हामी परिक्षण प्रसारणमा छौ



दाङ।राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीले हरेक नागरिकको घरमा निशुल्क खानेपानी पुग्ने वातावरण बनाउनेतर्फ आफ्नो टिम लाग्ने बताउनुभएको छ।

प्रेस सेन्टर नेपाल तुलसीपुर नगर समितिले आयोजना गरेको बधाई तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले सबैलाई समान रूपले निशुल्क खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व भए पनि अझै व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।

सल्यान छ्त्रेस्वरि गाउँपालिकाको लेखपोखरामा जन्मेका नवनिर्वाचित महासंघका अध्यक्ष वली तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वि.सं २०६४ सालदेखि लगातार चार कार्यकाल अध्यक्षको रुपमा काम गरिसक्नुभएको छ। महासंघको निवर्तमान उपाध्यक्ष समेत रहेका वलीले एशियाली विकास बैंक (Adb) बाट एक प्रतिशत ब्याजदरमा लिइएको कर्जा खानेपानी संस्थाहरूलाई ८ प्रतिशतमा लगानी गरेर राज्यले नै व्यापार गरेको आरोप लगाउनुभयो। अब ३ प्रतिशत ब्याजदर कायम गर्न नीतिगत रूपमा आफ्नो कार्यसमितिले पहल गरिरहेको दाबी गर्नुभयो ।

यस्तै खानेपानी वितरणका लागि प्रयोग हुने विद्युत महसुलमा छुट आवश्यक रहेको भन्दै उहाँले यसका लागि पनि पहल शुरु भैसकेको जानकारी दिनुभयो। यसैगरी कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेश  सरकारले लिएकाे खानेपानी क्षेत्रप्रतिको नीति प्रभावकारी नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,”खानेपानीजस्तो आधारभूत सेवामा ध्यान दिन नसक्नु नागरिकप्रतिको अन्याय हो। अब सरकारले जनघनत्वको भविष्यलाई ध्यानमा राखेर दीर्घकालीन नीति बनाउनुपर्छ”।

कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संसथाका उपाध्यक्ष सिताराम शर्मा,नेकपा माओवादी तुलसीपुरका इन्चार्ज डिल्ली अधिकारी,प्रेम प्रभात वली,प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश सचिब तिलक राज वलीलगातले खानेपानीको आइडल बन्ने गरि काम गर्न सुझाव सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रेस सेन्टर नेपाल तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यता,उपाध्यक्ष विशाल परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव रिता केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार, ,  १२ : ५० बजे

प्रतिक्रिया दिनुहोस्