हामी परिक्षण प्रसारणमा छौ



सल्यान  ।  केपी शर्मा ओली समूह नेतृत्वको (नेकपा ) ले कालीमाटी गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । ओली समूहका केन्द्रीय सदस्य गुलावजंग शाहले देश विकासको गति दिन ताजा जनादेशमा जानुपर्ने बताए ।

शाहले पार्टी भित्रकै एक पक्षले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएकै कारण संसद भंग गर्नुपर्ने बाध्यकारी अबस्थाको सिर्जना भएको बताए । उनले भने,‘ पार्टी भित्रको एक पक्षले जहिल्यै जति कोशिस गर्दा पनि प्रधानमन्त्रीलाई काम गर्न नदिने र प्रधानमन्त्रीकै विपक्षमा अविस्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकैले संसद भंग गर्नुपरेको हो । ’ अब देश विकास गर्न र लोकतन्त्र बचाउन समेत ताजा जनादेशका लागि निर्बाचनमा जानुपर्ने कुरामा आफ्नो पार्टी दृढ रहेको भन्दै कार्यकर्तालाई निर्बाचनका लागि तयारी गर्न शाहले निर्देशन दिएका थिए ।

त्यस्तै कार्यक्रममा ओली समुहका सम्बद्ध नेकपाका केन्द्रीय सदस्य लोकबहादुर डाँगीले सोझा नागरिकहरुले नेताको लागि दुख मात्रै पाएको भन्दै अब सोच्नेबेला आएको बताए । उनले अब विस्तारै सच्चा देशभक्त र इमान्दार कार्यकर्ताहरु आफ्नो पार्टीमा आबद्ध हने बताए ।

सोमबार कालिमाटी गाउँपालिका वडा नम्बर‐ ३, को पुतलिबजारमा कार्यक्रम गरेको उक्त समुहले नेकपा कालिमाटी गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी जिल्ला कमिटी सदस्य केशर बुढालाइ प्रदान गरेको छ ।
नेकपा कालिमाटी गाउँकमिटिका सदस्य तथा वडा नम्बर‐३, का वडा अध्यक्ष वीर बहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुन, केन्द्रिय सदस्य लोक बहादुर डाँगी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्य तथा कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, जिल्ला कमिटी सदस्य तथा कालिमाटी गाउँपालिका उपाध्यक्ष सनशिलता ओली डिसीले केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारीक भएको दाबि गर्दै कार्यकर्तालाई नझुक्किन आग्रह गरेका थिए ।

यस्तै नेकपा प्रदेश परिषद सदस्य द्रोण केसी, राष्ट्रिय युवा संघ सल्यानका संयोजक रुपक बुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी संयोजक राम बहादुर केसी, नेकपा कालिमाटीका सदस्य तथा वडा न २ का वडा अध्यक्ष इन्द्र बहादुर ओली, गाउँकमिटी सदस्य मित्रलाल सुनार, युवा संघ कालिमाटी संयोजक दिलिप रावत, अनेरास्ववियु कालिमाटीका संयोजक नारायण केसी लगाएतले मन्तव्य राखेका थिए ।

नेकपा कालिमाटी वडा नम्बर‐४, का सचिव मिनायक रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेकपा जिल्ला कमिटी सदस्य केशर बुढाले गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार, ,  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्