हामी परिक्षण प्रसारणमा छौ



सल्यान । उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्षका उम्मेदवार दिनुभएका वीरेन्द्रकुमार श्रेष्ठको प्यानलै विजयी भएको छ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र चन्द समूहको संयुक्त व्यावसायिक प्यानल तर्फबाट अध्यक्षका उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनु भएका श्रेष्ठले नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक प्यानलबाट उठेका भरतकुमार बस्नेतलाई १ सय ३५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

निर्वाचन अधिकृत बिरबहादुर सेजवालका अनुसार शनिबार भएको निर्वाचनमा १ हजार ९ सय २६ मतदाता रहेकामा १ हजार ४ सय ९५ ले मतदान गरेका थिए ।जसअनुसार निर्वाचनमा संयुक्त व्यावसायिक प्यालनका श्रेष्ठले ७ सय ७० र बस्नेतले ६ सय ३५ मत ल्याउनुभएको हो।

यस्तै  संयुक्त व्यावसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रकुमार थापा ८५५, वाणिज्य उपाध्यक्षमा राजेन्द्रबहादुर भण्डारी ९४५, उद्योग उपाध्यक्षमा पलविर नेपाली ७३६, महासचिवमा मोहन सारु ८६०, सचिवमा रनबहादुर खडका ७८५ र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले ८५६ मत ल्याएर विजयी बन्नुभएको छ ।

निर्वाचन अधिकृत सेजवालक अनुसार निकटतम प्रतिद्वन्द्वी संयुक्त लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धीरज केसीले ५१०, वाणिज्य उपाध्यक्षमा चन्द्रबहादुर बुढाले ४१३, उद्योग उपाध्यक्ष हपिस भण्डारीले ६२७, महासचिवमा मानबहादुर ओलीले ५०१ , सचिवमा इन्द्रा भण्डारीले ५७१ र कोषाध्यक्षमा कमल घर्तीले ४६५ मत ल्याउनुभएको छ।

यसैगरी निर्वाचन अधिकृत सेजवालका अनुसार सदस्यमा संयुक्त व्यावसायिक प्यानलबाट हिरा चन्द , विमला गिरी, गीता घर्ती, प्रकाश परियार, हरिबहादुर गुरुङ, मुस्तफा मियाँ, गोफलो ओली, चन्द्रबहादुर राना, वीरजंग ओली, छविलाल बिसी, बिरबहादुर डाँगी, लिलाधर शर्मा, टोपबहादुर ओली र लालबहादुर खत्री विजयी हुनुभएको छ ।

बस्नेतद्वारा धन्यवाद ज्ञापन
यस्तै नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार बन्नुभएका भरतकुमार बस्नेतले मतदातालाई धन्यवाद दिनुभएको छ। उहाँले केहिबेर अघि सामाजिक संजाल फेसबुक मार्फत लेख्नुभएको छ,’सल्यान उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योगी, व्यवसायीको पक्षमा निरन्तर लाग्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वास (६३५ मत) का लागि म मतदाता तथा सबै शुभेच्छुकहरूमा गहिरो आभार प्रकट गर्दछु ।

म यस क्षेत्रमा पहिले भन्दा अझै बढी सकृयताको साथ लाग्ने वाचा गर्दछु ।    निर्वाचनबाट अध्यक्षमा बिजयी हुनुभएका बिरेन्द्र कुमार श्रेष्ठ सहित सबै बिजेतालाइ बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई महासंघको उदेश्य प्राप्तीमा इमान्दार पुर्वक जिम्मेवारी निर्वाह गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।’

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार, ,  ३ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्