सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा सञ्चालन भएको खुला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । धान्य पुर्णिमामा लाग्ने पौराणिक मेलाको अवसरमा कालिमाटी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा भण्डारी सप्लायर्स कालिमाटीको समूह पहिलो र शारदा जनकल्याण माबि रामपुरको समूह दोश्रो भएको कालिमाटी-३ का वडा अध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिलो र दोश्रो हुने समुहलाइ विहिबार पुरस्कार स्वरुप क्रमशः ८० हजार र ५० हजार रुपियाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको हो । मंगलबारदेखी सुरु भएको भलिवल प्रतियोगितामा सात समुहले प्रतिस्पर्धा गरेका थिए ।

खेल समापन कार्यक्रममा पुरस्कार वितरण गर्दै कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सनसिलता वली, प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली, वडा नम्बर-३ का वडा अध्यक्ष शिव बहादुर खत्री, आर्थिक प्रशासन शाखा प्रमुख खेलकुद समितिका संयोजक अमृत खत्री लगायतले सामाजिक एकता, स्वस्थ प्रतिस्पर्धा, मनोरञ्जन तथा व्यक्तिको शारिरिक एवं मानसिक बिकासका लागि खेलकुदको महत्व रहेको बताउनुभएको थियो ।

धान्य पुर्णिमाको अवसरमा परापुर्वकालदेखी लाग्दै आएको मौलिक मेला यस बर्षपनी लागिरहेको छ । मेलाको अवसरमा कालिमाटी गाउँपालिकाले शुक्रबार स्थानिय बिदा समेत दिएको छ । धान्यपुर्णिमाको बेला कालिमाटी-३ स्थित गंगामाला भगवती मन्दिरमा पुजा अर्चना र पञ्चबली चढाउने गरिन्छ । मेला अवलोकन, मन्दिरको दर्शन, पर्यटकीय क्षेत्र कछुवा दह क्षेत्रमा घुमफिरका लागि सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा मानिसहरु आउनेगर्दछन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्