हामी परिक्षण प्रसारणमा छौ

मुगुमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो, सनाखतको तयारी [अपडेट ]

कर्णालीका मुख्यमन्त्री शाहीद्धारा शोक वक्तव्य जारी



२६ असोज, सल्यान । नेपालगंजबाट सुर्खेत हुँदै मुगुतर्फ गइरहेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या मंगलबार रातीसम्म ३२ पुगेको छ ।

प्रहरीका अनुसार नेपालगंजबाट सुर्खेत हुँदै मुगुका लागि हिडेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो अन्दाजी पौने २ बजेतिर दुर्घटनामा परेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले बसमा सवार २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा बाटोमा र अन्य ४ जनाको थप उपचारका लागि नेपालगञ्ज लगेको अबस्थामा मृत्यु भएको जानकारी दिनुभयो ।

घटनामा परी मृत्युहुनेमा धेरैजसो स्थानीय रहेको छायाँनाथ रारा नगरपालिका प्रमुख हरी जंङ्ग शाहीले सल्यानन्युजलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ बस दुर्घटनामा परी २४ जनाको घटनास्थलमै मृत्यु भयो । हामीले थप उपचारको लागि अस्पताल लानैलाग्दा अरू थप चार जनाको एयरपोर्ट नपुग्दै मृत्यु भएको हो । १६ जना घाइतेलाई हामीले नेपालगञ्ज र कोहलपुर पठाए पनि बाँकेमा थप चार जनाको उपचारको क्रममा अहिलेसम्म चार जनाको मृत्यु भएको जानकारी आएको छ ।’

नगरप्रमुख शाहीका अनुसार मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । हाल बाँकेमा १२ जनाको उपचार भइरहेको र घाइतेसबै खतरामुक्त रहेको अबस्था छ ।

यता प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले अगाडीको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने आफुलाई प्रारम्भीक जानकारी आएको जानकारी दिनुभयो । बस दुर्घटनालगत्तै मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित नेपाली सेना,प्रहरी,स्थानीय जनप्रतिनिधि ,स्थानीयवासी उद्धारका लागि जुटेको छाँयानाथ रारा नगरपालिकाका प्रमुख हरी जंङ्ग शाहीले जानकारी दिनुभयो । तस्वीर श्रोत – कविराज कार्की

कर्णालीका मुख्यमन्त्री शाहीद्धारा शोक वक्तव्य जारी

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नंं. ७, पिनाझ्यारीखोलामा आज दिउसो भएको बस दुर्घटनका कारण भएको ठुलो मानवीय क्षतिप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूले गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको तर्फबाट प्रमुख स्वकीय सचिवले शोक वक्तव्य जारी गरी यस्तो जानकारी गराउनुभएको हो ।

शोक वक्तव्य

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नंं. ७, पिनाझ्यारीखोलामा आज दिउसो भएको बस दुर्घटनका कारण भएको ठुलो मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थल, उद्धार र उपचारका क्रममा समेत गरी अहिलेसम्म ३२ जनाको दुखद निधन भएको र १४ जना घाइते भएको घटनाले माननीय मुख्यमन्त्रीज्यू निकै स्तब्ध हुनुहुन्छ ।

उक्त दुर्घटनाका कारण निधन हुनुभएका सबैप्रति माननीय मुख्यमन्त्रीज्यूले भावपूर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । बडा दशैं तथा तिहार जस्ता ठुला चाडपर्वहरुको मुखैमा भएको कहालिलाग्दो दुर्घटनाबाट सम्बन्धित घरपरिवारमा पर्नगएको असैह्य पिडाप्रति माननीय मुख्यमन्त्रीज्यूले गहिरो सहानुभूतिसहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

माननीय मुख्यमन्त्रीज्यूले चाडपर्वको वेला सवारीसाधनमा हुने भीडभाड नियन्त्रण गर्ने, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्ने तथा ट्राफिक नियमको पालनालाई कडाई गर्ने लगायतका कार्य गरी दुर्घटना न्युनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई निर्देशन गर्नुभएको छ ।

दुर्घटनाको सूचना पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई माननीय मुख्यमन्त्रीज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ ।

२०७८ असोज २६ गते

आज्ञाले,
………………….
कृष्णप्रसाद आचार्य
माननीय मुख्यमन्त्रीज्युको प्रमुख स्वकीय सचिव
कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर, सुर्खेत

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार, ,  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्