हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको शारदा नगरपालिकाले सडक बाटोमा पशुपंक्षी छोड्न प्रतिवन्ध लगाएको छ । हाँस, कुखुरा, गाई भैसी, लगायतका पशुपंक्षी पछिल्लो समय सडकमा जथाभावी देखिएकोले दुर्घटनाको जोखिम बढेको भन्दै पालिकाले उक्त कार्यमा प्रतिवन्ध लगाएको नगरपालिकाले जनाएको छ ।

सार्वजनिक स्थलमा पशुपंक्षी नछोड्न  माइकिङ गरी जानकारी गराउँदा समेत सडकमा पशुपंक्षी सडक बाटोमा देखिएको भन्दै नगर प्रहरीले सल्यान श्रीनगरबाट आइतबार ११ वटा हाँस नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो १ बजेसम्म हाँस धनी नगरपालिकामा आइ तोकिएको जरिवाना तिरेर हाँस लैजान समेत आग्रह गरेको छ । यदि नियन्त्रणमा लिएका हाँस लिन कोही नआएको खण्डमा लिलाम प्रक्रिया अघि बढाइने शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनु भयो । नगरपालिकाले भदौ ३० गतेदेखि नियमित रुपमा सार्वजनिक स्थानमा पशुपंक्षी नछोड्न सूचना प्रशारण गर्दै आइरहेको उहाँको भनाई छ ।

शहर बजारका जुनसुकै सडकमा छाडा छोडिएका चौपायाहरु गाई, बाख्रा, कुखुरा, हाँस लगायत दुर्घटनाको कारण बन्न पुगेको छ । सडक दुर्घटनाबाट पशुपंक्षी मरे पशुपंक्षी धनीको बार्गेनिङ अझ डरलाग्दो रहदै आएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार, ,  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्