सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा सुविधायुक्त प्रशासनिक भवन निर्माण कार्य सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले मुलखोलामा भवनको शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा अध्यक्ष तिर्थराज दाहाल लगायत जनप्रतिनिधिहरूले विधिवत् पूजाआजा गर्दै योजनालाई शुभारम्भ गर्नुभएको हो।

भवन निर्माणका लागि कुल लागत ८६ लाख २७ हजार ८६५ रुपैयाँ भ्याटसहित अनुमान गरिएको छ । भवन निर्माणका लागि ठेक्का प्रक्रिया मार्फत बिसी निर्माण सेवा, छत्रेश्वरी–२ सल्यानसंग ५२ लाख १४ हजार रुपैयाँ भ्याटसहित सम्झौता भएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारको समेत ४० लाख रुपैयाँ अनुदान रहेको छ ।

गाउँपालिका अध्यक्ष बुढाथोकीले भवन निर्माण कार्य समयमै सम्पन्न गरी गुणस्तरमा ध्यान दिन जोड दिनुभएको छ । यस्तै उपाध्यक्ष खत्री, वडा अध्यक्ष दाहाल लगायतका जनप्रतिनिधिले निर्माण कार्य तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न विशेष निगरानी र अनुगमन रहने जनाएका छन् ।

दुई तले नयाँ प्रशासनिक भवनको निर्माणले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । भवनको चारैतिर घेराबारसहित निर्माण हुने गाउँपालिकाका सब–इन्जिनियर श्री गणेश डांगीले सल्यानन्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ । भवन निर्माण पछि स्थानीय प्रशासनलाई थप व्यवस्थित बनाउँदै नागरिकलाई छिटो र सहज रूपमा सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका सदस्य हरी केसी, कार्यपालिका सदस्य पवित्रा डांगी, वडा सदस्यहरू निम बहादुर बुढा, मान बहादुर बुढाथोकी, जयकली विक, छत्रेश्वरी–३ र ४ का पूर्व वडा अध्यक्षहरू क्रमशः राज बहादुर बुढाथोकी र नेव बहादुर खड्का तथा असिस्टेन्ट सब–इन्जिनियर प्रदीप चन्द, निर्माण व्यवसायी भरत कुमार बस्नेत, समाजसेवी, बुद्धिजीवी र स्थानीय नागरिकहरूको पनि उल्लेखनीय सहभागिता थियो । यस भवनको निर्माणले छत्रेश्वरी गाउँपालिकाको विकास यात्रालाई थप गति दिने विश्वास गरिएको छ ।