हामी परिक्षण प्रसारणमा छौ



३१ भदौ ,सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले यसै शैक्षिकसन्त्र देखि स्थानिय पाठ्यपुस्तक ‘हाम्रो त्रिवेणी’ पढाउने भएको छ । गाउँपालिका भित्रका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल र स्थानीय पहिचानलाई समेटेर कक्षा १ देखि ५ सम्मको लागि स्थानीय पाठ्यपुस्तक तयार गरिएको हो ।

यसअघि कक्षा १ देखि ३ सम्मको लागि स्थानीय पाठ्यक्रम निर्माण गरी पढाईरहेको गाउँपालिकाले यसै शैक्षिकसत्रबाट कक्षा १ देखि ५ सम्मको लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेकोले त्यसैअनुरुप गाउँपालिका भित्रका सबै विद्यालयमा अब नयाँ पाठ्यपुस्तक पढाईहुने गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

अध्यक्ष डाँगीका अनुसार गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यपुस्तकमा गाउँपालिका भित्रका प्रमुख पर्यटकीय स्थल, मेला पर्व, जात्रा, गाउँपालिकाको भौगोलिक अवस्था, वडा कार्यालय, ऐतिहासिक स्थलबारे जानकारी, कृषि तथा त्यसको सम्भावना लगायतका विषयलाई प्राथमिकता दिएर पाठ्यपुस्तक निर्माण गरिएको छ । ‘स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन स्थानीय पाठ्यक्रम निमार्ण गरिएको हो ।’ डाँगीले भन्नुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश आचार्यका अनुसार गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यपुस्तक १०० पूर्णाङ्कको रहेको छ । शिक्षा शाखा प्रमुख आचार्यले स्थानीय पाठ्यपुस्तक गाउँपालिका भित्रका सबै विद्यालयका करिब १८ सय विद्यार्थीले पढ्न पाउनेछन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै आफ्नो गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी सञ्चालनमा ल्याएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । तस्वीर – सरिता चलाउने

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार, ,  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्