हामी परिक्षण प्रसारणमा छौ



२८ फागुन २०७७ । काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष तथा युवा नेता रमेश मल्लले पार्टी मूल नेतृत्वलाई १० बुँदे सुझाव दिदै माओवादी केन्द्रको नाम नछाड्न आग्रह गरेका छन् ।
तत्काल पार्टीको नाम परिवर्तन गर्ने भन्दा पनि जिम्मेवारी बिहिन बनाएका आफ्नै कार्यकर्तालाई उचित जिम्मा दिएर पार्टी चलायमान बनाउन उनले सुझाब दिएका छन् ।
नेतृत्व समक्ष आफ्ना १० बुँदे सुझाब अघि सार्दै नेता मल्लले माओवादी केन्द्रको नाम बदल्न तर्फ ध्यान दिनुभन्दा अहिले जनता र पार्टी कार्यकर्तालाई ध्यान दिन नेतृत्वलाई आग्रह गरेका छन् ।

युवा नेता मल्लले पार्टी नेतृत्वलाई दिए १० सुझाब !

१. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अहिले नै नाम बदल्ने हतारो नगरौं। नेकपा तथा माओवादी आन्दोलनका विविध धारासङ्ग सम्वाद गरि एकीकृत धार निर्माणको वातावरण बनाएर, अरुले पनि अपन्वत्व लिने गरि नयाँ नामको बारे छलफल गरौंला। अहिलेलाई नेकपा (माओवादी केन्द्र्र) जिन्दावाद भनौं। माक्र्सवाद– लेनिनवाद –माओवाद– जिन्दावाद, भनौं।

२. समाजवादउन्मुख जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएको नेकपाको एउटा धार हामी भएकोले यसलाई व्यवस्थित ब्याख्या गरि आगामी राजनीतिक कार्यक्रम बनाऔं ।

३. प्रतिगामी शक्तिलाई परास्त गरि वाम लोकतान्त्रिक शक्तिको सरकार निर्माणको पहल सार्थक बनाऔं।

४. पार्टीलाई क्रान्तिकारीकरणको दिशामा पुनर्निर्माण गर्न द्रब्यमोह र परिवारमोहबाट माथी उठि नयाँ संस्कार र संस्कृतिको पार्टी स्कुलको पुनर्गठन नेतृत्वबाटै गरौं।

५. पार्टी भित्र हुर्किएको जाति, क्षेत्र, गोत्र र एस म्यानको समुह (गुट) मनोविज्ञानलाई पार्टी मनोविज्ञानमा बदल्दै निर्णय गर्ने स्थानमा आफ्ना नहुने पनि सुरक्षित हुन्छन् वा पार्टी नै आफ्नो हो भन्ने सन्देश व्यवहारिक रूपमा प्रवाह गरौं। पार्टी क्याडरहरुलाई पटकपटक अपमानित हुने व्यवहार भुलेर पनि नगरौं।

६. पार्टीको पुरानो केन्द्रीय कार्यसमिति (माओवादी केन्द्रको सचिवालय) लाई केन्द्रीय नेतृत्वको आधार मानी सम्पुर्ण तहका समितिलाई आबस्यकता अनुसार पुनर्गठन गर्दै तल्लो तहसम्म कामकाजी र चुस्त कमिटी प्रणाली निर्माण गरौं।

७. सम्पुर्ण नेता कार्यकर्तालाई दोहोरो जिम्मेवारी वा जिम्मेवारीविहीनको अवस्थाबाट मुक्त गरौं।

८. सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धा र पुर्व जनमुक्ति सेनाका योद्धाहरुलाई कमिटी प्रणालीमा उचित स्थान दिने कुरालाई गम्भीरताका साथ मनन गरौं।

९. पार्टीलाई साचो अर्थमा किसान, मजदुर र श्रमिक वर्गको पार्टीमा रुपान्तरण गरौं।

१०. पार्टीका सबै तदर्थ कमिटीलाई निश्चित समयभित्र अधिवेशन र महाधिवेशनमार्फत कार्यसमितिमा बदलौ। जनतामा भर परौ, कार्यकर्तामा विश्वास गरौं १ पार्टी पुनर्निर्माण गर्न सम्भव छ, सकिन्छ। धन्यवाद !

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार, ,  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्