रुकुम पश्चिम। प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा मनिष खड्का निर्वाचित हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा आज भएको सङ्गठनको छैटौँ अधिवेशनले खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा २ जना पछि थप्ने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्ष खुलामा दीपेन्द्र महतारा, महिलामा गङ्गा बिसी, सचिवमा सत्य बटाला, सहसचिव खुलामा बलेन्द्र ओली, समावेशी तर्फ ज्ञानी खड्का र कोषाध्यक्षमा सुनिल थापा मगर निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा प्रेम कुशारी, बलबहादुर खत्री , इतिहास परियार र हिमाली बुढा चयन हुनुभएको छ । जिल्ला सम्मेलनले साङ्गठनिक र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । दुवै प्रतिवेदन अध्यक्ष देवकुमार ओलीले प्रस्तुत गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति अध्यक्ष देवकुमार ओलीको अध्यक्षतामा भएको जिल्ला सम्मेलन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सङ्गठन विभाग प्रमुख गोपाल शर्मा अनल, पार्टीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला संयोजक गोविन्द रोका सचिन, सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवं पार्टीका प्रचार विभाग प्रमुख मेगराज खड्का,सङ्गठनका कर्णाली प्रदेश कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मीको आतिथ्यता रहेको थियो ।
सम्मेलन मार्फत नेपाल पत्रकार महासङ्घको हालै सम्पन्न निर्वाचनमा सङ्गठनका तर्फबाट गोपाल रेग्मी नेतृत्वका प्यानल विजयी गराउन भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको छ। यस्तै महासङ्घमा निर्वाचित टिमलाई बधाई समेत ज्ञापन गरिएको छ । प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले जन पक्षीय पत्रकारितामा थप सशक्त भएर लाग्न आग्रह गर्नुभएको थियो ।
सम्मेलनमा बोल्दै उहाँले प्रेस सेन्टर जनताको पक्षमा काम गर्ने एक मात्र सङ्गठन रहेको भन्दै थप सशक्त भएर पत्रकारितामा अघि बढ्न आग्रह गर्नुभएको हो । अन्य अतिथिहरूले पनि मुक्ति कामी आन्दोलनको रापबाट स्थापना भएको पत्रकार सङ्गठन प्रेस सेन्टरलाई थप सशक्त रूपमा अघि बढाउन आग्रह गर्नुभएको थियो ।