हामी परिक्षण प्रसारणमा छौ



१७ बैशाख,दाङ । धन कमाउन भन्दै टिप्पर चलाउन पाल्पा गएका श्रीमानको मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका (हाल अस्थायी बसोबास तुलसीपुर‐९,बेलुवा) की शोभा बोहराको सुखी अनि खुशी जीवन बाँच्ने सपना नै खोसिएको छ । घरपरिवारको सुन्दर भविष्य बनाउने सपना बोकेर पाल्पा गएका भोलाराम बोहराको सपना समेत अधुरो बनेको छ ।

गाडीको भरमा घरपरिवार धानिएको परिवारमा एक्कासी घरमुली नै अप्रत्याशित दुर्घटनामा परेसँगै हाल दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर‐९, बेलुवामा कोठाभाडामा बस्ने ३१ बर्षे श्रीमति शोभा बोहरा र १२ बर्षे छोरी रितु बोहराले अहिले अबका दिन कसरी काट्ने ? भनेर साथीभाई,छरछिमेक र भगवान सँग पुकार गर्दै सहयोगको अपिल गरीरहेका छन् ।

धन्न छिमेकी मनकारी रहेछन् । पाल्पाबाट साथीभाई मिलेर भोलारामको शबलाई ल्याएर परिवारलाई बुझाए । लास जलाउने दाउरा किन्ने खर्चको अभाव भएको परिवारको खर्चको व्यवस्थापन गरेर आमा र छोरीलाई बाँकी काजकिरिया कार्यका लागि तुलसीपुरस्थिति कालिका मन्दीरमा लगेर राखे, सहयोगीको रुपमा छिमेकीले ।

केही महिना अघि भोलाराम बोहरा रोजगारीका लागि टिप्पर चलाउन पाल्पाको माथागढी गाउँपालिका‐५, स्थित चुनढुङ्गा खानीमा गए । दुरीले टाढा भएपनि शोभा र भोलाराम भावनात्मक रुपमा निकै नजिक थिए । श्रीमान् पाल्पा गएपछिका दिन सम्झदै शोभा भन्छिन् ‘दिनमा एकपटक त सँधै कुराकानी हुन्थ्यो । भोलाराम पाल्पामा आफु सन्चो बेसन्चो भए नभएको खबर गरिरहन्थे । मेरो र छोरीको बारेमा पनि सोधिरहन्थे ।’

शोभा भन्छिन् ‘भोलारामले पाल्पाबाट फर्किएर छिट्टै घर आउँने भन्थे म र छोरी उनी आउँने दिन कुरेर बसेका थियौं तर,आज यस्तो भइदियो ।’

श्रीमानको छोरीलाई राम्रोसँग पढाएर डक्टर बनाउने सुनौलो सपना थियो । दैबको खेल ‘आज उहाँको त्यो सपना अब कसरी पुरा गर्ने ’ भनेर आज सबैसँग हात जोर्नुपर्ने अबस्था आइलाग्यो ! आर्थिक अभाव त उनले भोगेकै थिइन् । अब अर्को बज्रपात उनको भागमा थपियो – घरको मुली श्रीमानको मृत्यु ।

२०७७ साल बैशाख ७ गते वरपर चैतेदशैको रमझम चल्दै थियो,एक्कासी शोभाले कल्पनै नगरेको खबर उनी समक्ष कसैले सुनायो । पाल्पामा श्रीमानको टिप्पर दुर्घटनाका कारण मृत्यु । उनी भन्छिन् ‘कल्पनै नगरेको यो कुरा विश्वास गर्नै सकिन । वरपरका छरछिमेकीले सम्झाउँदा सम्झाउदै म त बेहोस भए ।’

दुःख खप्न नसकेर तत्काल त केही सोच्न नि सकिन । त्यसदिनदेखी मलाई त दिन र रात पनि उस्तै लाग्छ । अब श्रीमानको मृत्यु स्वीकार गर्नुको बिकल्प उनीसँग रहेन । श्रीमानको मृत्यु भएपछि उनका छिमिकीले उनको मृत शरीर ल्याउन सहयोग गरे । मुटुमाथि ढुंगा राखेर परम्परा अनुसार दाहसंस्कार गरिन् एकमात्र १२ वर्षे छोरी रितुले । आफु भन्दा बढि माया गर्ने मान्छे भएपनि सँगै मर्न नसकिने रहेछ ! दैबको यो लिला कस्तो ?

शोभा भन्छिन्, ‘श्रीमान् पाल्पा गएर कमाएको आम्दानीले घर बनाउँला,छोरीलाई राम्रो पढाउँला भनेको तर यो जुनी  बसेको कोठाभाडा तिर्न नसकेर आफु पनि मरिने पो हो कि भन्ने डर लाग्छ ।’

‘बुबाको पाल्पामा टिप्पर दुर्घटनामा मृत्यु भएकाले छोरीको डक्टर बन्ने सपना अब कसरी पुरा होला ।’ शोभा भन्छिन् – ‘मलाई त झन् श्रीमान् चँुड्ने टिप्पर पनि सम्झन समेत मन लाग्दैन ।’

यता बोल्दाबोल्दै दाङ तुलसीपुर स्थित कालिका मन्दिरको किरिया पुत्री भवनमा बाबुको किरिया बसेकी छोरी रितु बोहराका आँखाको डिलमा आइपुगेका आँशुका ढिक्का गाला हुँदै भुईंमा खस्दै थिए । तर,रितुले आँखाबाट भुइमा खस्नै लागेका आँशुका ढिक्का आफ्ना दुई हातले पुछ्दै भनिन् ,– ‘हाम्रो घरमा कमाउने मेरो बाबा नै हुनुहुन्थ्यो । बाबा नै यो संसार छाडेर गइसकेपछि हामीलाई खाने,बस्ने,कोठा भाडा तिर्ने रकम अब कस्ले दिन्छ ? म पढेर डक्टर बन्ने मेरो सपना अब सपना मात्र हुने भयो ।’

बोहरा परिवारलाई सहयोग जुट्ने क्रम जारी

आर्थिक अभावकै कारण १२ वर्षीया छोरी रितु बोहरा घर नहुँदा तुलसीपुरको कालिका मन्दिरमा बुबाको किरिया बसिरहेको समाचार प्रकाशन प्रशारण भएसँगै अहिले उनको परिवारलाई विभिन्न व्यक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको यस परिवारलाई सुरुदेखि सहयोग गर्दै आएका छिमेकी सुवर्ण योगीले सल्यानन्युजलाई जानकारी दिएका छन् ।

उनको आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा जम्मा गर्नुपर्ने सबै शुल्क निःशुल्क गरेको छ ।

बोहरा परिवारलाई कसरी गर्ने सहयोग ?

दुःख मा परेको बोहरा परिवारलाई यदि हाम्रा भगवानरुपी पाठक,श्रोता,दर्शकले सहयोग गर्न चाहेको खण्डमा मृतक भोलाराम बोहराकी श्रीमति शोभा बोहराको नाममा एभरेष्ट बैक लिमिटेडको खाता नम्बर – ०३३००५०१२१०३४१ मा सक्दो सहयोग गर्न सक्नुहुनेछ ।

जसको लागि ९८१०९५१५७८,९७४२२३०२२६ सम्पर्क गर्न सकिन्छ । शुक्रबार साँझ सम्म सहयोग गर्ने भगवानरुपी निम्न दाताहरु रहेको जानकारी प्राप्त भएको छ ।

३४ .अनिरुद्र गिरी -३०००

३५ .सरोज न्यौपाने -३०००

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार, ,  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्