भनेर अखबारमा फोटो मैले हेरेको थिएँ। २२औँ तलाबाट यस्तो देखिन्छ। धरहरा २२औँ तलाबाट खिचेको फोटो पुरानो हो र? पुरानो धरहरा २२ तल्ला थिएन। अहिले धरहरा २२ तल्ला बनिसकेछ। होइन र? २२ तल्ला त बनिनै सकेछ, जहाँ पत्रकार गएर फोटो खिचे, काठमाडौँको। अर्थात् उहाँहरूलाई गरेका काम र भएका काम पनि भयो भन्न नसक्ने, देख्दा छातीको साइज उस्तै छ। चित्त भित्र, मान्छे हेर्दा साइज सानो छैन, तर चित्त? राम्रो काम भयो भन्न पनि नसक्ने, राम्रो कामको प्रचार हुन पाएन। जनताले थाहा पाउन पाएन। यसबीचमा असाधारण प्रगति भएको छ। दुनिया आश्चर्यचकित हुनेगरी ठूलो आर्थिक वृद्धिदर। विश्वका १० वटा देशहरू, जस्ले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल पर्‍यो, १० वटामध्येमा। मानव विकास सूचकांकमा अगाडि बढदै जाने, तिब्रताका साथ अगाडि बढने देशमा नेपाल गनिएको छ। आज विश्वमा नेपाल कहाँ छ? कतिले नेपाल सुनेका थिएनन्, नेपाल कहाँ छ, थाहा थिएन। अहिले नेपाल कहाँ छ भनेर थाहा छ। नेपालको प्रधानमन्त्रीको वाहिर चर्चा पनि हुँदैनथ्यो। अहिले भारतको हरेक मान्छेलाई सोध्नुभयो, नेपालको प्रधानमन्त्री को भन्नुभयो भने हरेकलाई कन्ठै छ।

 

अन्तर्राष्ट्रिय मञ्चहरूमा हामी चिनिन थालेका छौँ, सुनिन थालेका छौँ। हाम्रा दृष्टिकोणहरू सुनिन थालेको छ। हाम्रा दृष्टिकोणहरूको सराहना गर्न थालिएको छ। तपाईँहरूलार्य थाहा छ, भारतका प्रधानमन्त्री मोदीजी आउनुभयो, मोदीजीले समृद्ध नेपाल सुखी नेपालीको तपाईँहरूको राष्ट्रिय आकांक्षा विल्कुल सही छ। यो सफल होस, त्यसका लागि हामी मद्धत गर्छौ भन्नुभयो। भारतका प्रधानमन्त्रीलाई नेपालको राष्टिय आकांक्षा, नेपालले पुग्न खोजेको गन्तब्य थाहा छ। चिनीयाँ राष्ट्रपति आउनुभयो, उहाँले भन्नुभयो, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी पनि मद्दत गर्छौँ। एकदम सही आकांक्षा हो तपाईँहरूको, सही गन्तव्य हो। तर प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरूलाई यो राष्ट्रिय आकांक्षा थाहा भएको कहिल्यै बोलेको सुन्नुभएको छ तपाईँहरूले? यो राष्ट्रिय आकांक्षासँग उहाँहरूको वैरभाव किन? हरेक नेपालीले बोल्नुपर्ने कुरा होइन यो? तर बरु अरूले बोल्लान। उहाँहरू बोल्नुहुन्न।

एउटा भनाइ छ नी ढुंगो बोल्ला ऊ बोलेन भन्ने। ढुंगो बोल्ला उहाँहरू बोल्नुहुन्न। किनभने उहाँहरूलाई चित्त दुख्छ, यसको जस, यसको श्रेय, कसैलाई जान्छ की भनेर। हामी श्रेयका लागि काम गर्दैनौँ। जस पाउनका लागि काम गर्दैनौँ। मलाई जस, श्रेय केही चाहिएको छैन। तर देशमा काम हुनुपर्‍यो। विकास हुनुपर्‍यो। मेरो आकांक्षा त्यो हो। नेपाली जनताले पाइरहेको दुःख अन्त्य हुनुपर्‍यो। नेपाली जनता भोकै, प्यासै बस्नुपर्ने स्थितिको अन्त्य हुनुपर्‍यो। हामी गर्न सक्छौँ। यो एक वर्ष हामीलाई कोभिड–१९ ले दुःख दियो। हाम्रो अर्थतन्त्र, हाम्रा विकासका प्रयासहरूमा, हाम्रा शिक्षाको क्षेत्रमा, हाम्रा स्वास्थ्यको क्षेत्रमा हामीले कठिनाइको सामना गर्नुपर्‍यो।

विकास निर्माणको कामलाई गतिसाथ अगाडि बढाइरहेको ठाउँमा कोभिड–१९ ले हामीलाई अलिकति धक्का दियो। तर हामी फेरि पनि यसलाई नियन्त्रण गर्छौ। मैले भने यसै वर्ष यसलाई नियन्त्रण गरेर हामी अगाडि बढछौँ। हामी अहिले तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ, कम्बोडियाबाट प्लेन चार्टर गरेर सायद आइपुग्योहोला औषधी। कम्बेडियाले प्लेन चार्टर गरेर हामीलाई औषधी सहयोग गर्दैछ। हामीले मागेर होइन, आफ्नै तर्फबाट उहाँहरूले नमागिकन सहयोग गर्दै हुनुहुन्छ। अर्थात हाम्रो अन्तर्राष्टिय मित्रता यस्तो खालको छ। हाम्रो चीनसँग, भारतसँग सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ। तपाईँहरूलाई बताऊँ, तीन दिन अगाडिमात्र हाम्रो ऊर्जा सचिवको नेतृत्वमा एक टोली भारत गयो र त्यहाँ अगाडिदेखि, यसअगावै सम्झौता भएको, शारदा ब्यारेज बनेको। शारदा नहर चलेको १९२८ देखि अथवा ९२ वर्षदेखि चाँदनी दोधाराको सिरानबाट शारदा बगेको थियो। चाँदनी दोधाराले पानी पाएको थिएन। अत्यन्तै विरोध गरिएको सन्धि, एकीकृत महाकाली सन्धि त्यसमा शारदा नहरबाट चाँदनी दोधारालाई पानी दिने सहमति गरिएको थियो। तर अहिलेसम्म कुनै सरकारहरूले त्यो पानी चाहियो भन्ने हिम्मत गरेको थिएनन्।

अब ६ महिनाभित्र शारदा ब्यारेजबाट हेडवर्क बनाउन थालिने र काम अगाडि बढाइने र चाँदनी दोधाराले सिँचाइ पाउने सहमति भएको छ। अब हामी नहर बनाउँछौँ, चलाउँछौँ। विकास निर्माणका लागि हामीले विभिन्न आइपिसी, तपाईँहरूले सुन्नुभएको छ, इन्टिग्रेटेड चेकपोष्टहरू, हामीले वीरगञ्ज, विराटनगर, भैरहवा विभिन्न ठाउँमा चलाएका छौँ। नेपालगञ्जमा पनि चलाईरहेका छौँ। त्यही कुरा हामी चाँदनी दोधारामा पनि चालउनेछौँ। रक्सौलबाट काठमाडौँ रेल आउने कुरा तपाईँहरूले सुन्नुभएको छ। सर्वे भइसकेको छ। केरुङबाट काठमाडौँ रेल आउने कुरा पनि तपाईँहरूले सुन्नुभएको छ। देश सुरुङ मार्गमा प्रवेश गरेको छ। सुरुङ खनिन थालेको छ। अब सुरुङ कस्तो हुन्छ भनेर यसो हेर्न मन लाग्यो भने, पिकनिक जान मन लाग्यो भने, यसो घुम्दै जाउँ न मोटरबाइकमा सुरुङ कस्तो हुन्छ भन्ने लाग्यो भने, थानकोट जानुभए हुन्छ। अब हामी सुरुङ हेर्न विदेश जानुपर्दैन, यही थानकोटमा हेर्न सक्छौँ।

अब टोखा–छहरे, सुरुङमार्ग निर्माण हुनेवाला छ। बेत्रावतीबाट स्याफ्रुबेसीसम्म सुरुङमार्ग निर्माण हुनेवाला छ। यस्ता थुप्रै काम भइरहेका छन्, तराईको सिँचाइका लागि। सुनकोसी–मरिन डाइभर्सन, त्यसको अब ठेक्का लाग्ने स्थितिमा पुगेको छ। टनेल बनाएर पानी लाने, विजुली निकाल्ने। हुलाकी राजमार्गको चर्चा धेरैले गरे, तर बनाउन हामी नै चाहियो। हामीले हुलाकी राजमार्ग बनायौँ। अरूका समयमा तराई डुबानमा पर्‍यो, हामीले वार्ता गरेर डुबान खोल्यौँ। हाइवेबाट तराईका सदरमुकाम जानुपर्‍यो भने २० किलोमिटर, २५ किलोमिटरको बाटो पार गर्न दुई, अढाई घण्टा लाग्थ्यो, बाटो बिग्रिएर। अहिले ढल्केबरबाट जनकपुर जाने साथीहरूलाई बाटो सम्झना होला। पथलैयाबाट वीरगञ्ज जाने साथीहरू, बाटो त सम्झना होला या बुटवलबाट भैरहवा जाने बाटो, साथीहरूलाई सम्झना होला। भैरहवाबाट लुम्बिनी जाने बाटो, तौलिहवा जाने बाटो चार लेनको बन्दैछ, त्यो पनि थाहा होला साथीहरूलाई। सरकारले सिन्को भाचेन भनेर उफ्रिदै हिडने नेताहरू सुदूर पश्चिमका पनि अत्तरियाबाट धनगढी १५ मिनेटको बाटो भयो। ६ लेनको अहिले चौडा। हामी बुटवल नारायणघाट खण्ड हाइवे, ६ लेनको चौडा गर्दैछौँ। पूर्व–पश्चिम राजमार्ग चौडा गर्दैछौँ। मदन भण्डारी राजमार्ग तयार हुँदैछ। हामीले यसबीचमा चार हजार, ४५ सय किलोमिटर डबललेन, फोरलेन, सिक्स लेनका बाटोहरू कालोपत्रे गरेका छौँ। चार सयभन्दा बढी सडक पुलहरू निर्माण गरेका छौँ। भुइचालोले भत्काएका ७ लाखभन्दा बढी घर बनाएर पीडित जनतालाई हस्तान्तरण गरिसकेका छौँ।

तराईमा केपी ओली मधेशविरोधी भनेर हिडनेहरूलाई साथीहरूले सोध्न सक्नुहुन्छ। आँधीहुरी जहिले पनि जान्थ्यो, घरहरू भत्किन्थे, तर केही महिनाभित्र फुसका छाप्राहरू उडाएको थियो चक्रवातले, त्यस ठाउँमा ८६९ पक्की घरहरू बननाएर जनतालाई हस्तान्तरण गर्ने काम यो सरकारले गर्‍यो। केही महिनाभित्रै। फुसका छानाहरू हटाइएको छ, टिनका छाना दिएको छ। गरिब जनतालाई घर बनाएर आवासको व्यवस्था क्रमशः गरिँदै गएको छ। यसवर्ष २० हजारभन्दा बढिलाई हामीले घर हस्तान्तरण गर्‍यौँ। यो मान्छेले नेतृत्व गरिरहन पायो भने त देश त सर्लक्कै परिवर्तन भएर अरूले त फेरि कुरै गर्न नपाउने खालको स्थिति बन्छ की क्या हो भनेर केही मान्छेको मन भतभत पोल्यो। केहीलाई अत्यन्तै छटपटी भयो, छिर्के लाउन खोजे, लड्दैन। अल्झाउन खोजे, अल्झिँदैन। रोक्न खोजे, रोकिदैन। अनि अस्तव्यस्तता सिर्जना गर्ने, गालमुखाल गरेर हिडने, मुख छोडेर हिड्ने, तथानाम भनेर हिड्ने। उनीहरूका जुलुसका नारा सुन्नुभयो होला, कठैबरी। मैले धेरै वर्षअगाडि भनेको थिएँ, ‘गोरु नांगो देख्दा मलाई लाज लाग्दैन।’। उहाँहरू आफैले सामाजिक मर्यादा, सामाजिक प्राणी हुनुको नाताले मानवीय सभ्यता र मर्यादामा ख्याल गरे हुन्थ्यो। देख्नेहरूलाई धेरै लाज भइसक्यो, उहाँहरूका कृत्यहरूले।

खैर देश अगाडि बढिरहेको छ। देश अगाडि बढ्छ। देश अगाडि बढाइनेछ। म अर्को एउटा कुरा भनौँ, प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि जाने सिफारिस मैले किन गर्नुपर्‍यो? किनभने, लोकतन्त्र खतरामा पर्‍यो। संविधान खतरामा पर्‍यो। स्थिरता र स्थायित्व खतरामा पर्‍यो। उहाँहरूको योजना के, जाली समाचारहरू केही पत्रिकाहरूमा, आजको पत्रिकामा पनि जाली समाचार छपाएको छ फ्रन्ट पेजमा। मान्छेहरूलाई भडकाउनका लागि झुठा समाचारहरू, प्रायोजित ढंगले आफूलाई स्थापित हुँ भन्ने दैनिकहरूले छापेका छन्, फ्रन्ट पेजमा। फलानोसँग सल्लाह गरेर विघटन गर्‍या थिएँ, पुनर्स्थापना भयो भने फलानालाई प्रधानमन्त्री बनाउँछु भन्यो। पुनर्स्थापना हुने कुरा आयो कहाँबाट, पुनर्स्थापना कल्ले हुन्छ भन्यो। पुनर्स्थापना हुन्छ भनेर अलिक दिन कार्यकर्ता झुक्याउन उहाँहरूले भन्नुहोला, दुई चार मान्छेलाई झुक्याउन। पुनर्स्थापना हुँदैन। देश चुनावतिर गइसक्यो। निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको छ। सुरक्षा निकायहरू चुनावको तयारी गरिरहेका छन्। राजनीतिक पार्टीहरू चुनावको तयारी गरिरहेका छन्। जनता ताजा जनादेश दिएर यस्ता तत्त्वहरूलाई होइन, स्वच्छ तत्त्वहरूलाई, स्वच्छ व्यक्तिहरूलाई, देशलाई माया गर्नेहरूलाई, छलकपट नगर्नेहरूलाई ताजा जनादेशका साथ एउटा यस्तो सशक्त प्रभावकारी पार्लियामेन्ट बनाउने गरी मतदान गर्न चाहन्छन्। उहाँहरू निक्कै ठूला कुरा गरेर हिडिरहनुभएको छ। प्रत्यक्षमा १६५ सिट आउँछ। म अहिले धेरै नभनौँ, धेरै भन्दा झन धेरै हच्किने खतरा हुन्छ, तर्सिने खतरा हुन्छ। ठिकै मात्रै भन्दै छु। म अहिले थोरै थोरै। कमसेकम दुईटा अंक भएको सिट, दुई वटा अंकसम्मको सिट ल्याएर देखाउनुस। दुईवटा अंक। तर त्यस स्थितिमा उहाँहरू पुग्नुहुन्न। उहाँहरू फर्किनुहुन्छ। उहाँहरूले छनक पाइसक्नुभएको छ। त्यसकारण उहाँहरूलाई ठाउँ राख्या छौँ हामीले। केन्द्रिय कमिटीमा उहाँहरूको ठाउँ छँदैछ, जस्ताको तस्तै। यत्ति हो अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइदैन। अब फर्किँदा उहाँहरूलाई थान्कोमा राखिनेछ। थान्कोमा बस्नुपर्छ। पार्टीझै काम गर्नुपर्छ। पार्टीको नेताझै बोल्नुपर्छ। पार्टीको कार्यकर्ता झै बोल्नुपर्छ। अनेकता र गुटबन्दी गर्न पाइँदैन।

त्यसकारण अब गुटबन्दीलाई हामीले बिदा गर्‍यौँ। व्यक्ति फर्किए पनि प्रवृत्ति फर्किन दिइनेछैन। व्यक्ति फर्किए पनि अब गुटबन्दी फर्किन दिइने छैन। देश अप्ठेरोमा पर्‍यो। देश संकटतिर लान चाहनुभयो उहाँहरूले। दलभित्रैबाट, दलको नेतालाई थाहा छैन, प्रथम अध्यक्षलाई थाहा छैन, प्रधानमन्त्रीलाई थाहा छैन, हस्ताक्षर बोकेर कहिले राष्ट्रपतिकहाँ पुग्या छ, कहिले कतातिर पुग्याछन्, हस्ताक्षर बोकेर। थैलोमा हस्ताक्षरको प्रति लिएर, कागज लिएर कुदेका छन्। केन्द्रिय कमिटीको बैठक बोलाउनुपर्‍यो कामरेडहरू सही गर्नुस भनेर। केन्द्रिय कमिटीको बैठक बोलाउन सही गर्नुपर्छ? बोलाइहालिन्छ नी केन्द्रिय कमिटीको बैठक। त्यस बहानामा सही गर्न लगाउनुभयो। अनि उहाँहरूले पेश गर्न चाहिँ अविश्वासको प्रस्ताबका लागि, पेश गर्दा चाहिँ विशेष अधिवेशन बोलाउनका लागि भनेर पेश गर्नुभयो। जुन कुरा झुठो हो। सांसदहरूलाई त्यसरी सही गराउनु भएको थिएन उहाँहरूले।

 

उहाँहरू भनिरहनुभएको छ, दाबी गरिरहनुभएको छ, हामीतिर बहुमत छ। पर्खाैं न त बैशाख १७ गते र २७ गते। हेरौँ बहुमत कतातिर रहेछ? बहुमत हेरौँ, कस्ले कस्लाई निकालेछ? को चाहिँ पार्टीबाट निस्केछ? वैशाख १७ र २७ गते हेरौँ न।

म हाम्रा युवाहरूलाई आग्रह गर्न चाहन्छु, हाम्रा नव युवाहरूलाई आग्रह गर्न चाहन्छु, ‘तपाईँंहरूले धेरै बाच्नु छ, यो देश बिग्रिन दिनुहुँदैन।’ यो देश केही मान्छेहरूका गलत प्रचार, गलत उद्देश्यका प्रचारहरूमा यो देशलाई जान दिनुहुँदैंन, अल्मलिन दिनु हुँदैन। र हाम्रा युवाहरू अलमलमा पर्नु हुँदैंन। युवाहरू अब देशलाई जोगाउने कुरामा, सही विचार बोकेर, सही ढंगले मन मष्तिस्कमा देशलाई राखेर अगाडि बढन्पर्छ।

अहिले हाम्रा केही मित्रहरूले, देशमा अस्थिरता, अनुसाशनहिनता, अराजकता, पार्टीभित्र तपाईँंहरू विचार गर्नुस त, प्रथम अध्यक्षकाविरुद्ध, प्रधानमन्त्रीकाविरुद्ध के बोलेर हिड्नुभएको थियो उहाँहरू यो तीन वर्ष। पार्टीको पक्षमा बोल्नुभयो? सरकारको पक्षमा बोल्नुभयो? राम्रा कामको पक्षमा बोल्नुभयो? बोल्नुभएन। अराजकता, अनुसाशनहिनता, अघि कमरेड बादलले भन्नुभएजस्तै ‘उहाँहरू प्रतिगमनकारी कृयाकलाप गरिरहनुभएको थियो र प्रतिगमनतर्फको यात्रा गरिरहनुभएको थियो र खास प्रतिगमनको तयारी गरिरहनुभएको थियो।’ हामीले प्रतिगमन रोक्नु थियो। त्यसलाई ब्रेक लगाउनुथियो। आन्दोदलनलाई भिरबाट तल खसाल्न खोज्नुभएको थियो उहाँहरूले। त्यसलाई रोक्नु थियो, हामीले स्टेरिङ सोझ्याउनु थियो। हामीले स्टेरिङ सोझयायौँ। अरू केही होइन।

उहाँहरूले दुईतिहाइ लगभग भएको पार्टी फुटाउने, दुईतिहाई लगभग भएको पार्टी तोड्ने अनि विभिन्न तत्त्वहरूसँग भित्री साँठगाठ गरेर जोडजाम गरेको पुतली सरकार बनाउने। जोडजामको टाला जोडेको पुतली सरकार। आफ्नो दुईतिहाईको, लगभग दुईतिहाईको सरकार ढाल्ने, पार्टीको एकता भताभुंग पार्ने, अनि विभिन्न रंगीविरंगी तत्त्वहरू जोडेर सरकार बनाउने, अनि हर्स ट्रेडिङ, हर्स ट्रेडिङको खेल सुरु गर्ने, सधै अस्थिरता, सधै सरकार बनाउने र ढाल्नेको चक्रब्युहमा देशलाई फसाउने, जनतालाई निराश पार्ने, विकासलाई अवरोध गर्ने, यही उहाँहरूका प्रयासहरू हुन। ती प्रयासहरूलाई रोक्नका लागि, त्यता देशलाई जान नदिनका लागि, हर्स ट्रेडिङको राजनीति फेरि फर्किन नदिनका निम्ती, देशमा जनताको इच्छाअन्ुसारको सरकार, जनताको इच्छाअनुसारको काम गर्ने सरकार, देशलाई माया गर्ने सरकार, अरूबाट सञ्चालित होइन, आफै, आफ्नो देशका लागि आफै सञ्चालित हुने सरकार। जनताको इच्छाअनुसार, जनताको आदेशअनुसार, जनताको मनोभावनाअनुसार, राष्ट्रिय हितलाई केन्द्रभागमा राखेर चल्ने सरकार, त्यो चाहिएको हुनाले, जनताले कतिपय ठाँउमा संविधान संसोधनको माग गरिरहेका छन्। तर संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्ताबहरू प्रस्तुत हुँदैन। सभामुखका कारण। तीनवटा अधिवेशन भए। तीनवटा अधिवेशनअघि सरकारले राखेका प्रस्ताब निर्णयार्थ प्रस्तुत हुँदैन।

तीन वर्ष अगाडि देखि राखेका, प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ, अल्झाइदिएको छ। समितिबाट अगाडि बढ्दैन। किनभने सरकारलाई असफल देखाउन। त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि, लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि, अस्वस्थ षड्यन्त्रको चक्रव्यूहमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको हो।

म साथीहरूलाई आग्रह गर्न चाहन्छु, प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ कि, कतिपयले कुप्रचारहरूको भ्रममा परेर वा असरमा परेर आशंका गरिरहनुभएको देखिन्छ। दुईतिहाई, झण्डै ६३÷६४ प्रतिशतको प्रतिनिधित्व सर्वसम्मतिले गरेको प्रधानमन्त्री म, दलको नेता म, ६४ प्रतिशतको दलको नेताले म सरकार चलाउन्न, ताजा जनादेश चाहियो भनेपछि कहाँ विकल्प छ र पठाउने? पुनस्थापना गरेर कहाँ पठाउने फेरि? म चलाउन्न भन्दै छु, जो दलको नेता हुँ। जोसँग लगभग दुईतिहाई छ, उल्ले ताजा जनादेश चाहियो भन्दै छ। अनि अरूले घरवाला भन्दै छ, छानो चुहियो अर्कौ बनाउछु भनेर। छानो भत्कायो, पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ बा! हुन्छ कहीँ त्यो? पुरानो भयो छानो। चुहियो। चुहिएको छानोले खाट कता सार्ने, सिरक कता बोकेर कुद्ने? त्यसकारण चुहिएको छानोले भएन, नयाँ छानो चाहियो। छानो भत्काइयो, नयाँ हालिदैछ। पुरानै छानो फर्किन्छ, पुरानै खरका टुक्रा खोज्न जाउँ, हुने कुरा होइनन् यो। अर्को कुनै विकल्प छैन। प्रधानमन्त्रीले विघटन गर्ने संविधानमा कतै उल्लेख छैन भन्या छ। धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि मिति तोक्नेछ भन्ने उल्लेख छ। अनि किन छैन? उहाँहरूको भनाइ होला, कसैले भन्ला, धेरै वटा पार्टी मिलाएर सरकार बनाउने। जति वटा पार्टी मिलाए पनि बाँकी रहेको ३६ प्रतिशत होइन? ३६ प्रतिशतले बन्छ सरकार? सरकार बन्ने ठाउँ नै छैन। त्यो माथीतिरका विकल्पहरूमा।

पहिलो यो सरकार ७६(२) अनुसार बन्यो। त्यसपछि यो सरकार ७६(१) को सरकार बन्यो। एकिकरण भएपछि। पहिले गठबन्धनको सरकार बनेको थियो। त्यसपछि एकल पार्टीको बहुमतको सरकार बन्यो। पहिला संविधानको धारा ७६ को २ अनुसार बनेको थियो। पछि एकीकृत भएपछि १ अनुसार बन्यो। १ अनुसार बहुमतको सरकारले विघटनको सिफारिस गरिसकेपछि, उसले चलाउन्न यो सरकार, यो प्रतिनिधिसभा भएन, यसबाट देशलाई अगाढि बढाउन सकिन्न। राष्ट्रको बाँकी अवधि डेढ वर्ष होला, दुई वर्ष होला, त्यो बाँकी अवधि खेर फाल्नु हुँदैन। त्यसकारण बाँकी अवधि खेर फाल्न नदिनका लागि झमेलायुक्त स्थिति अन्त्य गर्नका लागि, काम गर्नै नसक्ने, नपाउने व्यवधानयुक्त अवरोधयुक्त अवस्थालाई अन्त्य गर्नका लागि हामीलाई नयाँ ताजा जनादेश चाहियो। त्यसकारण यो फर्किने सम्भावना छैन। मुद्दा लड्न त पाइयो। मुद्दा त मान्छेले लडलान्। मुद्दा लड्नु एउटा कुरा हो। तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर यस विघटनको सिफारिस गरिएको हो। यही कुरा केही दिनअघि, केही महिनाअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अटेरी गर्ने २१ जना सांसदलाई बर्खास्त गरेका थिए। त्यसपछि संसद विघटन गरेका थिए। र नयाँ जनादेशमा गएका थिए। अत्याधिक बहुमत ल्याएर फेरि प्रधानमन्त्री भए। म साथीहरूलाई भन्न चाहन्छु। यस्ता दृष्टान्त थुप्रो छन्। इजरायलमा पनि अहिले संसद विघटित अवस्थामा छ। यो संसद, प्रतिनिधिसमा प्रधानमन्त्रीले विघटन गर्न सक्छ। संसदीय व्यवस्था भएका देशहरूको यो स्वभाविक अभ्यास हो। त्यसकारण म साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्न चाहन्छु।

साथीहरूले सुन्नुभएको होला। हल्ला सुन्नुभएको होला, ‘हाम्रै हो, हाम्रै हो, सूर्य चिह्न पनि, पार्टी पनि’ यताउता। धनगढीमा पार्टीका खातामा कार्यकर्ताहरूले दुःख गरेर ३० लाख जम्मा गरेका रहेछन्। एउटा मान्छे गएर छलछाम, तिकडम, जालझेल गरेर त्यो ३० लाख अस्तिनै चट बनाइदिइसकेछ। यिनीहरूको ध्यान कहाँ छ भने, बैंकमा राखेको पैसामा छ। कार्यकर्ताले पसिनाका थोपा थोपा बगाएर बनाएको पार्टी कार्यालयमा छ। कार्यकर्ताले बडो मुस्किलले पैसा जोडेर, कसैले ‘डोनेसन’ गरेर किनेको वा ‘डोनेसन’ गरेर दिएको जमिनमा छ। कस्को ध्यान कहाँ, कस्को ध्यान कहाँ। कस्को धन्दा के, कस्को धन्दा के? हामी यतातिर धेरै जान चाहन्नौँ। हाम्रो पार्टी, मैले त हिजो थाहा पाएँ, ‘हामी पो पार्टी हौँ। हामी पो खास पार्टी हौँ’ भनेर मैले अघि भने नी बरमौजियाको बुढाको असली बुढाको पेडा पसल भनेजस्तो। असली पार्टी त हामी हौँ भनेर असलीवालाहरू।

एक पल्ट चार्ली च्याप्लिनको क्यारिकेचर गर्ने कम्पिटिसन भएछ। कल्ले क्यारिकेचर गर्ने सबभन्दा राम्ररी चार्ली च्याप्लिनको भनेर? त्यहाँ केही प्रतिस्पर्धीहरू भए, जसमध्ये चार वटा चाहिँ फाइनल राउन्डमा गए। फाइनल राउन्डमा जाँदा चार्ली च्याप्लिन चाहिँ परेनछ। चार्ली च्याप्लिनले पनि भाग लिएको थियो। ऊ चाहिँ चार्ली च्याप्लिन जस्तो ठहरिएन, अर्को चाहिँ ठहरियो। हाम्रो अदालत चार्ली च्याप्लिन कुन चाहिँ हो भनेर छुट्याउन नसक्ने अवस्थामा छैन। जुँगा हेरेर चिन्छ। जेल लगाएको कपाल हेरेर चिन्छ। अनुहार हेरेर चिन्छ। अनेक हिसावले चिन्छ। कुम हल्लाएकोबाट चिन्छ। अनेक हिसावले चिनिहाल्छ नी। चार्ली च्याप्लिन चिन्नमा हाम्रो अदालतले गल्ती गर्दैन। हाम्रो निर्वाचन आयोगले गल्ती गर्दैृन। हाम्रा न्याय निरूपण गर्ने निकायहरूले गल्ती गर्दैनन्। इतिहास सबैलाई थाहा छ, त्यसकारण साथीहरू ढुक्क रहनुुुहोस। सूर्य चिह्न हामीसँग हुन्छ। पार्टी हाम्रो हो। उहाँहरूले बहुमत छ भन्नुभएछ। गफै त हो सम्धी भन्छन्, यस्तोलाई। बहुमत छ! कहाँबाट आयो बहुमत उहाँहरूसँग? कहाँ पुष्टी भयो? कुन महाधिवेसनले भन्यो, उहाँहरूसँग बहुमत छ? कुन महाधिवेसनले? कुन अधिवेसनले भन्यो? कहाँ छ बहुमत? कुनै एउटा जिल्लामा बहुमत ल्याएर, एउटा निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुस त।

बहुमत छ! दाबी पनि कस्तो बहुमत छ। रेस्लिङ खेलमा कहिले कहिले देखिन्छ। त्यो रेस्लरहरूले लड्नु ओर्नु कता हो कता, त्यो हुन्छ नी लाउने (बेल्ट), त्यो चाहिँ खोसेर लिएर लगाइहाल्छन्। अनि जब रेस्लिङको कोर्टमा जान्छ, अर्काले मुक्का दिएपछि रिङबाट आउट हुन्छ। उहाँहरूको त्यस्तै हो, पहिले नै माला लाउन थाल्नुभएछ। बहुमत छ! कहाँ पुष्टी गर्नुभयो बहुमत? कहाँबाट आयो बहुमत? कस्ले दियो बहुमत? कुन कार्यकर्ताले? तपाईँहरूले भोट हाल्नुभयो? तपाईँहरू गल्ती गरेर पनि भोट हाल्नुहुन्छ त्यस्तालाई? बहुमत! कहाँबाट आयो? कस्ले भन्दियो? घरमा भने?

खैर, म साथीहरूलाई एकदम ढुक्क रहन आग्रह गर्दछु। यो २१औँ शताव्दीको २१औँ वर्ष। मैले सुरुमै भने यस देशका लागि, यो विश्वका लागि पनि एउटा उल्लेख्य ढंगले असाधारण र ऐतिहासिक वर्ष हुनेछ।

 

हामी अब चुनावको अभियानमा जुटौँ। हाम्रा कमिटीहरू चुस्त दुरुस्त बनाउँ। धुलो लागेको छ भने त्यसलाई झटकार, फटकार गरौँ, अगाडि बढौँ। आँधी तुफान भएर अगाडि बढौँ। बाढी झै अगाडि बढौँ। त्यसपछि यस्ता गफहरू आँधीले बगाएर लान्छ। बाढीले बगाएर लान्छ। यी गफहरूका पछाडी हामीलाई अल्झनु छैन। त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु्, तपाईँहरू दृढताका साथ अगाडि बढ्नुुस।

कहिले कहिले कस्तो हुन्छ भने, एउटा चोर घरभित्र पसेछ। अध्यारोमा भाँडा ट्याङ्¥याङग ठोक्किएछ। भाँडा ठोक्किएपछि घरवालाले चोर आयो की क्या हो भनेछ। चोरले म्याउ गरेछ। घरवालाले ऊ विरालो पो रहेछ भन्योे। एकछिनपछि फेरि यसो चल्नेवित्तिकै अध्यारो थियो, फेरि भाडा त ट्याङ¥याङ्ग ठोक्किने मात्र होइन। गल्र्यामगुर्लुम्म भए पछि उठेर हेर्दा त केको विरालो हुनु। म्याउ त गर्दै थियो। तर घरवालाले टर्च बालेर यसो हेर्दा त ढाडे! अव त्यसको गति के भयो होला, तपाईँहरू आफै विचार गर्नुस।

खैर, एकछिन अल्मल्याउन खोज्छन्, एकछिन झुक्याउन खोज्छन्। अध्यारामा भेट्टाए भने म्याउ गरेर उम्किन खोज्छन्। तर म्याउ स्याउ जे गरे पनि यसपटक उम्किन दिने होइन। ठेगान लाउनुपर्छ। ठेगान लाउने मैदान चुनाव हो। हामीले हाम्रा देशवासी दाजुभाई, दिदीबहिनीलाई यस्ता परिवारका लागि, पदका लागि पैसाका लागि मरिमेट्ने तत्त्वबाट देश जोगाउनका लागि सचेत गराउनुपर्छ। आग्रह गर्नुपर्छ। पदका लागि मरिमेट्नेहरूका लागि देश बलिदान दिन सकिदैन। यो आन्दोलन ध्वस्त पार्ने, केका लागि? आन्दोलन हाक्ने पार्टी ध्वस्त पार्ने के का लागि? अघि नै साथीहरूले भन्नुभयो, पद चाहियो। पद पनि कुन चाहियो, चुनावमा जुन पद हार्‍यो, त्यही। मैलै दुईटा केटाकेटी देख्या थिएँ। एउटा केटाकेटीले एउटा राम्रो गुडिया बोकेर आयो। अर्को बच्चाले हेर्‍यो, त्यो गुडियातिर। कति राम्रो रहेछ हगि तिम्रो खेलौना। एकछिन मलाई सुम्सुम्याउन देउ न, हेर्न देउ न भन्यो। उसले सोझो हिसावले दियो। दुईटै मिलेर एकछिन खेलेपछि उसैले लियो। एकछिनपछि यो त मेरै हो भन्यो। कस्तो प्रचण्डको डुब्लिकेट रहेछ! बच्चैदेखि! अहिले त एकता के गरिएको थियो, एकछिन खेलाउन के दिया थियो, कार्यकारी के यसो दिया थिएँ, सबै मेरो पो भन्न थाले।

 

खैर साथीहरू, आत्मविश्वासका साथ अगाडि बढ्नुस्। एकताबद्ध भएर अगाडि बढनुस्। यतिबेला आपसी मनमुटाब, मतभेद आदि इत्यादी कुराहरूमा अल्मलिने होइन। देशलाई ध्यानमा राख्नुस। हाम्रो मन मष्तिस्कमा देश हुनुपर्छ। यतिबेला। जनता हुनुपर्दछ। विकास हुनुपर्दछ। उन्नति हुनुपर्दछ। प्रगति हुनुपर्दछ। जनताका कठिनाइ हटाउने महान् पवित्र उदेश्य हाम्रो मनमा हुनुपर्दछ। त्यो पूरा गर्नका लागि, संवृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि अगाडि बढने हाम्रो एकमात्र ध्येय हुनुपर्दछ। त्यसका लागि हामी एउटा आन्दोलन हौँ। एउटा मेनस्ट्रिम हौँ, आन्दोलनको। यो आन्दोलन जोगाउने यो पार्टी हो। यो पार्टी जोगाउने हाम्रा सही विचारहरू हुन्। सही विचारका साथ हामी अगाढि बढ्छौँ। त्यसकारण अलमलमा नपरेर, अलमलबाट साथीहरूलाई मुक्त पारेर, उनीहरूले अलमलमा पारेका, त्यस्ता साथीहरूलाई अलमलबाट मुक्त गरेर, भ्रमबाट मुक्त गरेर फर्काउँ। अरू, साथीहरूमा दोष छैन, खोट छैन। कमजोरी छ। सोझा छन्, अल्मलिन्छन्। एकछिन जादुगरले त एउटा चिजलाई अर्को देखाउँछ, अर्को चिजलाई अर्को देखाउँछ। एकछिनमा रुमाल देखाउँछ। एकछिनमा अण्डा देखाउँछ। ति चिज सत्य होइनन्। रुमाल अण्डा हुने होइन, अण्डा रुमाल हुन होइन। यस्तै चटके काम गर्छन, यिनीहरू। हाम्रा साथीहरूलाई, हाम्रा कमरेडहरूलाई, अहिलेसम्म जो अल्मलिएका छन्, म उहाँहरूलाई आग्रह गर्न चाहन्छु, फर्किनुस्, अलमलमा नपर्नुस्। चटकेहरूको फेला नपर्नुस्। देश बनाउने महान् अभियानमा लाग्नुस। साथै देशै एकजुट भएर हिडन सक्छ भने, यस पार्टीमा देशै अटाउन सक्छ भने तपाईँहरू दुईजना अटाउन नसक्ने के हो त्यो?

त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, अहिले म भन्दिन चाहन्छु। अब मैसँग अध्यक्ष हार्नुभएको थियो। अध्यक्ष नभई भएन। हाताहाती चाहिएको। अहिले दोस्रो अध्यक्ष लिनुभएछ र हाताहाती। कत्रो भ्रम हो, तै पनि उहाँमा सन्तुष्टी देखिन्छ, कठैबरी! माया लाग्छ उहाँहरूको। के छ उहाँहरूको उद्देश्य? उहाँहरूको उद्देश्य देश बनाउने होइन। यस्ता कुराहरूमा अल्झिनुभएको छ उहाँहरू। इतिहासले के भन्छ?

हामी आफ्ना जिम्मेवारीबाट, जिम्मेवारी वहन गरिरहेका छौँ की जिम्मेवारीबाट कोशौँ टाढा पुगिसक्यौँ? हामी देशको अभिभारा बोकेर हिडिरहेका छौँ की स्वार्थका पछाढि कुदिरहेका छौँ? साथीहरूलाई म सम्झिनका लागि आफै विचार गर्नका लागि अलिकती अनुरोध गर्छु। विचार गर्नुस। विचार गर्नुहुन्न भने, लड्नेलाई काँध हाल्न सकिँदैन। कुनै पनि साथीहरूले, कार्यकर्ताले काध हाल्नु हुँदैन।

खैर, अब धेरै समय नलिऊँ। साथीहरू उत्साहका साथ, आत्मविश्वासका साथ अगाडि बढ्नुस्। पचास वर्षअगाडि पार्टी टुक्राटुक्रामा थियो, आन्दोलन टुक्राटुक्रामा थियो। लोकतान्त्रिक आन्दोलनको ढाड भाँचिएको थियो। प्रगतिशिल आन्दोलनको, बामपन्थी आन्दोलनको ढाड भाँचिएको थियो। र ति टुक्राटुक्रामा थिए। त्यस्तो बेलामा निरंकुश राजतन्त्र, निर्दलीय पञ्चायती तानाशाही व्यवस्था थियो। त्यस्तो अवस्थामा आन्दोलन हामीले सुरु गरेका थियौँ। हाम्रो आन्दोलनका दुईटा पक्ष थिए। एउटा लोकतान्त्रिक गणतन्त्र, अर्थात निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्था अन्त्य गर्ने तथा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने।

लोकतान्त्रिक गणतन्त्रको उदेश्य हाम्रो थियो। त्यसका निम्ति आन्दोलन लोकतान्त्रिक आन्दोदन, बामपन्थी आन्दोलन अत्यन्तै सशक्त र मजबुत चाहिन्छ। प्रभावकारी चाहिन्छ। राष्टव्यापी चाहिन्छ। त्यस्तो आन्दोलनको निर्माण, त्यसका लागि कम्युनिष्ट पार्टी सशक्त चाहिन्छ। विचारमा सुस्पष्ट र सुद्धढ संगठन भएको पार्टी चाहिन्छ। त्यो कुरा हामीले गर्न थालेका थियों। त्यस ठाँउबाट थालेर, नयाँ पार्टी निर्माण गरेर यस ठाँउसम्म ल्याइपुर्‍याइएको छ। हामी पछाडी फर्किने होइन। हाम्रो गति यही रोकिने होइन। हामी अगाडि बढदै जान्छौँ। हाम्रो अभियान, हाम्रो आन्दोलन आधा शताव्दीमा हामीले यहाँ ल्याइपुर्‍याएका छौँ। यति सशक्त आन्दोलन, हिजो त हामी हिम्मत हारेका थिएनौँ। जेलका चिसा सिँढीहरूमा, कालकोठरीका सिँढीहरूमा हामी हारेका थिएनौँ। हाम्रो हिम्मत हारेको थिएन। एक्लै हुँदा पनि हाम्रो महान् उद्देश्यका कारणले भोली हामी सयौँ, हजारौँ, लाखौँ हुन सक्छौँ भन्ने विश्वास गथ्र्यौ। आज त हामीसँग यत्रो मजबुत पार्टी छ। सही विचार बोकेको पार्टी छ। गन्तब्यतर्फ अगाडि बढेको पार्टी छ। यस्तो पार्टी भएपछि हामी, म साथीहरूलाई भन्न चाहन्छु, मुनामदनमा मदनले भनेजस्तो, ‘तिमीले हासे म हाँक्न सक्छु’ भन्याथिए नी उनले। म साथीहरूलाई भन्न सक्छु, तपाईँहरू एकजुट भएर गतिसिल ढंगले अगाडि बढनुस। यस पार्टीको शीर्ष स्थानमा म छु। मैले आन्दोलनलाई तलमाथि पर्न दिन्न। सही दिशामा हाकेर लिएर जान्छु तपाईँहरू ढुक्क हुनुस।

हामी आफ्नै जीवनमा राजतन्त्रसँग, ज्युदो राजतन्त्र, बलियो राजतन्त्र थियो, त्यतिबेला। हामीले खाली हात पञ्जा लडाएर ढालिदिएका थियौँ। केही नभएका हातहरूले सशस्त्र हातहरूलाई ढाल्दिएको थियो। राजतन्त्र हामीले फालेका हौँ। गणतन्त्र हामीले ल्याएका हौँ। लोकतन्त्र हामीले ल्याएका हौँ। तानाशाही हामीले फालेका हौँ। अन्धविश्वास र पछौटेपनलाई पराजित गर्दै हामीले अगाडि बढाएका हौँ। जातजात, भाषाभाषा, क्षेत्रक्षेत्र, भुगोलभुगोलमा बाँडेर पहिचानका नाममा नेपाली जनतालाई लडाउन, भिडाउन खोज्ने र नेपालको भविश्य ध्वस्त पार्न खोज्ने, नेपाललाई रुवान्डा बनाउन खोज्ने, त्यस्ता अभ्यासहरूलाई हामीले ध्वस्त पारेर राष्ट्रिय एकता जोगाएका हौँ।

हामीले अनौठो, असाधारण भोकै बसेर पनि नाकाबन्दीको सामना गरेका हौँ। तर घुँडा टेकेका होइनौँ। अहिले हामीले हाम्रो देशको भुभाग समेटेर नक्सा बनाएका छौँ। त्यो नक्सा संविधानमा सामेल गरेर संविधान समेत संसोधन गरेका छौँ। त्यो नक्सामा भएको हाम्रो जमिन विधिवत ढंगले हामी फिर्ता ल्याउँछौँ। त्यसकारण साथीहरूलाई म आग्रह गर्न चाहन्छु, पार्टी लिडरसिपको पंक्ति ठिक छ। त्यसलाई अग्रस्थानमा बसेर मैले नेतृत्व गरिरहेको छु। र मेरो अरू कुनै स्वार्थ छैन। मैले केही लिनु छैन। मैले सुन्दर देश बनाउनुछ। नयाँ पिढीलाई, नयाँ पुस्तालाई सुन्दर देश, सुन्दर पार्टी, सुन्दर आन्दोलन, सुन्दर व्यवस्था, सुन्दर प्रणाली, सुन्दर ढंगले चलेको लोकतन्त्र र एउटा विकसित सभ्य समाज निर्माण गरेर उहाँहरूलाई जिम्मा लगाउनुछ।

अरू केही मेरो स्वार्थ छैन। गरिवी हटाउनुछ, यस देशबाट। त्यसकारण यो अभियान एक्लैको अभियान होइन, हामी सबैको अभियान हो। यस अभियानमा जुटौँ, म साथीहरूलाई आग्रह गर्न चाहन्छु। फेरि एकपल्ट सबैमा नयाँ वर्ष २०२१ इश्वी सनको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ टुङग्याउँछु।

धन्यवाद। स्रोत – देखापढी डटकम

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार, ,  १० : २१ बजे

प्रतिक्रिया दिनुहोस्