सल्यान,छत्रेस्वरी। सामाजिक तथा आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत सल्यानमा संचालित गतिविधि, कार्यक्रम, बजेट तथा उपलब्धिको सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ । परियोजनाको जिल्ला नेतृत्वकर्ता दलित विकास समाजले जिल्लाको छत्रेश्वरी र कपुरकोट गाउँपालिकामा बार्षिक लेखापरीक्षण सम्पन्न गरेको हो ।

मंगलबार छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले नगरिकको सशक्तीकरण र दिगो बिकासका लागि गाउँपालिकाले विभिन्न साझेदार निकायहरुसंग सहकार्य गरेर निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “म बनाउछु मेरो छत्रेश्वरी” को अभियानमा साथ दिन र एउटा सानो भएपनी इटा थप्न आग्रह गर्नुभयो । पारदर्शिता र जवाफदेहिताका लागि सामाजिक लेखापरीक्षण एउटा महत्वपुर्ण औजार रहेको अध्यक्ष बुढाथोकीको भनाइ छ ।

शासन संरचनामा युवा तथा महिलाको सहभागिता बढाएर उनिहरुको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउने उद्देश्य सहित छत्रेश्वरीको वडा नम्बर ३,४ र ५ मा सामाजिक तथा आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना संचालनमा छ । लेखापरीक्षण कार्यक्रममा परियोजनाका गतिविधिहरू, बजेट खर्च विवरण र प्राप्त उपलब्धिहरूको सार्वजनिक समीक्षा गरिएको हो ।

कार्यक्रमम गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल लगायतले परियोजनालाइ अझै प्रभावकारी बनाउनका लागि आवश्यक सल्लाह सुझाव प्रदान गर्दै जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग प्रभावकारी समन्वयका लागि अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्यहरु पवित्रा डांगी, तिला घर्ती, बसन्ता जिसी, गाउँसभा सदस्य डुम बहादुर खत्री, दलित बिकास समाजका संरक्षक निम बहादुर नेपाली, गाउँपालिकाका बिषयगत शाखा प्रमुखहरु लगायत युवा क्ल्व, महिला तथा रुपान्तरण समितिका प्रतिनिधि लगायतको सहभागिता थियो ।

दलित बिकास समाज सल्यानका अध्यक्ष हेमराज बिकको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजनाका जिल्ला संयोजक प्रशान्त परियारले स्वागत मन्तव्य राख्नुभएको थियो । लेखापरीक्षण कार्यक्रममा परियोजनाका गतिविधी, संचालित कार्यक्रमका बारे पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिवलाल डांगीले सहजीकरण र प्रस्तुतीकरण रहेको थियो भने कार्यक्रमको संचालन फिल्ड सुपरभाइजर लिला वली परियारले गर्नुभएको थियो ।

स्थानीय सरकार संगै दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा अन्य विषयगत क्षेत्रमा कार्यरत संस्थाहरुको समेत सहभागितामा परियोजना संचालनमा छ ।