सल्यान। सल्यानमा एकिकृत पाठ्यक्रममा आधारित प्रारम्भिक तहका बालबालिकामा पठन सिप विकास सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच श्रीनगरमा तालिमको समापन गरिएको हो ।

प्रशिक्षक प्रशिक्षक तालिम प्राप्त १६ जना शिक्षक तथा साक्षरता सहजकर्ताहरुले प्रारम्भिक तहका अन्य शिक्षकहरूलाई तालिम दिन सक्ने दक्षता हासिल गरेको साक्षरता कार्यक्रम सल्यानले जनाएको छ । सामुदायीक विद्यालयमा प्रारम्भीक तहका बालबालिकाको पठन सिपमा गुणात्मक सुधार गर्नका लागि भन्दै यस प्रकारको तालिम सञ्चालन गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले तालिम पश्चात शिक्षकहरुले कक्षामा सिकाउने शैलीमा परिवर्तन हुने अपेक्षा गरेको बताउनुभयो । साक्षरता कार्यक्रमले आफ्नो पालिकामा सकारात्मक परिणाम दिएको भन्दै पालिकाका सबै विद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै दलित विकास समाज सल्यानका सदस्य शालिकराम नेपालीले तालिममा सिकेका कुरा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट रुपले लागू गर्नुपर्ने धारणा राख्नुभएको थियो।

तालिममा सहभागि शिक्षकहरु बनगाड कुपिण्डे नगरपालिकाका पुस्कर विसी, छत्रेश्वरी गाउँपालिकाका टेकनारायण लम्साल, त्रिवेणी गाउँपालिकाका मुना रेग्मी लगाएतले बोल्दै कक्षा कोठामा सिकाइ क्रियाकलाप अझै प्रभावकारी, व्यवहारीक, वैज्ञानिक र समयसान्दर्भिक तरिकाले सञ्चालन गर्न भुमिका खेल्न सक्ने आँट आएको बताउनुभएको थियो।

यसबाट विद्यालयमा पठन सिप सुधार सम्बन्धी क्रियाकलाप संस्थागत रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । गत सोमबार देखि शुक्रबारसम्म पाँच दिन संचालन भएको तालिममा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले विभिन्न विषयवस्तुमा सहजिकरण गर्नुभएको थियो ।

मानव संसाधन विकास केन्द्र सुर्खेत र शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको समन्वय तथा सहकार्यमा, दलित विकास समाज सल्यानको आयोजना र रुम टु रिडको सहयोगमा तालिम सम्पन्न भएको हो । श्रीनगरमा सञ्चालित तालिममा छत्रेश्वरी, बनगाड र त्रिवेणी गाउँपालिकाबाट ५–५ जना र बागचौर नगरपालिकाबाट १ जना सहभागी थिए ।

स्थानिय तहमै दक्ष प्रशिक्षक तयार गरी एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने, शिक्षकको पेशागत विकासमार्फत शिक्षण सिकाइ प्रक्रियामा गुणात्मक सुधार ल्याउन र साक्षरता कार्यक्रमलाई पालिकाको नीतिगत ढाँचामा समेट्दै दीर्घकालीन योजना निर्माणमा टेवा पुग्ने उद्देश्य सहित तालिम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिनुभयो।

साक्षरता कार्यक्रम बालबालिकाको पढ्ने बानी र पठन सिप विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले तालिमबाट प्रशिक्षित व्यक्तिहरूले अब शिक्षण सामग्री, पाठ योजना र कक्षा कोठा व्यवस्थापनमा सुधार ल्याउन सहजीकरण गर्ने साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले बताउनुभयो ।