हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।  जिल्लाको बागचौर नगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीको नियमन नभएको देखिएको छ । नियमनमा नआउने मात्रै नभइ धेरैजसो सहकारी नगरको सम्पर्कमा समेत नरहेको नगरपालिकाले जनाएको छ ।

बागचौर नगरपालिका अन्तर्गतको सहकारी संस्था हेर्ने शाखाका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या अत्याधिक रहेको छ । नगरपालिका को सहकारी शाखा प्रमुख हेमन्त  बस्नेत का अनुसार बागचौर नगरपालिमा मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म दर्ता भएको सहकारीको सङ्ख्या कुल ३३ रहेको छ ।

जसमध्ये हालसम्म १८ सहकारी त सम्पर्कमा आएका छैनन् । नगरपालिकाको उपप्रमुख सुम्निमा डिसीले सहकारीलाई नियमन गर्न केन्द्रीय निति र स्थानीय तहले निर्माण गरेको कानुन अनुसार आफुहरु अब ढिला नगरि सहकारीको नियमन गर्नतर्फ लाग्ने बताउनु भयो । नगर उपप्रमुख डिसिका अनुसार २०७४ अघिका सहकारी २६ र त्यसपछी यहि नगरमा दर्ता भएका नयाँ ७ वटा गरि बागचौर नगरपालिका मा जम्मा ३३ सहकारी रहेको जानकारी दिनुभयो।

सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र आफ्नो सहकारीको कार्यक्षेत्र रहेको सम्बन्धित स्थानीय तहको सहकारी शाखामा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नुपर्छ । तर,बागचौर का धेरैजसो सहकारी संस्था ले अघिल्लो आर्थिक वर्षकै विवरण समेत अद्यावधिक नगरेको पाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को विवरणसहित अद्यावधिक गर्ने अन्तिम मिति पुस मसान्त आउन एक साता मात्रै बाँकी रहँदा यो समाचार तयार पार्दासम्म नगरपालिकामा कार्यक्षेत्र भएका ३३ सहकारी मध्ये जम्मा ४ वटाले मात्रै अद्यावधिक गर्न आएको बागचौर नगरपालिकाको सहकारी हेर्ने शाखा प्रमुख हेमन्त बस्नेतले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

जिल्लाको दोस्रो ठुलो स्थानीय तहमा समेत यो किसिमको ब्यथिति देखिनुले सल्यानका अधिकांश सहकारी संस्था बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेर समस्या ग्रस्त अबस्थामा पुगेको देखिन्छ । सल्यानको बागचौर नगर भित्र कार्यक्षेत्र भएका धेरै सहकारी को कार्यालय नै नरहेको र सिमित ब्यक्तिको झोला लाई कार्यालय बनाएको आफुले प्रत्येक्ष देखेको स्थानीयहरुको भनाइ रहेको छ।

सहकारी क्षेत्रका जानकारहरुको भनाइ अनुसार सहकारीले निक्षेप फिर्ता नगर्दा र हिसाब किताब को कुनै डाटा नराख्दा सल्यान बागचौर नगर भित्र थुप्रै बचतकर्ताको लाखौं रकम उच्च जोखिममा परेको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार, ,  ११ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्