हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको चौधौँ बैठक शुक्रबार अवरुद्ध गरेको छ ।

एमालेका माधव नेपाल पक्षका प्रदेश सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर मन्त्री बनेको भन्दै संसदीय दलका राजीनामा माग गर्दै एमालेले केहिदिन अघिदेखी संसद् अवरुद्ध पार्दै आएको छ ।

शुक्रबारको संसद् बैठक सुरु हुनासाथ एमालेका सांसदहरू उठेर बिरोध गर्दै संसद बैठक अबरुद्ध गरेका छन् । शुक्रबारको संसद बैठकमा बोल्दै एमालेका सांसद दानसिंह परियारले सरकारमा सामेल भएका आफ्ना मन्त्रीहरूले राजीनामा नदिदासम्म संसद सुचारु हुन नसक्ने जनाएका थिए ।

कर्णाली प्रदेश सरकारमा सामेल आफ्ना मन्त्रीहरूलाई हटाउन माग गर्दै एमाले सांसद परियारले भने, ‘उहाँ एमाले भएको जिकिर गर्नुहुन्छ । अदालतमा आफैँ जानुहुन्छ । तर, नेकपा एमाले यो सरकारमा सामेल भएको छैन ।’

सभामुख राजबहादुर शाहीले लामो समयदेखि छलफल रोकिएको भन्दै बजेटमाथि छलफल गर्न आग्रह गर्दा पनि एमाले सांसदले संसद अबरुद्ध जारी राखेपछि सभामुखले संसदको अर्को बैठक असार २४ दिउँसो २ बजेका लागि बोलाएका छन् । असार १ मा कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट संसद्मा पेश गरे पनि संसद् अवरुद्ध भएकै कारण बजेटमाथिको छलफल सुरु हुनसकेको छैन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार, ,  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्