हामी परिक्षण प्रसारणमा छौ

कोरोना जित्नका लागि रंग पत्रकारको भूमिका महत्वपूर्ण : पोखरेल

चलचित्र पत्रकारीता दिवसमा दाङ शाखाको भर्चुअल अन्तरक्रिया



७ जेठ । दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरलले कोरोना महामारीलाई जित्नका लागि रंग पत्रकारको भूमिका झनै महत्वपूर्ण हुने बताए । अध्यक्ष पोखरेलले कोरोनाको यो असहज घडिमा नागरिकमा निराशापनि देखिएकाले रंग पत्रकारिताका माध्यमबाट सकारात्मक कुरा दिनुपर्ने उनले बताए ।

चलचित्र पत्रकार संघको २२ औँ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार भर्चुअल रुपमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले कोरोना महामारीको बिचमा सुचना आदान–प्रदान गर्नु पत्रकारिताको धर्म भएकाले सुरक्षित र सावधानीपूर्वक काम गर्न उहाँले आग्रह गरेका छन् ।

जुनसुकै बिपतको समयमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेकाले राज्यले पनि पत्रकारका लागि विषेश भूमिका खेल्नुपर्ने भन्दै उनले भने, ‘पेशागत सुरक्षाका लागि हामी श्रमजीवीकै पक्षमा रहेर काम गरीरहेका छौं । कोरोनाको विपदका घडिमा नागरिकलाई निराश भन्दा पनि उत्साहजनक सन्देश प्रवाह गर्नु हामी पत्रकार तथा संचारमाध्यमको प्रमुख दायित्व भएकोले यसतर्फ लाग्न मेरो सबैमा अनुरोध छ । र यसका लागि राज्यले पनि सकेको सहयोग गर्नुपर्ने देखिन्छ ।’

उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौला, पूर्व अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार शान्ति प्रिय, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले कोरोना महामारीमा रंग पत्रकारितालाई अझ सशक्त बनाउन सकेमा पछिल्लो समय नागरिकमा देखिएको निराशालाई केहि कम गर्न सकिने भन्दै त्यसतर्फ पनि रंग पत्रकारले सोच्ने समय आएको बताए ।

संघले आफ्नो वार्षिकोत्सबकै दिन नेपाल पत्रकार महासंघ दाङ शाखाले संचालन गरेको आइसोलेसन व्यवस्थापन तथा संचालन र पत्रकार सहायता कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै, पत्रकार देविराम कुसारीको अगुवाईमा कोरोनाबाट मृत्यु भएकालाई दाहसंस्कार लागि आवश्यक काठ खरिद तथा घाट व्यवस्थापन गर्न संचालित ‘काठ बैंक’ अभियानलाई ४ हजार ४ सय ४४ रुपैयाँ आर्थिक सहयोगको प्रतिबद्धता जनाएको संघका दाङ शाखा अध्यक्ष शिव पुनले जानकारी दिए ।

शाखा अध्यक्ष शिब पुनको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी,निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपाने,चलचित्र पत्रकार संघका चितवन अध्यक्ष रबि अधिकारी,कास्की शाखा अध्यक्ष अरुण गिरी,पत्रकार बसन्त आचार्य लगाएतले दाङ शाखाले गरेका कामको चर्चासँगै आगामी दिनको लागि शुभकामना दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण शाखा सचिव पूर्ण केसी (मुस्कान)ले गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार, ,  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्