सल्यान। बागचौर नगरपालिका स्तरको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा श्री सरस्वती माध्यमिक विद्यालय, पेदीखोलाको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरिएको हो।


उद्घाटन कार्यक्रम बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास समिति संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टिकाराम वलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गौतम प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।


नगर प्रमुख गौतमले ब्यानर वाचन तथा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा उप–प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर भट्टराई, नगर प्रवक्ता दिपेश डि.सी, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका नेता, कार्यपालिका सदस्य, कर्मचारी, नगर शिक्षा समिति तथा परामर्श समितिका पदाधिकारी, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, खेल प्रशिक्षक, रेफ्री, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण श्री सरस्वती माध्यमिक विद्यालयले गरेको हो।
प्रतियोगितामा नगरभित्रका १३ वटा माध्यमिक विद्यालयका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (छात्र/छात्रा) तथा मार्सल आर्ट अन्तर्गत कराते र तेक्वान्दो खेलहरू सञ्चालन हुनेछन्।
यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्