हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान जिल्लाबाट आर्थिक बर्ष २०७७/०७८ करिब डेढ अर्व रकम फिर्ता भएको छ । यति रकम फ्रिज गएको मुख्य कारण कोरोना महामारी भएको सम्बन्धित निकायका प्रमुखले जनाएका छन् । संघ तथा प्रदेशबाट विनियोजित बजेट कोरोनाका कारण काम गर्न नसकिएकोप्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

बागचौर नगरको मात्रै साढे ५ करोड फ्रिज

यता जिल्लाको बागचौर नगरपालिका बाट करिव साढे ५ करोड बजेट फिर्ता गएको छ । नगरमा ५,५६,८१,२३९ बराबरको रकम फ्रिज भएको नगरपालिका स्रोतले बताएको छ । नगरमा यति धेरै बजेट किन फिर्ता भयो ? भन्ने सल्यानन्युजको प्रश्नमा त्यहाँका सहायक लेखापाल वसन्त लामिछानेले शिक्षकका लागि भनेर आएको बजेट बचेको,बिद्यालय खाजा कार्यक्रमका लागि आएको बजेट कोरोना महामारीका कारण विद्यालय बन्द भएकोले रकम बचेको, स्वास्थ्य क्षेत्रमा छुट्याईएको अनुमानित रकम पनि बचेर फिर्ता भएको जस्ता कारण भएको बताएका छन् । उनले भने–‘गत आर्थिक वर्षमा आधा जति योजनाहरु टेन्डर मार्फत सम्पन्न गराईएकोमा त्यसबाट पनि रकम बचेको पाईयो ।’

नगरपालिकाको ध्यानाकर्षण

बजेट फिर्ता भएको लेखिएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बागचौर नगरपालिकाले बताएको छ । नगरपालिकाका एक अधिकारीले भने -‘हामीले गरेका राम्रा कामहरु मिडियामा ल्याउनु त कता छ कता, गरेका कामहरुलाई समेत मोडेर समाचार बनाईएको रहेछ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनका अनुसार जिल्लाको एक अनलाईन र एक पत्रिकाले ’ बागचौर नगरपालिकामा ६ करोड ३५ लाख रकम फ्रिज’ भनेर झुठो समाचार लेखेको पाईएको बताएका छन् । उनले थपे-‘झुठो समाचार लेखेर नगरपालिकाको बदनाम गर्न खोजिएको जस्तो देखियो ।’

त्यस्तै,गत आर्थिक वर्षमा मात्रै सल्यान जिल्लाबाट झण्डै डेढ अर्ब रकम फ्रिज भै जिल्लाबाट फिर्ता भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार, ,  ३ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्