सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ ले बिहिबारदेखी नमूना एसइइ परिक्षा सुरु गरेको छ । आगामी चैत्र ८ गतेदेखि हुने एसइइ परीक्षालाई लक्षित गरी विद्यार्थीलाई सहज र आत्मविश्वासी बनाउन नमूना परीक्षा संचालन गरिएको वडा अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिनुभयो।
वडा भित्रका महेन्द्र मावि पाखापानीका २५ जना र त्रिभुवन जनता मावि चौरपानीका २५ जना गरी जम्मा ५० जना विद्यार्थी यस परीक्षामा सहभागी भएका छन् । विद्यार्थीहरूमा परीक्षाप्रति उत्साह देखिएको छ भने अभिभावकहरूले पनि यस्ता अभ्यास परीक्षाले वास्तविक परीक्षामा राम्रो नतिजा ल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
वडा अध्यक्ष बस्नेतका अनुसार यस प्रकारको नमूना परीक्षा गत बर्ष देखि सुरु गरिएको हो । विद्यार्थीको शैक्षिक सुधार र आत्मविश्वास बढाउन सहयोगी बनेपछी यस बर्ष पनि वडाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार नमुना परीक्षा संचालन गरिएको उनको भनाइ छ । बस्नेतले भन्नुभयो, “विद्यार्थीलाई परीक्षा प्रणालीमा अभ्यस्त गराउन र उनीहरूको सिकाइस्तर सुधार गर्नका लागि यस्ता अभ्यास परीक्षाहरू महत्त्वपूर्ण छन् । आगामी बर्षमा पनि यसलाई निरन्तरता दिइनेछ ।”
नमूना परीक्षामा प्रश्नपत्र तयार पार्ने, उत्तरपुस्तिका परीक्षण गर्ने र नतिजा प्रकाशन गर्ने प्रक्रियालाई वास्तविक परीक्षाको ढाँचामा सञ्चालन गरिएको बस्नेतको भनाइ छ । अबको एसइइ परिक्षामा विद्यार्थीलाई समय व्यवस्थापन, प्रश्न बुझ्ने क्षमता र उत्तर लेख्ने शैलीमा सुधार गर्ने शिक्षकहरुको भनाइ छ । वडा कार्यालयको यस्तो पहललाई विद्यार्थी, अभिभावक र समुदायले स्वागत गरेका छन् ।
Error generating audio.