सल्यान ।रम्परागत स्वास्थयकर्मीहरुको प्रभावकारी अभ्यासलाई हौसला प्रदान गर्ने र वैज्ञानिक दृष्टिकोणबाट सुधार आवश्यक पक्षहरूलाई मार्गदर्शन गर्ने उद्देश्य सहित सलयानको छत्रेश्वरी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । परम्परागत उपचारमा संलग्न स्थानीय जनशक्तिको अनुभव र ज्ञानलाई संकलन गर्ने उद्देश्य सहित वडा नम्बर २, डाँडागाउँमा विहिबार तालिम तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
परम्परागत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयुर्वेद सम्बन्धी तालिम प्रदान गरिएको छत्रेश्वरी गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख गणेश रावलले जानकारी दिए ।
वडा नम्बर १, २, ५ र ४ का स्थानीय तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूसंग अन्तरक्रिया संगै आयुर्वेदका सिद्धान्त, सामान्य रोगहरूको घरेलु उपचार विधि, जडीबुटीको परिचय तथा प्रयोग विधिका बारे अभिमुखिकरण गरिएको उनले जनाए ।
गाउँघरमा औपचारिक शिक्षा बिना नै परम्परागत जडिबुटी, घरेलु उपचार विधि तथा जनविश्वासमा आधारित उपचार पद्धतिमा काम गरिरहेका व्यक्तिहरूले आफ्नो अनुभव सुनाएका थिए । छत्रेश्वरी ५ महानेटाका स्थानीय हिमलाल भण्डारीले आफुले वर्षाैँ अघिदेखि आगोले जलेको समस्या भएका विरामीहरुको जडिबुटी प्रयोग गरी उपचार गर्दै आएको बताए । यस्तै वडा नं, ४ तारुपरे निवासी सिता विकले परम्परागत विधिबाट झाडापखाला, ग्याष्ट्रीक जस्ता समस्याको उपचार गर्दै आएको बताए ।
कार्यक्रममा सहभागीहरूले परम्परागत ज्ञानको संरक्षण र वैज्ञानिक रूपमा परिमार्जन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, गैरसरकारी संस्था महासंघ सल्यानका उपाध्यक्ष खडग शाही, आधारभुत स्वास्थ्य सेवा केन्द्र दहखोलाका प्रमुख चुडामणी बस्नेत लगाएतले बोल्दै आयुर्वेदिक र एलोपेथिक उपचार पद्धतीलाई मिलाएर काम गर्दा अझ राम्रो र भरपर्दो स्वास्थ्य सेवा दिन सकिने धारणा व्यक्त गरेका थिए ।
आयुर्वेदिक उपचार दीर्घकालीन रूपमा उपयोगी र सुरक्षित हुन्छ भने एलोपेथिक उपचार छिटो असर गर्ने र आपतकालीन अवस्थामा धेरै प्रभावकारी मानिन्छ । पछिल्लो समय स्थानीयहरुमा आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको आधारभुत आयुर्वेद स्वास्थ्य सेवा केन्द्र महानेटाका प्रमुख विजय कुमार घर्तीले जानकारी दिए ।
छत्रेश्वरी गाउँपालिकाले आयुर्वेद स्वास्थ्य र यसको उपचार पद्धतीको सचेतना फैलाउनका लागि यसै वर्ष जडिबुटी परिचयात्मक कार्यक्रम, नियमित गाउँघर क्लिनिक, डाक्टर सहितको आयुर्वेद शिविर समेत सञ्चालन गरिसकेको छ ।