हामी परिक्षण प्रसारणमा छौ



नवलपरासी। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डबिरुद्ध सर्बोच्च अदालतमा दायर भएको मुद्दालाई आफुहरूले ठूलो रूपमा पनि नलिएको र सामान्य रूपमा पनि नलिएको बताउनुभएको छ। बुटवल-नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आउनुभएका श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त जिज्ञासामा सो कुरा बताउनुभएको हो।

‘प्रधानमन्त्री प्रचण्डबिरुद्ध जुन बेहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन।’ उहाँले भन्नुभयो- ‘तर सत्यनिरूपण तथा मेलमिलाप, वेपत्ता छानवीन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले सो सम्बन्धि विधेयक संसदमा टेबुल गरिसकेका छौं।’

उहाँले उपराष्ट्रपति चुनाव सकिए लगत्तै सरकारको विस्तार एवं पुनर्गठन हुने जानकारी दिनुभयो। नौ दलीय गठबन्धनको वर्तमान सरकार स्थिर र प्रभावकारी हुने, पार्टीबाट पठाईएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे आफुहरूले केही नसोचेको समेत उहाँले बताउनुभयो।

बुटवल-नारायणगढ सडक विस्तारले अपेक्षित गति लिन नसक्दा जनताले सास्ती खेप्नुपरेको पत्रकारको जिज्ञासालाई मन्त्री श्रेष्ठले गम्भीरतापूर्वक लिनुभयो। समयमै र गुणस्तरीय रूपमा काम सक्न चिनिया निर्माण कम्पनीलाई पटक-पटक ताकेता गरिएको र मन्त्रालय तहबाटै अन्य सरोकार निकायसँग उचित समन्वय गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो।

शुक्रबारनै नेकपा(माओवादी केन्द्र ) जिल्ला समन्वय समिति नवलपुरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सहितको चुनावी सहकार्य, अकस्मात एमालेसँगको सरकार गठबन्धन र हाल कांग्रेससँगै निर्माण भएको समीकरणबारे स्पष्ट पार्नुभएको थियो। चुनावबाट ठूलो पार्टी हुनुको घमण्डले ‘सुरुको तीनबर्ष माओवादी केन्द्रको प्रधानमन्त्री, पछिल्लो दुईबर्ष कांग्रेसको प्रधानमन्त्री’ भन्ने पूर्व समझदारी कांग्रेसले तोडेकोले कांग्रेसलाई सवक र वाम सहकार्यको सकारात्मकताका लागि आफुहरूले एमालेसँग सरकार गठबन्धन गरेको उहाँले बताउनुभयो।

तर एमाले अध्यक्ष ओलीले राप्रपा र रास्वपाको आडमा आफुहरूको घाँटी ङ्याक्ने नियत मात्रै राखेपछि र कांग्रेसले गल्ती महसुस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने परिस्थिति बनेपछि राजनीतिले अर्को मोड लिएको बताउनुभयो। त्यसरी कांग्रेसबाटै राष्ट्रपति बन्ने र पुन लोकतान्त्रिक-वाम गठबन्धन बन्ने अहिलेको सन्दर्भको विकास भएको उहाँले बताउनुभयो।

त्यस अगाडि उपप्रधानमन्त्री श्रेष्ठले बर्दघाटस्थित शान्ति नमुना आधारभूत विद्यालयको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख आतिथ्यता गर्नुभएको थियो। त्यसक्रममा विद्यालयको नयाँ चारकोठे भवनको उद्घाटन गर्नुभएको थियो। मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकासको पहिलो पूर्वाधार शिक्षा भएको र हालको सरकारले सामुदायिक शिक्षालाई नै मुल शैक्षिक थलो बनाउने नीति लिएको बताउनुभयो। यससँगै उहाँले कावासोतीमा रहेको साना किसान कृषि सहकारी संस्थाको अवलोकन गर्नुभएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार, ,  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्