हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानमा देखिएका स्वास्थ्य समास्या, चुनौती व्यवस्थापन तथा प्रभावकारी स्वास्थ्य सेवाका लागि कार्ययोजना निर्माण गरिएको छ । सदरमुकाम खलंगामा सञ्चालन भएको दुई दिने वार्षिक समिक्षा गोष्ठीले आर्थिक वर्ष २०८१।०८२ का लागि कार्ययोजना तयार गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । नसर्ने रोगको वृद्धि, विशेषगरी मानसिक स्वास्थ्य र अन्य दीर्घकालीन रोगहरू, क्षयरोगको प्रभावकारी उपचार, स्क्रब टाइफस र डेंगुको नियन्त्रणमा ध्यान केन्द्रित गरिएको छ ।

कार्ययोजनामा स्वास्थ्य संस्थाका कर्मचारीलाई तालिम दिनु, समुदायस्तरमा जनचेतना फैलाउनु, र परीक्षण किटहरूको पहुँच सुनिश्चित गर्नु जस्ता विषय समावेश गरिएको स्वास्थ्य सेवा कार्यालयका थलराज डिसीले जानकारी दिए । जिल्लाका १० वटै स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय, जिल्ला आयुर्वेदिक कार्यालय, स्वास्थ्य विमा कार्यक्रम, स्वास्थ्य सम्बन्धी साझेदार संस्थाहरुका प्रतिनिधीहरुले कार्ययोजना तयार गरेका हुन् ।

वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यक्रमका विभिन्न २० सुचकांकहरुमा उल्लेखनिय प्रगती हासिल गर्ने स्थानिय तहहरुलाइ सम्मान गरिएको थियो । जसमा पहिलो स्थान हासिल गर्ने कपुरकोट गाउँपालिका, दोश्रो स्थान हासिल गर्ने त्रिवेणी गाउँपालिका, तेश्रो स्थान हासिल गर्ने बागचौर नगरपालिका र उत्कृष्ट कर्मचारीको रुपमा जिल्ला अस्पतालमा कार्यरत सिनियर अस्पताल नर्सिंग निरिक्षक कोपिला रानालाई सम्मान गरिएको थियो । मुल्यांकन समितिका संयोजक तथा स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका जनस्वास्थ्य अधिकृत टिकाराम जैसीले सबै स्थानीय तहहरु उस्ता उस्तै हैसियतमा रहेको भन्दै स्वच्छ प्रतिष्पर्धाले सुदृढ स्वास्थ्य सेवामा मद्दत पुर्याउने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलले स्वास्थ्य सेवामा देखिएका चुनौतीहरूको समाधानका लागि सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर सामूहिक कार्ययोजना तयार गर्न समिक्षा गोष्ठीले सहयोग पुर्याएको बताए । यस्तै उपप्रमुख असबिर बुढाथोकीले सबैले विगतका कमजोरिहरुलाइ सच्याउदै संवेदनशिल रहेको स्वास्थ्य क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जिल्लामा देखिएका स्वास्थय चुनौतीहरूको समाधान, नयाँ स्वास्थ्य समस्या पहिचान गर्दै समुदायलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर अर्जुन बुढा मगरले सबै क्षेत्र र सबै पक्षहरुसंग साझेदारी गर्दै स्वास्थ्य क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता जनाए । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले सञ्चार माध्यमहरुले स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन, सफल कार्यक्रमहरूको प्रचार गर्न र चुनौतीपूर्ण पक्षहरूलाई उजागर गर्न निरन्तर प्रयासरत रहेको भन्दै संचारकर्मी र स्वास्थ्यकर्मी विचमा प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । सहभागिको तर्फबाट बोल्दै शारदा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले गोष्ठीबाट आगामी दिनमा अगाडी बढ्न मार्गदर्शन प्राप्त भएको जनाए । आ व २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा वार्षिक प्रगति विवरण सहितको प्रस्तुतीकरण गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार, ,  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्