सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा पेश हुने विधान संशोधन प्रस्तावका विषयमा सल्यानमा सुझाव संकलन गरिएको छ ।
मंगलबार सदरमुकाम खलंगा स्थित एमाले पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले विभिन्न स्तरबाट आएका सुझावहरू संकलन गरी माथिल्लो तहमा पठाउने निर्णय गरेको जिल्ला कमिटी उपाध्यक्ष ओजबहादुर बुढाठोकीले जानकारी दिए ।
गत साउन २ र ३ गते सम्पन्न पोलिट्ब्युरो बैठकको निर्णयअनुसार विधान संशोधनका विषयमा प्रदेश, स्थानीय कमिटी र पार्टी सदस्यहरूबाट लिखित सुझाव संकलन गरी केन्द्रीय कमिटीमा पेस गर्ने प्रक्रिया अघि बढाइएको थियो ।
बैठकमा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पार्टी संगठनलाई थप मजबुत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा वडास्तरीय संगठनात्मक समीक्षासम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गरी छलफल गरिएको जिल्ला कमिटी सचिव पुष्पा कुमारी बोहराले जानकारी दिइन् ।
बैठकका प्रमुख अतिथि एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजङ शाहले संगठनलाई सुदृढ बनाउन सबै तहका कार्यकर्ताले जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । उनले नागरिकको पक्षमा निरन्तर काम गर्दै पार्टीका नीति–कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिए ।
जिल्ला कमिटी अध्यक्ष भिमबहादुर सेनले एमालेलाई नागरिकले दिएको विश्वास कायम राख्न जिम्मेवार ढंगले काम भइरहेको बताए । उनले वडास्तरदेखि केन्द्रसम्म संगठनलाई गतिशील बनाएर जनताको अपेक्षा पूरा गर्नुपर्ने आवश्यकता औंल्याए ।
जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकले जिल्लाभर पार्टीको जनसंगठनलाई सक्रिय बनाउने, नागरिकसँग प्रत्यक्ष सम्पर्क अभिवृद्धि गर्ने, जनप्रतिनिधिहरूलाई अझ जिम्मेवार बनाउने तथा पार्टी गतिविधिलाई व्यवस्थित ढंगले अघि बढाउने निर्णय गरेको एमाले सल्यानले जनाएको छ ।
Error generating audio.