सल्यान । सल्यानको शारदा क्याम्पस शंखमुलमा नयाँ सञ्चालक समिति चयन गरिएको छ । छत्रेश्वरी गाउँपालिका–६ स्थित शारदा क्याम्पस, शंखमुलको नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

आइतबार घोषणा गरिएको नयाँ समितिको अध्यक्षमा शंकर बुढाथोकी र सदस्यहरूमा डिल्ली बहादुर केसी, हिमाल योगी, चुर्ण बहादुर केसी, धन बहादुर परियार, खडगनाथ योगी र लक्ष्मी सुनार रहेका छन् । अध्यक्षसहित सात सदस्यीय समितिमा कार्यविधि अनुसार सदस्य–सचिव क्याम्पस प्रमुख रहनेछन भने अन्य सदस्यमा एक जना शिक्षक प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि र पदेन सदस्यको रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति रहने क्याम्पसले जनाएको छ ।

समिति घोषणा कार्यक्रमका प्रमुख अतिथी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षा क्षेत्रको विकास संगै गुणस्तरीय शिक्षा र क्याम्पसको पूर्वाधार विकासमा नयाँ समितिले योगदान पु¥याउने अपेक्षा व्यक्त गरे। यस्तै विशिष्ट अतिथी तथा नेपाली कांग्रेस सल्यानका सभापति एवं शारदा क्याम्पसका संस्थापक अध्यक्ष केश बहादुर विष्टले सबैको मिहेनतमा क्याम्पस स्थापना भएको भन्दै नयाँ नेतृत्वले श्रृजनशील तरिकाले क्याम्पसको विकासमा काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष राज बहादुर बुढाथोकी, नेपाली कांग्रेसको तर्फबाट मेघराज भण्डारी, नेकपा एमालेको तर्फबाट खडग शाही, माओवादी केन्द्रको तर्फबाट हिमाल योगी, क्याम्पस प्रमुख यज्ञ बहादुर चन्द, प्राध्यापक युवराज रेग्मी लगाएतले मन्तव्य राख्दै शिक्षा मानव विकासको आधार भएको भन्दै क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

Error generating audio.

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार, ,  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्