हामी परिक्षण प्रसारणमा छौ

कर्णालीका ४२ स्थानीय तहमा एकसाथ आधारभूत अस्पतालको शिलान्यास

लेखपोखरामा १५ शैयाको अस्पतालको शिलान्यास



 छत्रेश्वरी । संघीय सरकारको योजनामा ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित कर्णाली प्रदेशभर आज एकसाथ ४२ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास भएको छ ।

 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रकाश ज्वालाले कर्णालीका दश जिल्लामा संघीय सरकारको योजनामा ५, १०, १५ शैयाका अस्पतालको शोमबार एकसाथ शिलान्यास गरिएको बताए । प्रदेशमा ५ शैयाको एक वटा, १० शैयाका नौ र १५ शैयाका ३२ वटा स्वास्थ्य चौकी एकसाथ शिलान्यास गरिएको कर्णाली प्रदेशका मन्त्री ज्वालाले जानकारी दिए ।

मन्त्री ज्वालका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७ र ७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास भएको जानकारी दिए ।

यसैगरी, जाजरकोट, हुम्लामा ४ र ४ वटा स्थानीय तहमा, रुकुमपश्चिम, डोल्पाका ३ र ३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २ र २ स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ । तर सल्यानका बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकाले केही प्रक्रियागत कुरा मिलाउन बाँकी रहेको भन्दै आज अस्पतालको शिलान्यास नगरेको जनाएका छन् ।

 

स्वास्थ्य सेवाको लागि अस्पताल : मन्त्री ज्वाला

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागी सरकारले आधारभूत अस्पतालको शिलान्यास गरेको बताए ।

सोमवार सल्यानको छत्रेश्वरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गर्दै उनले भने, ‘उपस्वास्थ्य चौकीलाई बृद्धि र बिकास गर्दै १५ शैयाको आधारभूत अस्पतालको रुपमा विकास गर्नथालेका छौँ, अब यसबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय बनाउन आबश्यक छ ’ उनले भने ‘ग्रामिणस्तरमा नै अस्पताल निर्माण हुदैँ छ, त्यसैले अब रोग पालेर बस्ने दिन आउदैँनन् ।’ उनले सामान्य खालका उपचारको लागी अब दाङ नेपालगन्ज जानुपर्ने बाध्यता हट्ने जनाए ।


सोही कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसीले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनको लागी स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर काम गरिरहेको बताए ।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता केसी, छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष प्रेम बहादुर खड्का, नेकपाका छत्रेश्वरी गाउँ पालिका इन्चार्ज हरी के.सी, नेपाली काँग्रेसका प्रतिनिधि शिवप्रसाद खत्री, प्राथामिक स्वास्थ्य केन्द्र ब्यबस्थापन समितीका उपाध्यक्ष गोबिन्द के.सी, पूर्वअध्यक्ष डिल्ली बहादुर वली, समाजसेबी खेमराज वली लगायतले तिनै तहका सरकारले गरेका राम्रा कामको सबैले स्वागत गर्नुपर्ने भन्दै अस्पताल चाँडै बनोस भनि शुभकामना दिएका थिए ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र ब्यबस्थापन समितीका अध्यक्ष लिलाधर घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशरी देबी भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज बिर बहादुर वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्