हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष प्रकाश ज्वालाले राष्ट्रिय सहमति बिना नै संविधान संशोधन गरे त्यो मान्य नहुने बताउनुभएको छ । उहाँले सबै दलहरूको सहमतिमा हाल देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्ने भएपनि ठुला दुई दलमात्रै मिलेर निहित स्वार्थ पुरा गर्नका लागि संविधान संशोधन गरे त्यो कदापी मान्य नहुने बताउनुभएको हो । समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा सल्यानले सोमबार खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘संविधान संशोधन अहिलेको आवश्यकता हो, यो समयानुकुल परिवर्तन गरिनुपर्छ, संबिधानमा भएका केही त्रुटिलाई सच्याएर अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो ‘नेकपा एमाले र नेपाली कांग्रेसले मात्र चाहेर संविधान संशोधन सम्भव छैन्, दुई ठुला दल सत्तामा पुग्नकै लागि संविधान संशोधनको कुरा गरियो, असल नियत यसमा देखिएन, त्यसैले राष्ट्रिय सहमति बिना गरिएको संशोधन हामी स्वीकार गर्दैनौँ, त्यो नागरिकले पनि स्वीकार गर्दैनन् ।’

संविधान कार्यान्वयनको अनुभव र आवश्यकताका आधारमा मात्रै संशोधन हुनुपर्ने ज्वालाको भनाइ छ । ‘नियन्त्रण सहितको जननिर्वाचित कार्यकारी प्रमुख नै अहिलेको आवश्यकता हो, यसमा सासकिय स्वरुपलाई फेर्दै निर्वाचन प्रर्णालीलाई जनमुखी बनाएर अघि बढ्नुपर्छ, एउटै व्यक्ति जतिपटक पनि प्रधानमन्त्री, मन्त्री, सांसद हुने व्यवस्था हटाउनुपर्छ’ उहाँले अघि थप्नुभयो ‘राज्यले खर्च धान्नै सकेन्, सासंदको संख्या घटाउनुपर्छ, स्थानिय तहको संख्या हेरफेर गर्दै थप बलियो बनाउनुपर्छ ।’

ज्वालाले भ्रष्टाचारका विरुद्धमा र सुशासनका पक्षमा राज्यले काम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘दुई ठुला दल मिल्नबित्तिकै भुटानी शरनार्थी, गिरीबन्धुका बारेमा सरकार चुपचाप छ, ठुला काण्ड लुकाएर सहकारीको पछि मात्रै लागेको छ, राजनितिक दल, प्रेसलाई दवाउने र राज्यलाई अध्यारोमा धकेल्ने सरकारको दृष्टि ठिक छैन्, नागरिकले देशमा राज्य भएको अनुभुति खोजिरहेका छन् ।’

अहिले बाहिर चर्चा आएजस्तो एकीकृत समाजवादी पार्टीमा कुनै बेमेल नआएको उहाँको भनाइ छ । ‘लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गरेर निर्वाचन सम्पन्न भयो, चुनावमा कोही जित्ने र कोही हार्ने स्वभाविक नै हो’ उहाँले भन्नुभयो ‘पार्टीको आन्तरिक निर्वाचनमा जित्नैमा मात्तिनु पर्ने र हार्दैमा आत्तिनुपर्ने अवस्था छैन्, सबै नेताहरुलाई उचित जिम्मेवारी दिन्छौँ, पार्टी एक छ, अव देशभर संगठन सुदृढिकरण अभियान सञ्चालन गर्छौ ।’

प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री समेत रहनुभएका ज्वालाले वजेट विनियोजन भएपनि टेण्डर प्रक्रियामा गएर रोकिदा राप्ती राजमार्गको स्तरोन्नतिमा ढिलाई भएको बताउनुभयो । ‘राप्ती राजमार्गको कुरा गरौँ, वा मदन भण्डारी राजमार्गको कुरा गरौँ, हामी सरकारमा हुदा वजेट सुनिश्चित गरिसकेका थियौँ, टेण्डरको प्रक्रियामा थियो, तर अहिले टेण्डर नै रोकियो’ उहाँले भन्नुभयो ‘सडक बनाउने सन्दर्भमा राजनिति होइन्, सामुहिक प्रयास आवश्यक छ ।’

संगठनका जिल्ला अध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हरि केसी, केन्द्रिय सदस्य शारदा परियार, जिल्ला कमिटी सचिव रमेश कुमार गौतम लगाएतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संगठनका प्रदेश महासचिव शिव डाँगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार, ,  २ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्