हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानकाे श्रीनगर बसपार्क क्षेत्रकाे ऐलाली जग्गामा बनाइएका घर टहरा भत्काउन शारदा नगरपालिकाले दिएकाे ३५ दिने अन्तिम अल्टिमेटम सकिएसंगै आज बिहानैबाट बस्तीमा बनेका अस्थायी घर टहरामा डोजर चलाइएको छ।

गत मंसिर २६ गते नगरपालिकाले बसपार्क क्षेत्रमा ऐलानी जग्गामा भएका घर टहराहरु हटाउन ३५ दिने सुचना जारी गरेको थियाे ।आजको दिनसम्म अटेरी गरेर बसपार्क क्षेत्रमा रहेका आफ्ना घर टहरा धेरैजसोले नहटाएकोले आफु बाध्य भएर डोजर लिएर बस्तीमा आएको शारदा नगरपालिका सल्यानका नगर प्रमुख प्रकाश भण्डारीले सल्यानन्युजलाई बताउनु भयो  । उहाँले भन्नुभयो,’ नगरले दिएको अन्तिम अल्टिमेट सकिदा पनि ऐलानी जग्गामा भएका घरटहरा हटाउन स्थानियले आनाकारी गर्नुभयो,हामी बाध्य भएर अहिले अस्थायी संरचना भत्काउन लागेका छौँ ।’

सुकुम्बासी बस्तीमा मेयर प्रकाश भण्डारी सहितको टोली । तस्वीर सौजन्य:सचिवालय

नगर प्रमुख प्रकाश भण्डारीले आधुनिक बसपार्क निर्माणका लागि बसपार्क क्षेत्रमा भएका अस्थायी घर टहरा भत्काएको र यो कार्य सकिने बित्तिकै नयाँ बसपार्क निर्माणको कामको थालनी गरिने  बताउनु भयो । विगतमा बसपार्क निर्माणको लागि संघ तथा प्रदेशबाट आएको बजेट तीन पटक फ्रिज भएको र अहिले नगरपालिकाले आफ्नै स्रोतबाट एक करोड खर्च विनियोजन गरेको बताउनुभयो । अब थप वजेटका लागि डिपिआर सहित प्रदेश र केन्द्र सरकारसँग माग गर्ने  नगर प्रमुख प्रकाश भण्डारीको भनाइ छ ।

बसपार्क क्षेत्रमा निर्माण भएका ग्यारेजहरु रेशमज्युलामा सार्न लागिएको र रेशमज्यूलामा अटो भिलेज बनाईने  शारदा नगरपालिकाले जनाएको छ ।बसपार्क क्षेत्रमा ऐलानी जग्गामा करिब ८३ वटा अस्थायी घरटहरा बनाईएका थिए। जसमध्ये   घर जग्गा नभएका वास्तविक सुकुम्वासी जम्मा ३ घरपरिवार मात्रै रहेको नगरपालिकाको भनाइ छ।नगरपालिकाले वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्ने, घरमुली नभएका, आर्थिक रुपमा विपन्न भएका परिवारलाई प्राथामिकता दिएर व्यवस्थापन गर्ने र अस्थायी घरटहरा हटाउने जनाएको छ ।

 यता आफुहरुको लाखौं धनजनको क्षति भएको तर क्षतिपूर्ति त परको कुरा आफ्नो कुनै कुराको सुनुवाइ नगरी नगरपालिकाले एक्कासी नियम बनाएर आफ्नो लाखौंका घर टहरामा नगर  डोजर चलाएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन्। तस्वीरहरु :योगराज बिस्वकर्म

प्रकाशित मिति : २ माघ २०७९, सोमबार, ,  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्