सल्यान। तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सञ्चालित खलंगा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, शारदा नगरपालिका–२, लुहापिङ, खलंगाको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा प्रमुख अतिथि रहनुभएको थियो।
उक्त कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, स्थानीय सरोकारवाला, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

खानेपानीले दैनिकी सहज बनाएको छ’ – उपप्रमुख सापकोटा

सभालाई सम्बोधन गर्दै उपप्रमुख सापकोटाले घर–घरमा खानेपानी पुगेपछि स्थानीयवासीको दैनिकी सहज बनेको बताइन्।
उनले सरसफाइमा समेत सुधार आएको उल्लेख गर्दै खानेपानी पहुँच विस्तार चुनौतीपूर्ण भए पनि स्थानीय सरकारबाट आवश्यक सहयोग पुर्‍याइने प्रतिबद्धता जनाइन्।

१२ हजार जनसंख्यालाई सुरक्षित खानेपानी

संस्थाका अध्यक्ष केशव बुढाथोकीका अनुसार तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ कार्यान्वयन आयोजना अन्तर्गत हाल २ हजार ३ सय ५८ घरमा धारा जडान गरिएको छ।
यसबाट करिब १२ हजार जनसंख्यालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध भएको उनले जानकारी दिए।

उनले उपभोक्ताको चेतना वृद्धिसँगै “एक घर, एक धारा” अवधारणा कार्यान्वयनमा ल्याउँदै छ वटा वडामा सेवा विस्तार गरिएको पनि बताए।


खानेपानीले बसाइँसराइ घटायो’ — पत्रकार महासंघ अध्यक्ष रावतनेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले विगतमा खानेपानी अभावका कारण स्थानीय बासिन्दाले कठिनाइ भोग्नुपरेको स्मरण गरे।
उनका अनुसार अहिले सहज रूपमा खानेपानी उपलब्ध भएपछि जनजीवनमा सुधार आएको र बसाइँसराइमा समेत कमी आएको छ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) शारदा नगर समितिका अध्यक्ष मोहनलाल बुढाथोकी,एकीकृत समाजवादी उपाध्यक्ष शान्ता नेपाली,राप्रपा नगर समितिका सदस्य महेन्द्र गुरुङ,रास्वपा नगर अध्यक्ष प्रकाश नेपाली,शारदा नगरपालिका–४ का वडा अध्यक्ष किशोर कुमार हमाल र १२ नं. वडा अध्यक्ष सुरेन्द्र बुढालगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव ईन्द्रा भण्डारीले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष मौसमदास श्रेष्ठले प्रस्तुत गरेका थिए।

वार्षिक समीक्षा र वित्तीय विवरण

साधारणसभामा संस्थाको वार्षिक प्रगतिबारे समीक्षा, आगामी योजनामाथि छलफल तथा वित्तीय विवरण प्रस्तुत गरिएको थियो।
संस्थाले चालु आर्थिक वर्षमा करिब रु. २ करोड ३३ लाख ८७ हजार खर्च गरेको जानकारी दिइएको छ।