सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले जेठ महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विवरण अनुसार जेठ महिनामा जिल्लाभर १० जनाले गरे आत्महत्या गरेको जनाएको छ। यसैगरी ४० वटा मुद्दा दर्ता भएका छन् भने विभिन्न अपराधमा संलग्न २७ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये आर्थिक अपराधका १६, अन्य १७, सामाजिक अपराधका २, महिला तथा बालबालिका सम्बन्धी १ तथा ज्यान सम्बन्धी ४ मुद्दा रहेका छन् । पक्राउ परेकामध्ये बैंकिङ कसुरका ११, अभद्र व्यवहारका ७, लागूऔषधका ४, ज्यान सम्बन्धी कसुरका २, बहुविवाहका २ र ज्यान मार्ने उद्योगका १ जना रहेका छन् ।
जेठ महिनामा १२ वटा मुद्दा फर्छ्योट गरिएको प्रहरीले जनाएको छ । फरार रहेका १५ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट १६ वर्ष ४ महिना २२ दिन कैद तथा ८५ हजार १ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।
सवारी दुर्घटनातर्फ जिल्लामा ११ वटा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सवारी नियम उल्लंघन गर्ने २७६ वटा सवारी साधनमाथि कारबाही गरी २ लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ
।
लागूऔषध नियन्त्रणतर्फ ३३९ दशमलव ३५० ग्राम चरेस र ४४० मिलिग्राम ब्राउन सुगर (हेरोइन) बरामद गरिएको छ । लागूऔषध सम्बन्धी मुद्दामा ३ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।
आत्महत्याका घटनामा जेठ महिनाभर १० जनाले आत्महत्या गरेका छन् । हराएका ११ जनामध्ये सबैलाई फेला पारिएको प्रहरीले जनाएको छ । घरेलु हिंसासम्बन्धी ५ वटा उजुरी परेकामा सबै उजुरी मिलापत्रमार्फत टुंग्याइएको छ ।
स्थानीय तहगत रूपमा सबैभन्दा बढी घटना शारदा नगरपालिका मा २१ वटा र सबैभन्दा कम कालिमाटी गाउँपालिका मा १ वटा घटना दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार अपराध न्यूनीकरणका लागि नियमित गस्ती, निगरानी, सचेतनामूलक कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । जेठ महिनाभर विभिन्न विषयमा ८० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३ हजार ३ सय ७६ जनालाई सहभागी गराइएको प्रहरीले जनाएको छ ।
